अपडेट 
२०७८ पुष २३, शुक्रबार ०६:०४

ध्रुबकुमार झा  जनकपुरधाम ।

लौकालाई काट्ने बित्तिकै भित्रपट्टी कालो फेला परेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का रंजु चौधरी चकित भएकी छिन् । पेठिया बजारमा मनै लोभ्याउने तथा चिल्लो लौकाप्रति आकर्षित भइ उनले लौका खरिद गरेकी थिइन् । यस प्रकारको लौका जनकपुरधाम सहित प्रदेश दुइका विभिन्न जिल्लामा बिक्री भइरहेको पाइएको छ ।

जानकारहरुका अनुसार त्यस किसिमका लौकाहरुमा विषादी प्रयोग गरिएका कारण काट्ने बित्तिकै भित्र कालो फेला पर्ने गरेको छ । गर्भवती महिलालाई प्रसुति सहज पार्न, रक्तस्राव कम गर्न, दूधको मात्रा बढाउन लगाइने ‘अक्सिटक्सिन’नामक हर्मोनको सुई लौकालाई रातारात फलाउन लगाइने गरिएको पाइएको आयुर्वेद विज्ञ डा.लक्ष्मेश्वर मण्डलले बताउंछन् । सोही औषधिको प्रयोगले लौकामा बाहिरपट्टी आकर्षक देखिए पनि भित्रपट्टी भने बिग्रेको ,पकाउँदा एकदमै ढिलो गरी गल्ने लगायतको समस्या देखिने गरेको र स्वाद पनि फरक हुने गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका डा.मण्डलले भने,‘ हामीले त बजारको लौका किन्नै छाडि सकेका छौं,अक्सिटक्सिनको सुई लागेको तरकारी खानु भनेको प्रत्यक्ष रुपमै विषको सेवन गर्नु हो।’ अहिले बजारमा पाइने ९० प्रतिशत लौका विषादियुक्त नै रहेको उनले दाबी समेत गरे । आफ्नै गाउंघरमा गोबर कर्सीमा फलेको लौका बाहेक कुनै पनि लौका खानु स्वास्थ्यको लागि अहितकर नै रहेको छ । यस्तो तरकारीको प्रयोगले नै १० वर्षकै उमेरका बालबालिकाहरु १४/१५ वर्षको देखिनुले हार्मोनमै गडबडी भएको पुष्टि हुने गरेको समेत चिकित्सकहरु बताउंछन् । उक्त प्रतिबन्धित ‘ अक्सिटक्सिन’ युक्त खाद्य वस्तुहरूको सेवनले शरीरमा हर्मोनको स्तरमा गडबडी आउने तथा स्नायु प्रणालीमा असर गर्ने सम्मका जटिल रोग लाग्ने र किड् नी,फोक्सो तथा लिभर लगायतका महत्वपूर्ण अंगहरु बिग्रिने सम्भावना रहेको डा.विजय कुमार सिंह बताउंछन् । उनी भन्छन्,‘ महिलाहरुको विशेष अवस्थामा प्रयोग गरिने अक्सिटक्सिनको प्रयोग कुनै पनि ठाउँमा गर्ने हुँदैन,गरिएको छ भने त्यो मानव स्वास्थ्यसंगको खेलबाड नै हो।’ जनकपुरधामकै कुरा गर्ने हो भने यहाँ भारतको बंगाल,आसाम तथा सर्लाही जिल्लाको विभिन्न स्थान तथा धनुषाकै बटेश्वर लगायतको स्थानबाट उत्पादित लौकामा यस प्रकारको समस्या देखिएको छ ।

