अपडेट 
२०७८ पुष १४, बुधबार ०७:२४

अहिले प्रदेशको नामकरणको सन्दर्भ चलिरहेको छ । प्रदेश सभामा मुख्य गरी मधेसकै पक्षमा बहुमत देखिएको छ ।

अहिलेको राज्य प्रणालीमा बहुमतले शासन गर्ने हो र अल्पमतको कदर हुन्छ । यसलाई सामान्य लोकतान्त्रिक प्रक्रिया मान्ने गरिएको छ तर कतिपय सबालमा भने दुई तिहाईको आवश्यकता पर्दछ । यो विशिष्ट अवस्था हो । दुई तिहाई आवश्यक पर्ने विषय वा सन्दर्भहरु विशिष्ट महत्व राख्ने किसिमका हुन्छन् । प्रदेशको नामकरण पनि विशिष्ट कार्य हो । यसकारण प्रदेश सभामा बहुमत पुगेको भए पनि बहुमतको आधारमा होइन कि संविधानअनुसार दुई तिहाई मतकै आधारमा प्रदेशको नामकरण हुनु आवश्यक छ । विस्तारै छलफल र सहमति तथा सहकार्यले दुई तिहाई सदस्यको जुन नाममा सहमति होला, प्रदेशको नाम त्यही रहने कुरामा दुईमत छैन । त्यसलाई सबैले मान्नुपर्ने हुन्छ, स्वीकार गर्नुपर्ने हुन्छ । तर जहिलेसम्म नामकरण हुँदैन, तहिलेसम्म तर्क वितर्क, बहस तथा छलफल चलिरहन्छ । यो राम्रो हो पनि । विभिन्न माध्यमले यस प्रकारले सर्वसाधारण तथा बुद्धिजीवीहरुले आफ्नो अभिमत जाहेर गरिरहनु पर्दछ । प्रदेश नम्बर दुई भनेर तात्कालिक नामकरण हुँदाको समयमा नै मैले यस प्रदेशको नाम मधेस हुनुपर्ने आफ्नो धारणा राखेको थिएँ । प्रदेश सभाको गठन भइसकेपछि पनि जब नामकरणको सन्दर्भ आएको थियो तब मैले प्रदेशको नाम मधेस हुनुपर्ने र यो सर्वाधिक राम्रो हुने बताएको थिएँ । अहिले केही दलहरु यस विचारमा सहमत छन् । दलीय वैचारिकताभन्दा माथि उठेका केही प्रदेश सभा सदस्यहरुले पनि यस प्रदेशको नाम मधेस हुँदा राम्रो भनेर मानिरहेका छन्, आफ्नो निजी धारणा अभिव्यक्त गरिरहेका छन्, तर्क दिइरहेका छन् र मधेस नै उपयुक्त हुने कुरालाई स्वीकार गरिरहेका छन् । यद्यपि दलीय धारणाभन्दा बाहिर जान नसकिने पनि बताउनुलाई अस्वाभाविक मान्नु हुँदैन ।

