अपडेट 
२०७८ पुष १६, शुक्रबार ०६:३८

बैदिक , उपनिषद् र आधुनिक कालसम्म आध्यामिक केन्द्रका रूपमा आकर्षित गर्दै आइरहेको जनकपुरधामको अस्तित्व नदीमाथिको पाखो खस्के झैं ढल्दै गएको छ । जीवन दृष्टिमा जटिलता र रहस्यमयताको उपस्थिति अत्यन्तै भयावह छ । विनाशको गर्ततिर वा विकासको नव्य धुरीतिर बगेको छ भन्न गाह्रो परेको छ । दृष्टि अलमल्ल र दोधारको बाटोबाट गुज्रिरहेको छ ।अस्तित्व पूर्णता र अपूर्णताको बीचबाट गुज्रिरहेको छ । अस्तित्व स्वयं रुमल्लिएको छ– युग र जीवनका विसंगतिले, निराश छ –भावबोधको वैचित्र्यबोध भएर , कुण्ठित छ – स्थितिजन्य विकलताले एकदमै ग्रस्त र त्रस्त भएर । तर्क–वितर्कको भुमरी र राजनैतिक चपेटामा परी हाार्दिकताबाट टाढा पुगेको छ । नैराश्य , कुण्ठाका धमिला दृश्यले विकलता र विरोधिताको वर्चश्व छ । वासस्थान बेटुङ्गो छ ,ठेगाना, यात्रा र परिणाम अनिश्चित छ । यी अवस्थाले मेरो मैथिली भाषामा लेखिएको यो कविता पुनः सान्दर्भिक हुन पुगेको छ :

नहि सम्भयताक फूल फुलाएल नहि उन्नतिक झुला झुलल औरदा तोहर छौ जिनगी तँ केओ भोगैत जा रहल छौ नहि जनकके देखैत छियनि नहि सीताके देखैत छियनि सभ्यताक केन्द्रके बेचैत इतिहास होइत जा रहल छेँ रे जनकपुर , अपसोच ! तोँ हमर जिनगीसँ बहुत दूर होइत जा रहल छेँ ।……………

बिलखबन्द जिन्दगानी रहे पनि यहाँका मठ मन्दिर र तिनमा सुरक्षित मूर्ति ,गढ र इतिहासका अनेक उत्थान पतनका तथ्य लुकेका छन् । जानकार हरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो जतिखेर निनेबेहको उत्खनन्मा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असीरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारे । त्यसै उत्खनन् मा माटाका गोलचक्कीहरू पनि प्राप्त भयो । यी गोलचक्कीहरू ई.पू. १००० बर्षका रहेछन् । यसबाट प्राप्त सुचना अनुसार ई.पू. मा बेबिलोनियाहरूले “मर्दुक” भन्ने देवतालाई देवाधिदेव मान्ने गर्दथे । १७८२ ई.पू. देखि १६८६ ई.पू. सम्म शासन गर्ने हम्मुखरावी भन्ने राजाले पनि मर्दुकलाई ससारका सर्वोच्च देवता भनेका छन् । उनका प्राचीन सभ्यताका स्वरूप, आस्था, परम्परा र ऐतिहासिक अवदानहरूबारे यी स–साना गोलचक्कीहरूबाट यति जानकारीहरू प्राप्त हुन्छन भन्ने यहाँ पुरातात्विक उत्खनन्हरू सम्भव हुन नसके पनि अनेक प्राचीन मठ मन्दिरका अवशेष , मूर्ति र एक्कासी माटो खन्दा प्राप्त भएका ऐतिहासिक सामग्रीहरू ( ईटा, अभिलेख, मुद्रा, मूर्ति आदि) छन् जसले पौराणिक तथा ऐतिहासिकताबारे दुर्लभ जानकारीहरू दिने गरेकाले उत्खनन्को आवश्यकता महसूस गरिएको हो ।जनकपुरका मठ मन्दिर र तिनमा सुरक्षित मूर्तिहरू गढ, गढीहरू इतिहासका अनेक उत्थान पतनका कुरा संसारलाई सुनाउन आतुर छन् । पुराकथाहरू सनातन मूल्य सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरका कथा, बज्जिसंघको प्रभाव मिथिलाको प्राचीन इतिहास, नान्यदेव बंशीय प्रभाव, सेन र पालकालीन अवस्था , एकीकरण पश्चात्का तथ्य यी मठ–मन्दिर, मूर्ति र गढ गढीहरूमा लुकेको बताइन्छ ।

