२०७८ पुष १६, शुक्रबार ०६:२६

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति जुटाउन गठन गरिएको विशेष समितिले विहीबारदेखि काम थालनी गरेको छ ।

प्रदेश सभामुख सरोज कुमार यादवको संयोजकत्वमा गठन गरिएको विशेष समितिले विहीबार पहिलो बैठक सम्पन्न गरेको छ । बैठकमा कार्यविधि निर्माण गर्ने विषयमा छलफल भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । वैठकमा प्रदेशको नाम र राजधानीको विषयमा सहमति जुटाउन कार्यविधि बनाउने विषयमा छलफल भएको छ, उनले भने,‘ शुक्रबार बस्ने बैठकबाट कार्यविधि पास गरी दलीय सहमतिको प्रयास सुरु गरिनेछ ।’ समितिले प्रदेशको नाम र राजधानीको विषयमा दलहरुले राखेको प्रस्तावको अध्ययन, छलफल तथा दलहरु बीच अन्तरक्रिया गरी दलीय सहमतिको प्रयास गरिने जनाइएको छ । समितिमा प्रस्ताव नभएका प्रदेश नामकरणको विषयमा पनि छलफल हुने नेकपा एकीकृत समाजवादी (नेकपा एस)का संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले जानकारी दिए । बैठकमा दलहरुले गरेको फरक फरक प्रस्तावका साथ साथै सबै दलको मान्य हुने सम्भावित नाममा पनि छलफल हुने मन्त्री महतोले बताए । प्रदेशको नाममा ४ र राजधानीमा २ वटा प्रस्ताव प्रदेश सभामा दर्ता रहेको छ ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्रले मधेश प्रदेश र राजधानीमा जनकपुरधामको प्रस्ताव गरेको छ भने कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा, एमाले र नेकपा एकीकृत समाजवादीले जानकी र केही सांसदले मध्य मधेश प्रदेशको नाम फरक प्रस्ताव गरेको छ । मन्त्री महतोले दलहरुले प्रस्ताव गरेको उल्लेखित नामको साथ साथै जानकी मधेश, मिथिला मधेश, मध्य मधेश लगायतका नाममा पनि छलफल हुने बताए । यता राजधानीकालागि सबै दलले जनकपुरधामलाई नै तोक्नु पर्ने प्रस्ताव गरेपनि वीरगञ्जका केही सांसदहरुले वीरगञ्ज नै राजधानी हुनु पर्ने भन्दै सभामा प्रस्ताव दर्ता गराएको छ । समितिलाई काम थालेको १५ दिन भित्रमा प्रतिवेदन सभामा पेश गर्नुपर्ने समय तोकिएको छ । समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सासदहरुलाई सदस्यमा राखिएको छ । समितिमा प्रत्येक पार्टीबाट दुई जना सासद राखिएको छ भने जनता समाजवादी पार्टीबाट ३ जना सांसद समितिमा सदस्य रहेका छन् । समितिको सदस्यहरुमा कांग्रेस सांसद शिवचन्द्र चौधरी,उपेन्द्र कुशवाहा,जसपाका विन्देश्वर यादव ‘बिक्की’,संजय यादव र शैलेन्द्र कुमार यादव,माओवादीबाट जगत यादव र दिलिप साह, एमालेका शारदा थापा र किशोरी साह कमल, लोसपाका परमेश्वर साह र सुरिता साह रहेका छन् । त्यसैगरी सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो र सुन्दर बहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादी पार्टीबाट सावित्री देवी साह रहेका छन् ।

Comment


Related News

Latest News

Trending News