अपडेट 
२०७८ पुष १५, बिहीबार ०५:५८

जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालयको पठन–पाठन अनिश्चितकालका लागि बन्द भएको छ ।

रामानन्दचोकमा रहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समय–समयमा शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापकालागि विभिन्न किसिमका बन्द, आन्दोलन तथा तोडफोडका क्रियाकलापहरु गर्दै आईरहेकोले असहज परिस्थिति उत्पन्न भएको भन्दै पठन–पाठन बन्द गरिएको क्याम्पसका कार्यवाहक प्रमुख विनोद कुमार कर्णले जानकारी दिए । विद्यार्थीहरुको गतिविधिबारे माथिल्लो निकायमा बारम्बार जानकारी गराउंदा पनि कुनै सुनुवाई नभएकाले नियमित रुपमा क्याम्पस सञ्चालन गर्न समस्या उत्पन्न भएकोले समस्या समाधान नभए सम्म शुक्रबारदेखि अनिश्चितकालकालागि क्याम्पसको अध्ययन अध्ययापनका सम्पूर्ण क्रियाकलापहरु स्थगित गरिएको उनले बताए । यसअघि विद्यार्थीहरुले कार्यवाहक प्रमुख कर्णलाई विगत दुई दिनदेखि क्याम्पस भित्रै थुनेर विरोध गर्दै आएका थिए । कर्णलाई बिएससी सिएसआईटी तेस्रो बर्षमा अध्ययनरत पांचौ सेमेष्टरका विद्यार्थीहरुले शैक्षिक भ्रमण वापत क्याम्पसले पैसा उपलब्ध नगराएको भन्दै क्याम्पस भित्र थुनेका थिए ।

विद्यार्थीहरुले शैक्षिक भ्रमण सहित सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्यूनिकेशन सर्भर र प्रोग्रामिंगका लागि क्याम्पससँग बजेट माग गरेका थिए । उनीहरुले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र त्यसको वापत नामांकन गराएकै बेला क्याम्पसले पैसा लिइसकेपनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको गुनासो छ । क्याम्पस प्रमुख कर्णले विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा.श्याम किशोर महतोसंग सहयोगको आग्रह गरेका थिए । महतोले सोमबार मेगा बैंकमा रहेको खाताबाट ९० हजार रुपैयाँको चेक दिएपनि सो खाता बन्द रहेको पाएपछि विद्यार्थीहरु आक्रोशित भइ आन्दोलनलाई कडा बनाएपछि क्याम्पस प्रशासनले पठन–पाठन अनिश्चितकालकालागि बन्द गरेको हो ।

Comment


Related News

Latest News

Trending News