अपडेट 
२०७८ पुष ८, बिहीबार ०७:५६

जनकपुरधामलाई पोखरीहरूका सहर भनेर चिनिन्छ । यदि यी पोखरीहरू सुरक्षित रहन सकेन भने जनकपुरधामको मौलिकता पनि घट्न जान्छ । मौलिकता जनकपुरको सम्पत्ति हो । यस्ता सम्पत्तिलाई जोगाउन सबैभन्दा ठूलो दायित्व स्थानीयबासीको हुन्छ । जनकपुरधाममा लगभग सयवटा जलाशयहरू छन् । यी जलाशयहरू मध्ये केहीका सुधार भएपनि बाँकी पोखरीहरूका अवस्था हेर्दा सबैको मन दुख्न थाल्छन । यस्ता दुर्दशाबाट उबार्न हामीले लाग्नै पर्ने हुन्छ अन्यथा आउने सन्ततिले हामीलाई नै सराप्ने छन् । रामसागर (रामसर) राममन्दिर भन्दा दक्षिण, गोपाल धर्मशाला तथा गिरिजा पथ भन्दा पश्चिम भैरवचौकदेखि हटिया जाने बाटो भन्दा उत्तर र महावीरचौक भन्दा पूर्वमा अवस्थित छ । यसको उत्तरवारी भीडमा अमरखानामाई÷बौद्धीमाईको मन्दिर छ । पूर्वारी डीलमा मिथिला नाट्यकला परिषदको नाट् यशाला छ । यस पोखरीको चारै डीललाई अतिक्रमण गरी घना बस्ती बनाएर बसेका छन् जसले गर्दा कुनै सडक वा छेउ/छाउबाट यसलाई हेर्न सकिँदैन । घर मात्र बनाएर बसेका छैनन् बरू आ–आफ्ना घरका सबै प्रकारका फोहर कुराहरू समेत यसै पोखरीमा फाल्ने गर्छन् ।

अहिले यस पोखरीको पानी मलमूत्र सरह भएको छ । यत्रो पवित्र पोखरीलाई यस्तो अवस्थामा राखेर हामी विकास तिर बढेका कुरा कसरी गर्न सक्छौ । यस लेखको मूल उदेश्य पनि यही हो कि स्थानीय मानिसहरूका साथै सम्बन्धित निकायहरूका ध्यान यतातिर आकर्षित होउन् र यसको समुचित क्षेत्रफल निकाली उचित सरसफाइ गरियोस् । यस पोखरीको धार्मिक महत्वतिर लाग्दा प्राचीन कालदेखि नै अति महत्वपूर्ण सम्पदाको रूपमा रहेको देखिन्छ । यसको महत्ताको वर्णन विष्णुमहापुराणको मूलअंश मिथिला महात्म्यमा समेत उल्लेख छ । राममन्दिरमा स्थापित राम लगायतका प्रतिमाहरूलाई यसै पोखरीको पानीबाट स्नान गराई पूजाअर्चना गर्ने परम्परा रहेको छ । राम मन्दिरलाई विश्वका हिन्दूहरू बडो पवित्रता साथ हेर्ने गर्छन तर यस्ता सम्पदालाई त्यस्तो फोहर पानीले धुन, स्नान गराउन, भोगराग लगाउन कतिको पबित्र हुन सक्छ विचारणीय पक्ष रहेको छ । यस लेखका लेखक जनकपुरधाममा रहेका पोखरी तलाउ, जलाशय, कुण्ड र कूप बारे बीच बीचमा लेखेर यसका वर्तमान अवस्थालाई उजागर गर्दै आएको छ । मिथिला महात्म्य अनुसार यस सरमा अग्रहन महिनामा स्नान गर्नाले शरीरमा रहेका सबै पापबाट उन्मुक्त हुन्छन् । मिथिलाको वर्णन विभिन्न पुराणहरुमा भेट्छन् । यदि मिथिलामा प्रवेश हुने वितिकै विभिन्न पापबाट उन्मुक्ती पाइन्छ भने यस्ता धार्मिक पोखरीमा स्नान गर्नाले कति धार्मिक फल प्राप्त हुन्छ, विचार गर्न सकिन्छ । रामसागर (रामसर) नाम रामसँग जोडिएको छ । विश्वमित्रले राम र लक्ष्मणलाई आफ्ना साथमा लिएर जनकपुरको धनुष यज्ञमा आएका बेला राममन्दिरमै बसेका थिए । उहाँहरूले स्नान, पूजापाठ, धोवाई र सफाई आदि कुरा यसै जलाशयका पानीबाट गरेका थिए भने जनविश्वास छ ।