बेबिलोनको पूरा कथा अनुसार सृष्टिको आरम्भमा पानी नै पानी थियो । जसलाई नूनिलो र गुलियो पानीको संज्ञा दिइएको थियो । आदिमाता तियामतको नूनिलो पानीमाथि शासन थियो भने आदि पितृशक्ति भगवान अप्सुको गुलियो पानीमाथि शासन थियो । तियामत र अप्सु पति पत्नी थिए । मर्दुक यसै बंशका थिए र यसै वंशबाट बेबिलोनियाका अन्य जातिहरूको जन्म भयो । त्यस्तै विदेध माधवको कथाले जनकपुरका सरोवरहरू बताउँछन् – यो भूमि पनि जलै जलले भरिएको थियो । सीरध्वज जनक र सुनयना तियामत र अप्सु जस्ता हुन् । बेबिलोनियाका मर्दुक देवाधिदेव भए जस्तै हाम्री सीता आदिदेवी हुन् । हामी सबै त्यसै आदि पुरुष र आदिमाताबाट फैलिएका छौ । यहाँका मठ मन्दिर र मूर्तिहरूले निनेवेहको गोलचक्की भन्दा बढी सूचना दिने भएकाले यिनबारे अझै खोजी गर्नु अपरिहार्य देखिन्छ ।वैदिक बाङ्मय पुराण तथा धार्मिक साहित्यहरूले जनकपुरधामको अस्तित्व अनादिकाल देखि नै रहेको र धार्मिक तीर्थ बिशेष गरेर सीताराम तीर्थका रूपमा प्रख्यात रहेको पाइन्छ । त्रेता युगमा उत्कर्षमा रहेको जनकपुरधाम द्वापर युगमा महाभारतको युद्ध पछि लोप भएर पृष्ठभूमिमा पुगेको र धेरै बर्ष पछि कलियुगमा सोह्रौ शताब्दीपछि जनकपुरधाम पुनः प्रकट भएको भनिन्छ । जनकपुरका मूर्त सम्पदाका सन्दर्भमा मठ मन्दिरमा रहेका मूर्तिहरू धातु, पाषाण र मणि– विग्रहका रहेका बताइन्छ । पाषाणका मूर्तिहरूमा केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् । केही भने अयोध्यामा रहेका मूर्तिहरू जस्ता देखिन्छन् । यहांका मूर्तिहरूले कुनै एक कालको कला एवम् शैली प्रस्तुत नगरी विभिन्न कालका कला एवं शैली प्रस्तुत गरेको पाइन्छ । मुख्य रूपले पुरातात्विक अंश अध्यात्मिक नै रहेको छ सो मध्ये पुरातात्विक अंश भएका केही मन्दिरहरूमा राम मन्दिर , जानकी मन्दिर , जनक मन्दिर ,लक्ष्मण मन्दिर रत्नसागर ,कपिलेश्वरनाथ र कुपेश्वरनाथ मन्दिर उल्लेखनीय रहेको छ ।

जानकी मन्दिर बन्नु भन्दा अगाडि पैगोडा शैलीमा बनाएको राम मन्दिरमा रामको पञ्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु, दशावतारको मूर्ति, सात घोडा रथमा रहेको सूर्यनारायण मूर्ति महत्वपूर्ण मानिएको छ । पुरातत्वविद् तारानन्द मिश्रका अनुसार राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसंग टांसिएर रहेको शिशुनारी मूर्ति पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण छ, सम्भवतः जनकपुरको प्राचीनतम् मूर्ति यही नै हो । सो पाषाण मूर्तिलाई पालकालीन भएको अनुमान गरिएको छ । सोही मन्दिरमा रहेको एक मुखे शिवलिङ्ग पनि पुरातात्विक दृष्टिकोणले महत्वका छन् । सो मन्दिरका प्रथम महन्थ चर्तुभुज गिरीले उपरोक्त मूर्तिहरू मन्दिरको पछाडि रहेको वरको रूखमुनि प्राप्त गरेका थिए । वरको रूखलाई वटवृक्ष तथा कल्पवृक्ष भनिएको छ । यस वृक्षमुनि आफुले चिताएको वर मागेमा वर पुरा हुने विश्वास पाइन्छ । त्यस्तै जनक मन्दिरमा सतानन्द, राजश्री, सुनयना, सीता, गोपालका मूर्ति रहेका छन् भने सीरध्वज जनकको मूर्ति ( सीर, हात, खुटटा नभएको) खण्डित छ । यस खण्डित मूर्तिबारे विभिन्न कथन पाइन्छ । महाराजा जनकले दिएको दाइजोबाट अयोध्याका राजा दशरथ सन्तुष्ट नभएकाले जनकले टाउको काटेर दिएको प्रतीकका रूपमा यो खण्डित मूर्ति हो भन्ने भनाइ छ । त्यस्तै, यवनले आक्रमण गर्दा मन्दिर भत्काउने मूर्ति फोडने हुंदा मूर्ति खण्डित भएको हो भनाइ पनि पाइन्छ । यो मूर्ति खण्डित नभएर मूर्तिको पत्थर नै यस्तो हो जसलाई अनादिकालदेखि नै जनक स्वरूप मानेर पूजा गर्दै आएका भनाइ पनि छ । लक्ष्मण मन्दिरमा भएका लक्ष्मणको मूर्ति पौराणिक भएको मानिन्छ । भागवतका अनुसार त्रेता युगमा मिथिलाका राजा बहुल्याश्व जनकका पालामा मिथिलामा भीषण अनिकाल पर्दा सो अवस्थाबाट शान्ति पाउन तत्कालीन ऋषिमुनिहरूले राजालाई हिमालयमा गइ बारह बर्ष तपस्या गर्न सल्लाह दिए ।

