२०७८ पुष ९, शुक्रबार ०८:१५

जनकपुरधाम । लुकेर बसेका कुष्ठरोगीहरुलाई छिटो भन्दा छिटो उपचारमा ल्याउनु पर्ने आवश्यकतामा जोड दिइएको छ ।

विहीबार जनकपुरधाममा आयोजित खोज परियोजनाको सरोकरवालाहरुसंगको परिचयात्मक कार्यक्रमका वक्ताहरुले सामाजिक विभेदको भयका कारण अझै पनि थुप्रै कुष्ठरोगीहरु लुकेर बसेकोले यसको निर्मूलीकरणका लागि कुष्ठरोगीहरुलाई खोजी खोजी उपचार गर्नु पर्ने अहिलेको आवश्यकतामा जोड दिए । खोजका कार्यक्रम व्यवस्थापक डा.जेमिस आचार्यले धनुषाको विदेह नगरपालिका तथा औरही गाउंपालिकामा पायलट प्रोजेक्टको रुपमा खोजले कुष्ठरोगीहरुलाई खोजेर उपचार गर्ने मुख्य उद्देश्य लिइएको जानकारी दिइन् । अझै पनि समाजमा थुपै्र कुष्ठरोगीहरु रहेको थुपै्रमा सर्ने प्रक्रिया जारी रहेको बताउंदै उनले सामाजिक विभेदका कारण रोगीहरु खुलेर आउन नसकेकोले परियोजना अन्तर्गत घरधुरीमै पुगेर रोगी खोज्ने र उपचार गर्नु पर्ने आवश्यकता अनुसार काम गर्ने योजना रहेको बताइन् । एक जनामा रोग छ भने घरपरिवार र सामाजिक गरी ५० जना सम्ममा कुष्ठरोगको किटाणु फैलिन सक्ने सम्भावनाबारे चर्चा गर्दै उनले भनिन,‘थुप्रै लुकेको केस खोज्न बाँकी छ । अझै पनि विभेद कायमै छ ,जनचेतनाको लागि सचेतना आवश्यक छ ।’ कार्यक्रममा स्वास्थ्य निर्देशनालय सपहीका प्रमुख डा.विजय झाले लेप्री भन्ने अदृश्य जीवाणु र मानव सभ्यता बीचको लामो समयदेखिको यो लडाईलाई अन्तिम रुप दिन घर–घरमा पुगेर कुष्ठरोगीहरुको खोजी गरी उपचार गर्नु पर्ने आवश्यकता रहेको बताए ।

उनले नेपाल सरकारले हजारौ वर्ष पुरानो यस रोगलाई सन् २००० निर्मूल गरिसक्ने कुरो गर्दै आए पनि अहिले २०२१ मा आउंदा पनि कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुनु दुर्भाग्यपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा आनन्दवन अस्पतालका निर्देशक डा.महेश साहले चार हजार वर्ष पुरानो रोग कुष्ठरोगीहरु अपहेलनाको भयको कारण उपचारबाट वञ्चित हुनु पर्ने अवस्थाको अन्त्यको लागि खोजले काम गर्ने विश्वास व्यक्त गरे । मिशनका राष्ट्रिय निर्देशक डा.शोभाकर कँडेलले खोजले दुई पालिकाबाट योजना प्रारम्भ गरे पनि घरघरमा पुगेर रोगी खोज्ने अभियानमा सरोकारवालाहरुले सहयोग गर्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा डा.कृष्णा पौडेल,यमनाथ योगी,डा.रविन्द्र वाँस्कोटा,वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायक,औरही गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन यादव,औरही गापाका मेयर ब्रह्मदेव यादव,विदेह नपाका प्रतिनिधि लगायतका सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News