जनमत पार्टीका कार्यकर्ताहरुले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग खोलाउने क्रममा धनुषाको पोर्ताहामा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा कम्तीमा ५ जना घाइते भएका छन् ।
अवरुद्ध सडक खोलाउने क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीले चलाएको रबरको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । सडकबाट प्रदर्शनकारीहरुलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए । प्रहरीले प्रहार गरेको अश्रुग्यासलाई प्रदर्शनकारीले प्रहरी तर्फ नै फर्काउँदा गोली चलाइएको प्रहरीले दाबी गरेको छ । प्रहरीले राजमार्ग खोलाउन प्रयास गरेपनि झण्डै आधा घण्टा सडक अवरुद्ध रहेको थियो । प्रहरीले अवरुद्ध सडक खोलाउन १६ राउण्ड अश्रुग्यास प्रहार गरेका थिए । आक्रोशित प्रदर्शनकारीहरुले प्रहरी माथि ढुङगामुढा गर्न थालेपछि प्रहरी ११ राउण्ड रबरको बुलेट फायर गरेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी जितेन्द्रकुमार बस्नेतले जनाए । प्रहरीले चलाएको रबर बुलेट लागेर ५ जना प्रदर्शनकारी घाइते भएको डीएसपी बस्नेतले बताए । गोली लागेर विद्यार्थी जनमत धनुषाका अध्यक्ष विजय कुमार यादव, दलित जनमत धनुषा उपाध्यक्ष रामदयाल मुखिया, युवा जनमत जिल्ला उपाध्यक्ष नथुनी यादव, जिल्ला सचिव वैजनाथ यादव र जिल्ला सदस्य संजय साह घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको जनमत पार्टीले बताएकोछ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यता, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत घटना पश्चात घाइतेहरुको अवस्था बारे जानकारी लिन आफ्ै प्रादेशिक अस्पताल पुगेका थिए । घटनाको निन्दा गर्दै अध्यक्ष राउतले किसानको हक अधिकारको विषयमा उठेको अवाज दवाउन प्रहरीले आन्दोलनकारी माथि दमन गरेको आरोप लगाए ।
विगत १० दिन देखि किसानको विभिन्न मागलाई लिएर आन्दोलन गरिरहेपनि राज्यले कुनै सुनवाई नगरेको आरोप लगाउँदै डा.राउतले भने, ‘नस्लीय प्रहरीले हाम्रा कार्यकर्ता माथि दम्भ देखाएको छ । रबरको मात्रै नभइ प्रहरीले असली गोली पनि चलाएको हामीले पाएका छौ ।’ प्रहरीले अनावश्यक रुपमा प्रयोग गरेको बलको छानबिन हुनुपर्ने माग गरे । डा.राउतले आफूहरुको आन्दोलन सोमवारदेखि थप कडा हुने चेतावनी दिएका छन् । यसैगरी राजविराज टुडे सहकर्मीले जनाए अनुसार सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा प्रदर्शनकारी र प्रहरी बीच सामान्य झडप भएको छ । शम्भुनाथ नगरपालिकाको गोविन्द चोकमा जनमत पार्टीका प्रदर्शनकारीहरुले राजमार्ग अवरुद्ध गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोगगरी यातायात सुचारु गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा जनमत पार्टीका केही कार्यकर्ताहरु सामान्य घाइते भएको प्रदर्शनकारीहरुले दाबी गरेका छन् । तर जिल्ला प्रहरी कार्यालय सप्तरीले बल प्रयोग नगरिएको बताएको छ । किसानहरुलाई सहज रुपमा मलखाद उपलब्ध गराउनु पर्ने माग गर्दै सडक संघर्षमा उत्रेको जनमत पार्टीले आन्दोलनलाई चर्काउन राजमार्ग बन्दलाई प्राथमिकतामा राखेको छ । जिल्ला बन्द भने पनि प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्गलाई अवरुद्ध गर्न निरन्तर प्रयास गर्दै आएका छन् । तर प्रहरीले पूर्ण रुपमा राजमार्गलाई हाल सम्म ठप्प हुन दिएको छैन् ।