जनकपुरधामका तरकारी व्यवसायीहरु भने यस प्रकारको विषादीको प्रयोगबारे अनभिज्ञ देखिएका छन् । ढल्केबरका तरकारी व्यापारी अजय साहले भन्छन् ‘हामीले त बाहिरबाट देखेर किनेर ल्याउंछौं अनि खुद्रा व्यापारीलाई बेच्छौं,औषधि मिसाएको नमिसाएको हामीलाई केही थाहा नै हुंदैन’। अक्सिटक्सिनको सुइ लगाएर लौकालाई निलोतुथो (कपर सल्फेट) नामक रासायनिक झोलमा डुबाएको कारण लौकाहरु चम्किलो देखिने गरेको भए पनि स्वास्थ्यको दृष्टिकोणले अत्यन्त नकारात्मक असर पर्ने गरेको छ । कृत्रिम चमक भएका खाद्यान्नको सेवनले धेरै प्रकारका रोग लाग्ने र शरीरको प्रतिरोधात्मक क्षमतामा समेत कमी आउने गरेको डा.सिंह बताउंछन् । नेपाल र भारतमा समेत प्रतिबन्धित रहेको अक्सिटक्सिन सुइ सीमावर्ती क्षेत्रका कृषि केन्द्रहरुमा दुई रुपियांदेखि १० रुपियाँ सम्म प्रति भाइल पाउने गरेको छ । चार वर्ष पहिला सम्म हामीले पनि बेच्ने गरेको भए पनि यसबारे जानकारी भइसकेपछि यसको बिक्री बन्द गरिसकेको जनकपुरधामका मंडल कृषि केन्द्रका सञ्चालक अखिलेश कुमार मण्डलले बताए । अक्सिटक्सिन किन्न आउने किसानहरुलाई नकिन्नुस यसले मानव स्वास्थ्यमा धेरै नकारात्मक असर गर्ने गरेको छ भन्दै सम्झाई बुझाई फिर्ता पठाउने गरेको उनले बताए । हामीले नबेचे पनि किसानहरुलाई अनाधिकृत रुपमा औषधि बेच्नेहरुले उपलब्ध गराउने गरेको उनले जनाए । पहिला पहिला भारतको बंगाल तथा आसामबाट आयात हुने लौकामा मात्रै यस्तो समस्या देखिए पनि अचेल सर्लाही तथा धनुषाका तरकारी किसानहरुले समेत यसको प्रयोग गर्ने गरेको पाइएको छ । सम्बन्धित नियमनकारी निकायको उदासीनता र उपभोक्ताहरुमा सचेतनाको अभावले गर्दा विषादीयुक्त लौका घर घरमा प्रयोग गरिने गरिएको छ । यता कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत प्रदीप कुमार यादवले किसानहरुले प्रयोग गर्ने नगर्ने बारे अनभिज्ञता व्यक्त गरे पनि आपूmहरुले बजारको लौका प्रयोग नै नगर्ने भनेकोले बजारमा पाउने अधिकांश लौकामा विषादीयुक्त नै रहेको पुष्टि हुन्छ ।

उपभोक्ताहरुमा सचेतनाको अभावकै कारण केही पैसा सस्तोमा धेरै तौलको लौका किनेर सर्वसाधारणहरुले खाने गर्ने गरेको अर्गेनिक तरकारी खेती गर्दै आएका किसान रामदास यादवको भनाइ छ । जनकपुरधाम पेठिया बजारमा अहिले भारतबाट आउने दुइ किलो सम्मको लौका १ सयमै बिक्री हुने गरेको छ भने देहाती लौकाको मूल्य एक सय पचास देखि दुइ सय सम्ममा बिक्री हुने गरेको छ । थोरै समयमा धेरै पैसा कमाउने लोभकै कारण किसानहरुले उपभोक्ताहरुको स्वास्थ्य संग खेलबाड गर्दै आएको छ । बाँगो टिंगो र सानो आकारको लौकामा भने खान सकिने सल्लाह चिकित्सकहरुले दिन्छन् ।

https://www.youtube.com/watch?v=R7LsVtWys04&t=2s

Comment


Related News

Latest News

Trending News