अपडेट 
२०७८ पुष १८, आईतवार ०६:१३

जलेश्वर । सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका– ९ मधवा गाउँमा अवस्थित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।

महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित सो विद्यालय रहेको छ । सो क्षेत्रबाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित रहे पनि उनीहरुल कुनै चाँसो नदिँदा विद्यालय यस अवस्थामा पुगेको हो । नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर वस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् । आफै प्रधानाध्यापक, आफै कक्षा शिक्षक र आफै कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामदयाल राउतले बताए । विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको दृष्टिमा पर्न सकेको छैन ।

भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न स–साना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्र अ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठन–पाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे । त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३ सय ३३ छात्र–छात्रा अध्ययनरत छन् । विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन वटा कोठा मात्रै छन् भने सोही कोठामा प्र.अ. राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गर्दै आएका छन् । विद्यार्थीको चापले गर्दा पठन–पाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्र अ राउतको गुनासो छ । करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चउर रहेको र शौचालय, खानेपानी लगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चाँसो नदेखाउँदा समस्या रहेको स्थानीय बयोबृद्ध बुधवा सदाले बताए ।

Comment


Related News

Latest News

Trending News