राजविराज । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला सहित सम्पूर्ण जनतालाई सुरक्षा र न्याय प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुरधाम सम्पर्क कार्यालय राजविराजमा महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृहको सोमबार उदघाटन गर्दै उनले सो कुरा बताए । महिलामाथि हुने हिंसा तथा अपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै सहजीकरण गर्दा सहज हुने र न्यायको सही र असल कार्य सम्पादन हुने विश्वास उनले व्यक्त गर्दै भने,‘महिलामैत्री वातावरण सृजना तर्फ नेपाल प्रहरी अग्रसर भएको छ।’ महानिरीक्षक थापाले प्रहरी संगठनमा महिला कर्मचारीको संख्या बढाउनु पर्नेमा जोड दिँदै उनले थपे, “संविधानको मूल मर्म अनुसार ३३ प्रतिशत महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता दिइएको छ ।” आफूहरुले जागिर सुरु गर्दा ३÷४ प्रतिशत मात्र महिलाको सहभागिता रहेकोमा अहिले ११ प्रतिशत पुगेको र भविष्यमा ५० प्रतिशतसम्म पु¥याउने लक्ष्यका साथ गृह कार्य भइरहेको उनले बताए । एमआईपीपी परियोजना अन्तर्गत राजविराजमा सम्पर्क कार्यालयमा युनोप्सको सहयोगमा २ सय क्षमता भएको महिला आवास गृह र ५० जना विद्यार्थी अटाउने क्षमता भएको ४ वटा कक्षा कोठाको निर्माण गरिएको छ ।
परियोजनाका प्रमुख कोमल कार्कीले १५ करोडको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतम, प्रदेश २ तालिम केन्द्र राजबिराजका प्रमुख केदार ढकाल, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउंपालिका अध्यक्ष सतिश कुमार सिंह, रूपनी गाउंपालिका अध्यक्ष हरेराम यादव, सप्तरी प्रहरी प्रमुख अभिनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतको सहभागिता रहेको थियो ।