गुरू विश्वामित्र, राम, लक्ष्मण यसै जलाशयमा स्नान तथा जलक्रिडा गर्ने गरेका थिए । यस्ता धार्मिक महत्व बोकेका पोखरीको अवस्था हेर्दा कसलाई दुःख लाग्दैन होला । त्यसैले यसको सफाइमा चाँडो भन्दा चाँडो ध्यान जानु नितान्त आवश्यक रहेको देखिन्छ । जनकपुरधाममा प्रत्येक पर्वमा पोखरीको प्रयोग गर्छन । पोखरीको पानीले घर–आँगनलाई शुद्धिकरण गरिन्छ । पूजापाठ लगायत अन्य धार्मिक काममा नजिकका पोखरीबाट पानी ल्याएर शुद्धिकरण गर्ने चलन छ । पूजामा खास गरी त्यसैको पानीलाई कलशमा भरेर ल्याइन्छ अनि मात्र भगवानको पूजा शुरू गरिन्छ । घरको शिलान्यास, घरबास, विवाह, ब्रतबन्धदेखि मृत्यु संस्कारसम्म त्यसैको जलबाट हामी पबित्र हुन्छौ र अरूलाई समेत पबित्र हुने सल्लाह दिन्छौं । त्यति मात्र होइन, त्यस्ता पोखरीहरू स्नान गर्दा धार्मिक लाभ पनि लिने र जिउ पनि स्वस्थ रहने हुनाले जनकपुरका पोखरीहरू निकै उपयोगी छन् । मानिसहरूका के विश्वास छ भन्ने यस्ता पोखरीमा नियमित स्नान गर्नाले चर्मरोग लाग्दैन । जस्ता सुकै भयंकर चर्मरोगहरू निको हुन जान्छ । त्यति मात्र कहाँ हो र ! अन्य भयानक सरूवा रोगहरू समेत ठीक हुन जान्छ । यसै विश्वासले गर्दा जनकपुरका पोखरीहरूमा पर्व–तिहार, पूजा–पाठ, उत्सव, मेला, परिक्रमा, छठ पर्व लगायत अन्य पर्वमा समेत स्नान गर्नेको घुइँचो कम रहेका हुँदैनन् । मानिस रैब, सोमवारी तथा एकादशी र पूर्णिमा जस्ता पर्वहरूमा स्नान गर्नेको घुइँचो कम हुँदैनन् । मानिसको खास गरी रविवारी, सोमवारी, एकादशी तथा पूर्णिमामा अझै बढी भीडभार हेर्न पाइन्छ । त्यति मात्र कहाँ हो र ? घरको कूल देवता (घर गोसाईलाई) घरमा स्थापना गर्दा जनकपुरका यी पोखरीको माटो बिना पूर्ण हुँदैन ।