ऋषिमुिनको सल्लाह अनुसार उनी हिमालयमा गइ तपस्या गर्न थाले । बारह बर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको पत्थरको मूर्ति प्राप्त भयो र आकाशवाणी भयो – तिमी यो मूर्ति लिएर जानु र पूजा गर्नु तिम्रो देशमा अनिकाल हटने छ । जनताहरु सबै खुशी रहने छ , राजाले लक्ष्मणको मूर्ति लिएर आफनो देशमा आएर पूजाआजा गर्न शुरू गरेपछि राजा र प्रजा आनन्दले जीवन बिताउने थाले । रत्नसागर मन्दिरमा रामजानकीका मूर्तिहरू प्रमुख रहेको यस मन्दिरमा लक्ष्मण, राधाकृष्ण, लडु गोपाल र हनुमानका ३१ भन्दा धेरै धातु र संगमरमरका प्राचीन मूर्ति र ७ सय भन्दा बढी सीताराम स्वरूपका शालिग्रामको नियमित पूजा गरिन्छ । जनकपुर उप–महानगरपालिका वडा नं. १२ कुवा गाउँमा रहेको कुपेश्वरनाथ मन्दिरको शिवलिङगका बारेमा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख छ । मन्दिरभित्र महादेव कुपेश्वरनाथ एउटा कूप जस्तो गोलाकार खाल्डोमा रहेका छन् । महादेव कूपमा रहेकाले यी नाथलाई कुपेश्वरनाथ भनिएको हो । गाउँको नाम पनि कुवा भनिएको हो । कुपेश्वरनाथको शिवलिङगलाई बाराहको थुतुनो हुन सक्छ भनेर पनि अनुमान गरेका छन् । मन्दिर महादेव कुपेश्वरनाथको मन्दिर चर्तुज गिरीकै समयमा बनेको हो र यो राम मन्दिर जतिकै पुरानो मानिन्छ । यसको पनः निर्माण वि.स. १९९६ सालमा भएको हो । फेरि २०५१ सालमा जीर्णोद्धार भइ वर्तमान रूपमा मन्दिर देखिएको छ । मन्दिर शिखर शैलीमा निर्माण गरिए पनि त्यसमा मैथिल वास्तु शैलीका अंश पनि रहेको छ । मन्दिरमा रहेको छाना बंगालका पालकालीन राजाद्धारा निर्मित देखापरेका अन्वेषक रिमाल बताउनुहुन्छ । जनकपुर उप– महानगरपालिका वडा नं. १२ हनुमानगढीमा पाषाणका हनुमान र धातुका रामजानकीका मूर्ति रहेका छन् । सन्यासी प्रितम दासले तीर्थाटनका क्रममा गंगामा हनुमानको मूर्ति प्राप्त गरेको उल्लेख छ । जनकपुर आउने पहिला सन्यासीहरूमा सूरकिशोर दास र चर्तुज गिरीपछि वि.स. १८३८ मा प्रितम दासले बाराहकुटीको मौजाको कुश विर्ता पाएको गीर्वाण विक्रम शाहको मिति १८६७ सुदी ५ भाद्रको शाही आदेशबाट यस मन्दिरको प्राचीनता स्पष्ट हुन्छ ।

