अपडेट 
२०७८ पुष १४, बुधबार १४:४२

अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थप ११ अर्ब ८५ करोड रुपैयाँ उपलब्ध गराएको छ । यसअघि अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि आर्थिक वर्ष २०७८/७९ बजेटमै १५ अर्ब रुपैयाँको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएको कारण सो रकमले नपुग्ने भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब रुपैयाँ माग गरेको थियो । त्यसमध्ये यसअघि नै एक अर्ब रुपैयाँ दिइसकेको थियो । कृषि मन्त्रालयले मल खरिदका लागि २७ अर्ब ७५ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट पाइसक्दा पनि किसानलाई मल अपुग हुने बताइएको छ । मन्त्रालयका अनुसार २७ अर्ब रुपैयाँले अहिलेको मूल्यको आधारमा तीन लाख ६० लाख मेट्रिक टन मल मात्र खरिद गर्न सकिन्छ ।

वर्षभरि पुग्नका लागि कम्तीमा पाँच लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । त्यसका लागि कृषि मन्त्रालयले थप रकम माग्ने तयारी गरेको छ । कृषि मन्त्रालयको चालु आर्थिक वर्षको कुल बजेट ४५ अर्ब ५ करोड रहेको छ । अर्थात् कृषि मन्त्रालयको कुल बजेटकै हाराहारीमा रासायनिक मल खरिदका लागि रकम चाहिएको छ । अझै पनि किसानले सहज रूपमा मल पाएका छैनन् । यसपाली अधिकांश किसानले डिएपी मल नपाएर बिना मलले गहुँ छरेका छन् । उनीहरुले त्यसरी नै हिउँदे बाली पनि लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News