दलीय मर्यादालाई मान्नु पर्दछ । लोकतान्त्रिक व्यवस्थाको सुन्दरता यही हो । लोकतान्त्रिक अभ्यासले प्रदेशको नामकरण हुने कुरालाई राम्रो मान्नु पर्दछ । देशका सात प्रदेशमध्ये पाँच प्रदेशको नामकरण यसै गरी दुई तिहाई बहुमतले भइसकेको छ । बाँकी रहेका दुई ओटा प्रदेशमध्ये प्रदेश दुईमा पनि नामकरणको सन्दर्भले फेरि चर्चा पाएको छ । यस प्रदेशको नामकरणको लागि तर्क दिनेहरुले अनेक आधार दिइरहेका छन् । मिथिला–भोजपुरा, मधेस, मध्यमधेस, सिमरौनगढ, तिरहुत, मिथिला आदि नाम हुनुपर्ने तर्क आइरहेका छन् । पहिले पनि यी र यस्ता अनेक तर्क नआएका होइनन् । यी नाममध्ये मिथिला–भोजपुरा नामको आधार मैथिली र भोजपुरी भाषा हो भनिएको छ भने कतिपयले मैथिली र भोजपुरी संस्कृति पनि हो भनेका छन् । यदि भाषाको आधार लिने हो भने दुई तिहाई मानिसले बोल्ने एउटै भाषा वा दुई भाषा यस प्रदेशमा पुगेको अवस्था रहेको देखिँदैन । प्रदेश सभामा दुई तिहाईले नामकरणमा सहमत हुनुपर्ने जुन अवधारणा रहेको छ, यसले त्यसको मर्मको प्रतिनिधित्व गर्न सकेको नैतिक आधार देखिँदैन । यदि मिथिला नामलाई लिने हो भने र यसको आधार ऐतिहासिक तथा सांस्कृतिक वा पौराणिक भन्नेहरुको तर्कलाई हेर्ने हो भने पनि यो त्यत्ति उचित देखिदैन किनभने मिथिला यदि पौराणिक भूमि अर्थात् रामायणकालीन समयको आधार मान्ने हो भने यसले यो पनि अप्रत्यक्ष रुपमा स्वीकार गरेको ठहर्छ कि यस भूगोलमा निमिका छोरा मिथीले राज्य स्थापना गरेको समयभन्दा पहिले मानव बस्ती थिएन । यस भूगोलमा निमि आइपुग्नुभन्दा धेरै पहिलेदेखि मानव वस्ती रहेको थियो । अझै धेरै कुरा खुल्न बाँकी छ तर मिथिला वा मैथिल भन्नेहरुले जुन समयको दृष्टान्त दिन्छन्, उक्त समयभन्दा धेरै पहिलेदेखि यस क्षेत्रमा मानव बसोबास थियो भन्ने कुरालाई अस्वीकार गरेको देखिन्छ वा नजरअन्दाज गरेको देखिन्छ । सिम्रौनगढ हुनुपर्ने तर्क राख्नेहरुले करिब साढे तीन सय वर्ष यस क्षेत्रमा विदेशीले आएर शासन गरेको कुरालाई अहिले फेरि स्थापित खोजेका छन् भन्ने आलोचना पनि सहनु परेको छ । सिम्रौनगढको ऐतिहासिकतालाई सम्मान गर्नुपर्छ । सिम्रौनगढमा राज्य स्थापित हुनुभन्दा पहिले पनि यस क्षेत्रमा राज्य थियो भन्ने कुरालाई स्वीकार गर्नुपर्छ । यसै गरी तिरहुत नामकरणको तर्क दिनेहरुले पनि तीरभुक्ति वा तिरभुक्तिको अवधारणालाई मानेको देखिन्छ । मिथिला क्षेत्रको परिचय पाउनुभन्दा पहिले यो क्षेत्र तीरभुक्तिको नामले परिचित थियो भन्ने आधारहरु पाइन्छन् ।

कतिपयले यसैलाई आधार मानिरहेका छन् । पछिल्लो समयमा नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई राज्यको जुन नाम दिए, त्यसको नाम पनि तिरहुत नै रहेको तर्क गर्दछन् । यो सही पनि हो, नान्यदेवले सिम्रौनगढमा राजधानी स्थापना गरी खडा गरेको राज्यको नाम तिरहुत त्यही अतिप्राचीन तिरभुक्तिकै आधारमा राखेका थिए । मध्यमधेस भन्नु चारैतिर वा कुनै दुईतिर मधेस रहेको र बीचमा रहेको मधेसको भूमि हो । मधेसवादका पक्षधरहरुले नेपालको मेचीदेखि महाकालीसम्म दक्षिणी समथर भूभाग मधेस भएको बताउने गरेका छन् जसलाई राज्यले पहिलेदेखि तराई भनेर चिनाएको थियो । चुरे पहाडको तलहटीको समथर भागलाई गंगाको मैदानी क्षेत्र पनि भन्ने गरिएको छ । यस क्षेत्रको नाम किन तराई हो वा किन मधेस हो वा किन तराई होइन वा किन मधेस होइन भन्ने विषयमा अनेक धारणा तथा विचार पाइन्छ । जब मधेस आन्दोलन भयो तब एकसाथ धेरैले मधेस भन्ने शब्दलाई स्वीकार गरेको अवस्थालाई यहाँ एकपटक स्मरण गर्नु जरुरी छ । यो भूगोलको सन्दर्भमा हो तर यस क्षेत्रका बासिन्दालाई जहिले पनि मधेसी भन्ने गरिएको थियो । यहीनेर यहाँको भूगोललाई तराई र यहाँको नागरिकलाई मधेसी भन्नुले मधेसी त्यो हुन जो मधेसमा बस्दछन् वा मधेसी बस्ने भूमि मधेस हो भन्ने तर्कले विस्तार पायो र यस क्षेत्रको भौगोलिक नाम तराईबाट अब विस्तारै मधेस सर्वस्वीकृत बन्दै गएको छ । यस प्रदेशको नाम मधेस हुनुपर्नेमा यही सर्वमान्य तथ्य रहेको छ कि यस क्षेत्रका बासिन्दाको सामूहिक र धेरै हदसम्म निर्विवाद पहिचान मधेसी हो । यसको अर्थ यो कदापि होइन कि अन्य प्रदेशमा मधेसी छैनन् । मधेसीलाई एउटा समुदाय नै भनिएको छ । संविधान र कानुनले पनि मधेसी भन्ने शब्दलाई स्वीकार गरिसकेको छ । यदि मध्यमधेस नाम राख्ने हो भने यस क्षेत्रका मानिसको पहिचान मध्यमधेसी हुन जाने देखिन्छ किनभने अहिले सामान्य अवधारणा के रहेको छ भने सम्बन्धित भूगोल वा प्रान्तको नामबाट बोलाउने गरिन्छ सम्बन्धित बासिन्दालाई । यसैले नेपालमा बस्ने नेपाली भएका हुन् र मधेसमा बस्ने मधेसी हुनुपर्छ ।