पन्ध्र दिने परिक्रमाको क्रममा कचुरीको किशोरीको डोला पहिलो राति यहि मन्दिरमा विश्राम गरी विहान कल्याणेश्वर जाने परम्परा रहेको छ । शिखर शैलीमा निर्माण गरिएको सो मन्दिरमा हनुमानका मूर्ति भक्तिभावले दक्षिण मुख फर्काई राखिएको छ । जनकपुर उप–महानगरपालिका वडा नं. १६ मा शिखर शैलीको निर्माण गरिएको कपिलेश्वरनाथ मन्दिरको धार्मिक पुरातात्विक महत्व निकै छ । मन्दिरमा शिवलिङग, बसहा, गणेश, पार्वती, शालिग्राम तथा मन्दिर बाहिर वरिपरि शिव , पार्वती, गणेश, जोगीन्दर, महारानी आदिका मूर्तिहरु रहेका छन् । मन्दिरको भित्रका मूर्तिहरु काला पत्थरका छन् भने मन्दिर बाहिर अधिकांश मूर्ति संगमरमरका छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, जनकवंशीय राजा सीरध्वजले जनकपुरको चारै दिशामा चारनाथको स्थापना गरेका थिए । तीमध्ये पूर्व–उत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिलमूनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । अन्वेषकहरूले यस मन्दिरको प्राचीन रूप सीमरौनगढीय वास्तु शैलीमा निर्मित भएको उल्लेख गरेका छन् । मुगल वास्तु शैली र मैथिल वास्तु शैलीको संगमबाट बनेको जानकी मन्दिरमा वास्तु कलाकारिताको विलक्षणता देखिन्छ । मन्दिरको गर्भगृहमा महात्मा सूरकिशोर दासद्धारा प्रतिष्ठापित किशोरीजीको स्वर्णमय प्राचीन मूर्ति र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरी स्थापित गरेका मणि विग्रहका मूर्ति रहेका छन् । यी मूर्तिहरू चांदीको पाताले मोडिएको रथ आकारझैँ भान हुने विशाल एवम् कलात्मक सिंहासनमा आकर्षक ढङगले सजाएर राखिएका छन् । सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मुलद्धार पनि चांदीले नै जोडिएका छन् । सीतारामको पछिल्लो भागमा अष्टकुञ्ज नामक कोठाहरू छन्, सो मध्ये दुई कोठाबाट पाताल जाने बाटो छन् । मन्दिरको उत्तर तर्फको प्रवेशद्धारमाथि दुईवटा विशाल राता आँखा भएका पत्थरले बनेका सिंहका कलात्मक मूर्ति छन् । पहिले यी दुवै सिँहको चारैवटा आँखा हीराजडित थिए । टाढैदेखि चम्किलो देखिन्थ्यो तर ती हीरा चोरिएको बताइन्छ । यस कलात्मक पत्थरमा कलात्मक ढङगबाट रोमनमा एस. पी. लेखिएको छ ।

जनकपुरधामका ऋषिमुनि दूरदर्शी थिए , उनीहरूले मिथिलाको इतिहास लेख्नका लागि यस्तो कैनभासको परिकल्पना गरी त्यसलाई मूर्तरूप दिए , जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन । त्यो कैनभास थियो –पत्थर, जसको खण्डित अंशले पनि महत्व बोकेको हुन्छ । हरेक युगमा यहाँ पत्थरको मूर्ति उत्कीर्ण हुदै रहयो । राजनीतिक, धार्मिक र भुँइचालो इत्यादिले उक्त मूर्तिहरु खण्डित हुँदै माटोले पुरिदै ढिस्कोको रूप लिएको पाइन्छ । अमूर्त पुरातात्विक उक्त सम्पदाहरू अनुसन्धानका लागि प्रतीक्षारत छ । सो अन्तर्गत जनकपुरधामको वडा नं. ८ मा रहेको ज्ञानकूप विद्याकूप नजिकैको ढिस्को ,कपिलेश्वर महादेवको गढी, कुपेश्वर महादेव मन्दिरको ढिस्को र उपमहानगरपालिका तथा यस क्षेत्रमा रहेका प्राचीन पोखरी एवम् तलाउको अन्वेषण आवश्यक देखिएको छ । यसका साथै विग्धी खोलामा प्राप्त कुषाणकालीन मुद्रा अध्ययन र अनुसन्धानको विषय रहेको छ । खोजकर्ता नमोनारायण झाले यसबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय गम्भीर नभएका कारण उक्त मुद्राको अवस्था अज्ञात रहेको बताइन्छ । यसैगरी जनकपुर उप महानगरपालिका वडा नं. १३ मा रहेको त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात “मणिमण्डप ” पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामा छ । राजा जनकले सीताको विवाह गर्दा मडवाका रूपमा“मण्मिण्डप” को निर्माण गराएको जनविश्वास छ । भगवान विश्वकर्माले सीताको विवाहका लागि मणि जडित मड्वा निर्माण गरेकै कारण वैवाहिक मड्वाको नाउँ मणिमण्डप हुन गएको अनुमान छ । यसका साथै जनकपुर क्षेत्रमा प्राचीन पोखरी, इनारहरू पनि छन् जसमा पाइने ईटा असमान्य आकारका छन् । शोधकर्ताहरू जनकपुर क्षेत्रमा भएका सम्पदालाई दृष्टिगत गर्दै जनकपुरको सभ्यतालाई रोमको सभ्यता भन्दा १५ बर्ष जेठो भनेका छन् भने कतिपयले जनकपुर र लुिम्बनीको सभ्यता समकालीन भएको उल्लेख गरेका छन् । सुप्रसिद्ध चिनियाँ यात्री हुवेन साँग पनि भ्रमण गर्दा गर्दै मिथिलाको नाम सुनेर सातौँ शताब्दीमा सन् ६४० तिर यहाँ आउँदा उजाड र अस्तव्यस्त अवस्थामा पाएको भनी यात्रा वृतान्तमा उल्लेख गरेका छन् । जनकवंशीय राजा करालको बध पछि ऐश्वर्यवती मिथिलापुरीको दुर्दिन शुरू भयो ।

