लालबन्दी । ट्रकले ठक्कर दिँदा सर्लाहीको लालबन्दीमा एक विद्यार्थीको मृत्यु भएपछि मृतकका परिवारजन तथा स्थानीयवासीहरु विभिन्न माग राखी आन्दोलित भएका छन् ।
विद्यार्थीको मृत्यु पछि आक्रोशित बनेका स्थानीयवासीहरुले बजार क्षेत्रदेखि बिद्यालय क्षेत्रको सडकमा सवारी साधनको गति नियन्त्रण गर्नु पर्ने ,मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने ,दोषीलाई हदैसम्मको कारवाही गर्नु पर्ने सहितका माग गर्दै लालबन्दी नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । मंगलबार नपा कार्यालय घेराउ गरेका आन्दोलनकारीहरुले बजार क्षेत्रमा पनि तीव्र गतिमा गाडी कुदाउने गरेकोले सडक दुर्घटनामा बृद्धि हुंदै गएको भन्दै गति नियन्त्रणको लागि तत्काल व्यवस्थापन गर्नु पर्ने माग अघि सारेका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी नगरपालिका– ९ बस्तीपुरमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जना विद्यार्थीको भएको थियो । जिल्लाको चन्द्रनगर गाउंपालिका–१ रतनपुर घर भइ लालबन्दीमा कोठा भाडा लिइ जनज्योती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत विपद रायका छोरा १७ वर्षीय दीपेन्द्र कुमार यादवको टिउसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनलाई सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका विद्यार्थी दिपेन्द्रलाई तत्कालै उपचारका लागि हरिवनमा रहेको नमूना अस्पतालमा पु¥याइएको थियो र उनको उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका छन् ।
यता आफ्ना विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार एक दिनका लागि विदा दिएको थियो । शोक मनाउन विद्यालयमा विदा दिइएको जनाइएको छ ।