अर्को तिर विश्वका जुनसुकै तीर्थस्थलको तीर्थाटनमा गएका मानिसहरू जनकपुरधाम आएर यी पोखरीहरू मध्ये कुनै एकमा जबसम्म स्नान गर्दैनन् तबसम्म उनका तीर्थाटन अपूरो रहन्छ भने जनविश्वास छ । त्यसैले होला, “सबै तीर्थ बार वार, जनकपुरको दर्शन एकैबार’ भने कुरा प्राचीन कालदेखि अहिलेसम्म निरन्तर रूपमा चल्दै आएको छ । यस्ता महत्वपूर्ण सम्पदालाई सफा सुग्घर राख्ने दायित्व अहिले स्थानीय सरकारको हातमा आएको छ । स्थानीय सरकारबाट निरन्तर रूपमा यस्ता काम भई रहेका भए तापनि यस धार्मिक महत्व बोकेको पोखरी रामसागरलाई सफाइ गराइ चारै तिरका डील कायम गरी सजाउने काम भइ दिएमा पर्यटकहरू एक दिन मात्र होइन हप्तौसम्म आनन्द लिन जनकपुरलाई रोञ्नेमा कुनै शंका छैन । अहिलेको युगमा पर्यटन व्यवसायको विकास बिना ठाउँ, समाज, समुदाय तथा मुलुककै विकास गर्न अप्ठयारो छ । पर्यटनको विकासमा जति जोड दिन्छौ त्यति नै संख्यामा पर्यटकलाई हामी आकर्षित गर्न सफल हुनेछौं । यसको प्राचीनम् प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूलाई प्रदर्शन गर्न सक्यौ भने जनकपुरधाम पर्यटनको क्षेत्रमा पहिलो गन्तव्य हुन बेर लाग्दैन । नेपालमा कुनै ठाउँमा एका दुका मंदिर÷कुटि÷पोखरी÷कूप÷कुण्ड भएमा पर्यटकलाई तानि रहेका उदाहरण थुप्रै छन् । यदि हामीले पनि यी सम्पदाहरूका प्रचार प्रसारमा लाग्यौ भने जनकपुरधामको विकासलाई कसैले पनि पछाडि पार्न सक्दैन । जनकपुरधामका एउटा पनि पोखरीलाई आधुनिक प्रविधि अनुसार सजाउन सकेका छैनौं । पोखरीहरूमा घाट निर्माण तथा जिर्णोद्धारले मात्र हुँदैन । पोखरीको चारै डील कायम गरी विभिन्न किसिमका पार्क, बगैंचा, रूख/विरूवाद्वारा सुसञ्जित भएको भए ठूल्ठूला देशका पर्यटकहरूलाई हामी तान्न सक्छौं ।

प्राचीन जनकपुर सफा, सुन्दर तथा हरिया भए पनि हालको जनकपुरलाई यस्ता कुराबाट परै राखेर सुधार गर्न खाज्यौ भने आकर्षक हुँदैन । अहिले जनकपुरधामको सडक संचालमा देखिएको सुधार, दुबै पेटीमा बृक्षारोपण, भूमिगत नालीको व्यवस्थालाई सराहनीय कामको रूपमा लिन सकिएपनि यसलाई शुरूआतको रूपमा त स्वीकार गर्न सकिएला तर अन्तिम होइन । प्राचीन जनकपुर वातावरणीय दृष्टिकोणले पनि सन्तुलित थियो । यसको सन्तुलनतामा यी विद्यमान जलाशायहरूका भूमिकालाई कम आँकन मिल्दैन प्राचीन जनकपुर मंदिर, कुटी, पोखरीहरूबाट सुसञ्जित थिए । अहिले ठीक उसको उल्टो चारै तिरबाट यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमाथि निरन्तर अतिक्रमण जारी छ । सम्बन्धित निकायहरू मौनता साधेका छन् । केही पोखरी, तलाउ, सर, कूप तथा कुण्डलाई सरकारी अनुदानबाट सरसफाइ तथा निर्णोद्वारका कामहरू भएका छन् । यसलाई स्वागत योग्य कामको रूपमा स्वीकार्नु पर्छ तर त्यतिले मात्र हुँदैन । सम्पूर्ण जलाशयहरूका संरक्षणमा ध्यान जानु पर्छ । यस लेखका लेखक जनसंङख्या तथा वातावरण शिक्षाको विद्यार्थी भएको हुनाले मानिस र यी सम्पदाहरूसँगको सम्बन्ध अतुलनीय छ । जनकपुरलाई धार्मिताको रंगमा देखाउन भगवा रंगले रंगने काम समेत शुरू भएको छ । यो योजना सफल भयो भने जनकपुरधामका सबै भवन, पर्खाल, चबुतरा, कुटी, मन्दिर, अफिस एउटै रंगमा देखिने छन् । यस्ता कामलाई पूर्ण गर्न केही समय त लाग्ला तर पूर्णता पक्कै पाउँछ । यसको लागि सबै भन्दा पहिलो जनकपुरवासीमा अठोरको अवाश्यकता छ । अहिले मानिसहरू आफूलाई जति सभ्य र सचेत भने पनि रामसागर (रामसर) जस्ता जलाशयलाई हेर्दा एउटा ठूलो प्रश्न खडा हुन्छ ।

