रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा संचालित माध्यमिक विद्यालयमा रिक्त रहेको शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावश्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न भएको छ ।
विद्यालयमा प्राविधिक तर्फ शिक्षक नभएकोले भई रहेको अध्ययन अध्यापनको समस्यालाई समाधान गर्ने उदेश्यले शिक्षक भर्नाको लागि विद्यालयले प्रक्रिया पुर्याएर विज्ञापन गर्दा नगरपालिकाका नगर प्रमुख रिना साहले अवरोध गर्दा उक्त समस्या उत्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल प्रसाद त्यागीले गौरमा पत्रकार सम्मेलन गरी विद्यालयमा कार्यकर्ता भर्ना गर्ने उद्देश्यले नगर प्रमुख रिना साहले बल प्रयोग गरी रहेको आरोप लगाएका छन् । प्रधानाध्यापक राम एकवाल राय यादवको अवकास पछि विद्यालयमा कार्यरत रहेका वरिष्ठ शिक्षक दिनेश प्रसाद यादवलाई नगरपालिका तथा जिल्ला शिक्षा समन्वय इकाई रौतहटले अनुमति दिदा यादवले प्रधानाध्यापकको जिम्मेवरी निर्वाह गर्दै आएका छन् । विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट शिक्षक भर्ना गर्ने गरी मंसिर १७ गतेमा निकालिएको सूचना प्रति नगरपालिकाका प्रमुखले रोक लगाएको अध्यक्ष यादवले बताए । शिक्षा नियमावली , नीति ,नियम अनुसार अनुमति लिएर विज्ञापन गरी सक्दा परीक्षा लिने समय नजदिक भएको बेला नगर प्रमुखले पत्र पठाएर शिक्षक नियुक्तिको प्रक्रिया नगर्न रोक्का गरेको निमित प्रधानाध्यापक दिनेश प्रसाद यादवले बताए । उनले नगरपालिकाको कार्य कानून विपरीत भएको दावी समेत गरे । शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दा शिक्षक भर्ना गर्न सकिने व्यवस्थाको बर्णन गर्दै शिक्षाको क्षेत्रमा राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले हस्तक्षेप गर्नु दुखद रहेको टिप्पणी गरे ।
विद्यालयले पहिलो पटक सामाजिक विषयका १ जना शिक्षक पदको लागि मंसिर १७ मा विज्ञापन गर्दा नगर प्रमुख रिना साहले मंसिर १९ मा पत्र पठाएर रोक्का गरेको प्रअ यादवले नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह संग सोध्दा राजनीतिक दवावमा आएर पत्र पठाईएको बताए । मौलापुर नगरपालिकाले मंसिर १५ मा रिक्त दरवन्दीमा नियमानुसार विज्ञापन गरी शिक्षक पदपूर्ति गर्न अनुमति प्रदान गरेको छ भने मंसिर १६ मा शिक्षा विकास तथा समन्वय इकाईले अनुमति प्रदान गरेको अवस्थामा विद्यालयले निकालेको विज्ञापन प्रति नगर प्रमुखको हस्तक्षेप राजनीतिक पूर्वाग्रह भएको पुष्टि भई रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र रायले बताए । विद्यालयमा आफ्नो पार्टीको कार्यकर्तालाई राख्न नगरपालिकाका मेयरले षडयन्त्र गरी रहेको स्थानीय जनता समाजवादी पार्टी नेपालका लखिन्द्र यादवले आरोप लगाएका छन् । आफ्नो आसेपासेलाई नियुक्ति गर्ने दाउमा मेयर तथा उपमेयर गौरी शंकर जैसवाल रहेको युवा नेता यादवको कथन रहेको छ । रौतहटमा शिक्षाको अवस्था खस्किदो क्रममा रहेको भए पनि राजनीतिक दलका नेताले यसलाई स्तरीय बनाउन कुनै चासो देखाएका छैनन् । विद्यालयलाई कार्यकर्ता भर्ति केन्द्र बनाउन खोज्ने नगर प्रमुख साहको विरुद्ध विद्यार्थी तथा अभिभावकहरुले आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।