करालको अन्त्यसम्म मिथिला राज्यको दक्षिण पूर्वमा गंगा पारी रहेको प्राचीन वैशाली शक्तिशाली राज्यमा परिणत भइसकेको थियो । करालको अवसान पछि वैशालीका बाज्जिहरूले मिथिलामाथि धावा बोली आफनो अधिनमा लिए । केही दशक पछि बज्जि संघ पनि मगधका राजा अज्ञात शत्रुबाट परास्त भएर मिथिला प्रदेश ५५३ ई. पू. तिर मगधको अधिनमा परे । मगध पछि कन्नौज, पालवंश र कर्णाटवंशीहरू पोल्टामा पर्दै सन् १३२६ मा ग्यासुद्दिन तुगलकले जिते पछि केही समयका लागि मिथिलालाई दिल्लीको मुस्लिम शासन अन्तर्गत समेत बस्नु परेको थियो । यसरी राजाहरूको जय– पराजयसँग इतिहासमा हुँदै गरेको उथल–पुथल बीच सयाँै बर्षसम्म पराधिन र श्रीहीन अवस्थामा गुमनाम झैँ दिन व्यतीत गर्नुपरेको पीडामय इतिहास पनि यस दार्शनिक क्षेत्रको भएकाले यसको प्रमाणीकरणका लागि यहाँ भएका मूर्त र अमूर्त सम्पदाको खोज, अनुसन्धान र उत्खनन् आवश्यक छ । जनकपुर क्षेत्रमा पाइने मूर्त, अमूर्त पुरातात्विक सम्पदा सामान्यतः मौर्य, शँुग, कुषाण, गुप्त, पाल, सेन, राज्यवंश र पछि मकवानपुरका सेन राजाहरूको समयलाई बोध गराइ रहेको छ । मानव सभ्यताको विकासक्रमलाई रेखांकित गर्न सकिने विभिन्न गढीको उत्खनन् गर्नु आवश्यक देखिएको छ । यस क्षेत्रलाई जानकीको जन्मथलो, माइती भनी धार्मिक ग्रन्थहरूले प्रतिपादित गरेपनि त्यस समयको अवशेष अहिले पनि अनुसन्धानको विषय रहेको छ । यसको अतिरिक्त पुरातात्विक महत्वका वस्तुहरूको गहन अध्ययन भयो भने तत्कालीन राज्य व्यवस्था समाजिक जीवन, धर्म, लिपि आदिबारे पनि प्रशस्त जानकारी प्राप्त हुन सक्ने सम्भावना छ । जनकपुरधामका पुरातात्विक ऐतिहासिक स्थल र पुरातात्विक सांस्कृतिक वस्तु ,पुरातात्विक सामग्रीहरूलाई गढी वा भग्नावशेष, मुद्रा, भाँडाकुडा वा चित्रमूर्तिहरूलाई सोही अनुरूप अध्ययन, अनुसन्धान हुन जरूरी देखिएको छ ।

यी तथ्यहरूको अध्ययन– अनुसन्धान भएमा इतिहासका विभिन्न कालखण्डमा ज्ञान गुणका प्रख्यात अन्वेषक कृष्ण, बुद्ध, महावीर, स्वामी रामानन्दाचार्य, विद्यापति, तुलसी दास, भारतेन्दु हरिश्चन्द्र आदिको जनकपुर आगमनको प्रमाणिक विवरण प्राप्त हुन सक्ने सम्भावना पनि प्रशस्त रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News