मधेसी त यस क्षेत्रका बासिन्दा पहिलेदेखि नै छन् तर बिना भूगोलको । अब भूगोल अर्थात् प्रदेशसहितको यही पहिचान स्थापित हुनुपर्दछ । नेपालको धरातलीय स्वरुपले जसरी तीन प्रदेश रहेको छ, त्यसको तराई प्रदेशको सबैतिरका बासिन्दाले आफूलाई मधेसी स्वीकार गरिएको पाइन्न पनि । मधेसी होइनौँ, अरु नै हौँ भन्ने आन्दोलन पनि विगतमा भएको छ । यस प्रदेशका अधिकांश बासिन्दाले स्वीकार गर्ने मधेसी समुदायका अन्य प्रदेशका बासिन्दाको पनि यस प्रदेशको नाम मधेस रह्यो भने सम्मान नै हुनेछ । यदि अन्य नाम हुने हो भने पहिलेदेखि मानिएको मधेसी पहिचान हराएर जाने डर पनि हुन्छ । यसर्थ प्रदेश सभामा तीन दलको सहमति भइसकेको बताइएको नाम मधेस हो, यस प्रदेशको नाम मधेस हुनेमा अब धेरैले विश्वास गरिरहेका छन् । यसमा सहमति हुनु सबैको लागि सम्मानको विषय मानिनु पर्छ । फाट्फ्ट्ट रुपमा प्रदेशको नाम वीरगंज र राजधानी जनकपुर हुनुपर्ने वा प्रदेशको नाम जनकपुर र राजधानी वीरगंज हुनुपर्ने तर्क पनि आइरहेका छन् । यसै गरी जनक, जानकी आदि प्रदेशको नाम हुनुपर्ने तर्क पनि आएको छ । जानकी भनेर सामान्यतया सीतालाई बुझाउँछ तर जनकको अर्थ पिता हो । जनक भनेर जसलाई सर्वसाधारणले चिन्दथे वा चिन्दछन्, उनको नाम सीरध्वज हो । सीरध्वजका कुशध्वज नामका भाइ थिए । कुशध्वज सांकाश्याका जनक थिए । त्यत्तिबेला जनक भनेर राजालाई भनिन्थ्यो । यद्यपि जनक प्रदेश भनेर प्रदेशको नामकरण हुनुपर्छ भनेर तर्क दिनेको तात्पर्य उही सीरध्वजसित सम्बन्ध राखेर हो भन्ने कुरो सबैले बुझेका छन् ।

उही सीरध्वजकी पुत्रीको रुपमा जानकी वा सीतालाई भनिन्छ । यस प्रदेशको नामको लागि यसरी अनेक आधार दिएर र अनेक तर्क दिएर विद्वत्वर्गले प्रस्ताव गरिरहेका छन्, सबैलाई स्वागत गर्नुपर्छ । सबै तर्क आफ्नो ठाउँमा ठिक छन् । कुनै एक दृष्टिकोणले ठिक छ त कुनै अर्को दृष्टिकोणले उचित छ । तर नामकरण त कुनै एक नै हुन सक्छ । धेरैको भावना र पहिचानको प्रतिनिधित्व गर्ने मधेस नाम नै सर्वोपयुक्त हुने देखिन्छ । यस क्षेत्रका बासिन्दालाई कैयौँ शताब्दीदेखि अघोषित रुपमा पहिचान दिइएको थियो, त्यसको मूर्त रुप प्रदान गर्ने अवसर आफ्नै हातमा आएकोले यस नामलाई प्रदेश सभाले अनुमोदन गर्नुलाई सबैले आफ्नो सम्मान भएको मान्नु पर्दछ । पहिलेदेखि मधेसी भनिँदै आएको समुदायको सम्मानको लागि मधेस प्रदेश सर्वथा उचित नाम हो, सुहाउँदो र सुन्दर नाम हो ।

Comment


Related News

Latest News

Trending News