फोहर गर्ने मानिस हामी नै हौं भने सफा गर्ने मानिस पनि हामीलाई नै बन्नु पर्ने हुन्छ । अहिले जनकपुरधामलाई केही सुधारिएको अवस्था पाएर आउने पर्यटकहरू पनि प्रशंसा गर्न थालेका छन् तर यसको निरन्तरताको कामना समेत गरेका छन् । ठाउँ ठाउँमा सफा सार्वजनकि शौचालयको व्यवस्था नितान्त आवश्यक छ । गाडीहरूको जथाभावी पार्किङ्गलाई पनि व्यवस्थित गर्नु पर्ने देखिन्छ । गाडीको चाप हेर्दा तीब्र गतिमा बृद्धि भइरहेको छ । जनकपुरधाम एउटा यस्तो तीर्थस्थल हो जहाँ विश्वकै पर्यटकहरूका आँखाले नियाली नियाली हेरिराखेका छन् । जनकपुरलाई एउटा राष्ट्रभित्र राख्न सकिँदैन । जनकपुरधाम मात्र एउटा यस्तो ठाउँ हो जसलाई ऋषि, संत, महन्थहरूले निर्माण गरेका छन् । अहिले पनि जनकपुरमा सयभन्दा बढी कुटीहरू, पचासभन्दा बढी मंदिरहरू तथा १०० जति जलाशयहरू रहेका छन् । प्राचीन कालमा यसै सम्पदाको संरक्षणलाई हेरर सबैले जनकपुरलाई प्रशंसा गर्दथे । यसलाई एउटा पुण्यभूमिको साथै ज्ञानभूमिको रूपमा पुज्थे । अहिले पनि त्यस्ता सम्पदाहरूलाई अक्षुण्ण राख्नु पर्नेमा कही हामी चुक्दै छौं कि ? अन्तमा जनकपुरमा जे जति सम्पदाहरू छन् सबैका सम्बन्ध रामजानकीसँग जोडिएका छन् । रामसागर (रामसर) को सम्बन्ध सोझो रूपमा रामसँग जोडिएको हुनाले प्राचीनकालमा यसको महत्ता निकै उच्च थियो । यस महत्तालाई जोगाउन जनकपुरबासीको ध्यान रामसागर जस्ता जलाशयतिर जानु नितान्त आवश्यक देखिन्छ । राम जनकपुरको ज्वाई भए पनि जनकपुरले वहाँलाई दिएको सम्मानलाई हेरेर अहिले पनि पुण्य भूमिको रूपमा लिने गरिन्छ । यहाँको माटोलाई पुज्न आउँछन् र यस्ता धार्मिक महत्व बोकेका जलाशयहरूबाट पानी लिएर फर्कन्छन । खासगरी रामसागर (रामसर) को जल अति पबित्र मध्येका एउटा हो । त्यसैले यसलाई जोगाउने काममा हामी सबै लागौं ।

इति श्री ।

लेखक अनुसन्धानकर्ता तथा संस्कृति एक्टीभिष्ट हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News