जलेश्वर । प्रतिबन्धित लागुऔषध गाँजा बिक्री वितरण गरेको आरोपमा महोत्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले मंगलबार अबेर साँझ गौशाला नगरपालिका–४ रजखोरबाट यिनीहरुलाई पक्राउ गरेको हो । स्थानीय रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाई राखेको तीन किलो तयारी गाँजा,एक थान डिजिटल तराजु गाँजा बिक्री गरेको ११ सय रुपियां प्रहरीले बरामद गरेको छ । स्थानीय रामचन्द्र साह र उनको २१ वर्षीय नाति रोहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय वर्दिबास ल्याइ थप अनुसन्धान गर्दै जाँदा रजखोरका ५३ वर्षीय उपेन्द्र साहको घरबाट बिक्री गर्नको लागि पुरिया बनाई तयारी अवस्थामा राखेको ५ किलो गाँजा र एक थान तराजु तथा बिक्री गरेको ६ हजार ५ सय रुपियां फेला पारेको जनाइएको छ । सो क्रममा प्रहरीले उपेन्द्र साह र उनको १९ वर्षीय छोरा बिबेक साहलाई पक्राउ गरेको हो ।
जिप्रका महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।


