जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको करिब एक लाख मूल्य बराबरको किरानाका समानहरु नियन्त्रणमा लिएको छ ।
सोमबार अबेर राती जिल्ला प्रहरी कार्यालय धनुषा तथा प्रहरी चौकी गिद्दाबाट खटेको गस्ती टोलीले विदेह नगरपालिका–६ तिनकोरिया चोक नजिकबाट दुइ वटा मोटरसाइकल सहित सामानहरु नियन्त्रणमा लिएको हो । प्रहरीले भारत तर्फबाट आउंदै गरेको ज. २ प. २३९१ नं. को क्वासोती बजाज मोटरसाईकल र ज ७ प ३१५२ नं. को पल्सर मोटरसाईकलमा लोड गरिएको पाँच बोरा चिनी, दुइ वटा कार्टूनमा ८ वट्टा अचारको बट्टा गरी १७ हजार ७ सय र दुइ वटा मोटरसाईकलको ८० हजार गरी ९७ हजार ७ सय मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


