गरुडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीको तानाशाही प्रवृतिको कारण बाध्य भएर अलग पार्टी गठन गर्नु परेको बताएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाले सोमबार आयोजना गरेको चन्द्रपुर नगर स्तरीय कार्यकर्ता भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री खतिवडाले घरमूली ओली नै खराव भएका कारण आफूहरुले पार्टी फुटाउन बाध्य भएको उल्लेख गरे । उनले ओली दिनभरि चर्को कम्युनिष्ट र राती–राती भारतीय एजेण्ट ‘र’ को कामदार बनेको अरोप समेत लगाए । नेकपा एमाले नामको पार्टी माधव कुमार नेपालले बनाएको दाबी गर्दै ओलीले जालझेल गरेर महाधिवेशनमा चुनाव जितेको र उल्टै माधव नेपाललाई पाखा लगाउने काम गरेको धारणा उनले राखे । राष्ट्रपति विद्यादेवी भण्डारी ओलीको कार्यकर्ता जस्तो काम गरेका कारण समेत नेपालमा राष्ट्रपतिको गरिमा घटेको स्वास्थ्य मन्त्री खतिवडाको टिप्पणी थियो । ओली सांसद मारा भएको जिकिर गर्दे खतिवडाले आफूलाई राष्ट्रवादी बताउने ओलीले झापामा आफू चुनाव जित्नका लागि राप्रपासंग सहकार्य गर्न समेत नचुकेको प्रसंग उल्लेख गरे ।
स्वास्थ्य मन्त्री खतिवडाले ओलीले उखान टुक्का र तोता मैनाको कुरा गरेर पार्टी ध्वस्त पारेको आरोप लगाए ।


