अपडेट 
२०७८ पुष २४, शनिबार ०६:०७

नेपाल सानो छ तर यहाँ हिऊको मज्जा लिन सकिन्छ । ५० डिग्रीको सकस भोग्न सकिन्छ । बाढीको प्रकोप र सुख्खाको स्वाद चाख्न सकिन्छ । सांस्कृतिक र धार्मिक विविधता एवं समागमनको माहौलमा रमाउन सकिन्छ । १सय २३ भाषामा सम्वाद गर्न सकिन्छ । समग्रमा भनौ भने यहाँ चारै ऋतुको मज्जा लिन सकिन्छ । चारै ऋतुमा हुने पर्व त्यौहार र भोजनको आनन्द लिन सकिन्छ । सानो भूगोलमा प्रकृतिले बिरलै देशलाई यी विविधता प्रदान गरेको होला । प्रकृतिद्वारा प्राप्त यी र यस्ता विविधता दुखियाका लागि वरदान हुन्छ । हाम्रा लागि अभिशाप बनेको छ । जम्मु कस्मीर,लद्दाख,गोवासंगै पश्चिमा मुलुकका व्यवसायीहरु क्रिशमसदेखि जाडोको स्वागतमा जुट्छन । जाडोसंगै सुरु हुने पर्यटन व्यवसाय मा तल्लीन हुन्छन् । पर्यटन व्यवसायबाट मनग्यै पैसा कमाउँछन । तर हामी जाडोमा न्यानो कपडा र धुनिका लागि दाउराको जोहोमा लाग्छौं । अन्य देशहरु बाढीको पानी जलविद्युत निर्माण गर्न प्रयोग गर्छन , पानी सुरक्षित राखेर वर्षभरि खानेपानी र सिंचाईमा प्रयोग गर्छन । तर हामी बाढी आउने बितिकै घरवार, खेत र तटबन्धको चौकीदारीमा जुट्छौं ।

गर्मीको मौसममा झाडा पखाला र लूको प्रकोप अनि जाडोमा कोल्डडायरिया,दम्म अनि जाडोजन्य अन्य व्याधिको प्रकोप हाम्रो नियति नै बनेको छ । धान रोप्ने वेला होस् कि गहुँ छर्ने ,गोडमेल गर्ने वा सिंचाई गर्ने वेला । सधैंभरि मल खाद र विउको अभाव हुन्छ । किसान मलको खोजीमा भौतारिएका हुन्छन् , सरकार भाषणवाजीमा मस्त हुन्छ । तराई मधेसलाई मुलुकको अन्नको भखारी भनिन्छ । अचेल मधेसीमूलका कृषिमन्त्री छन् । हामी गदगद छौं । प्रफुल्लित छौं । फूल माला लगाएर स्वागत सत्कार गर्दैछौ । उनी किसान परिवारबाटै हुनुहुन्छ । किसानले भोग्नु परेको पीडाको दर्द उहाँलाई थाहा हुनु पर्ने हो । अचेल उनै मन्त्रीजीको एउटा अभिव्यक्ति पत्रपत्रिकाहरुमा पढन पाईयो – बैसाखसम्ममा मलको आपूर्ति भई सक्छन् । नेपाल सरकार भारतसंग मल खरिद गर्ने समझौता गरेको छ । किसान परिवारका कृषिमन्त्री महेन्द्र राय यादवजीसंग सोध्न मन लाग्यो – मन्त्रीजी , मल वैशाखमा आउँछ भन्ने गहुँ वाली लगाएका किसान गहुँ वाली लगाउने कि न लगाउने ? कारण गहुँ , आलु लगायतका वाली रासायनिक मल विना सप्रिन गाह्रो हुन्छ भन्ने कुरा यहाँले देख्नुनै भएको होला । देख्नु भएको होइन भने सुन्नु नै भएको होला । मन्त्रीजीको ध्यानाकर्षण होस् – मन्त्रीजीकै छिमेकी जिल्ला रौतहटबाट हाम्रा वहादुर पुलिस अधिकारीले २३ बोरा भारतीय मल नियन्त्रणमा लिएको छ । बुधवार जनकपुर टुडेमा प्रकाशित समाचार जस्ताको त्यस्तै राख्न चाहे – मल तस्करीलाई छूट दिनु पर्दछ भन्ने मेरो मनसाय होईन । नेपाल भारत बीचको व्यापार व्यवस्थित हुनै पर्दछ । सरकारी राजस्व मासिनु हुदैन । तर सीमा वारपार हुने दैनिक लाखौं करोडौको अवैध व्यवसायलाई आपसी मिलिमतोमा वैधता दिने सरकार र सरकारका कारिन्दा किसानको जीवन मरणसंग जोडिएको मल खाद र विउमात्र किन खोजी रहन्छन् ? सरकारले दिन नसक्ने अनि जुनसुकै माध्यमबाट जतिसुकै मूल्यमा उपलब्ध गर्ने ÷गराउनेको मलखाद प्रहरीले नियन्त्रणमा लिनु पर्ने ? किसानहरुले मंहगो मूल्यमा मल खरिद गर्न वाध्य बनाउने सरकार होईन ? वैश्विक रुपमा कोभिडको तेश्रो लहड सुरु भई सकेको छ । नेपाल पनि यसबाट अछुतो छैन ।

पुस १९ गते ३ सय १६ जनामा कोभिड देखा परेको थियो । पुस २३ गते बढेर ९ सय ६८ पुगि सकेको छ । झन २४ जनामा पछिल्लो भेरिएण्ट अर्थात् ओमिक्रोन समेत फेला परेको छ । कोभिड संक्रमण दर दिन दुना रात चौगूना बढी रहेको वेला पुस २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राले प्रेस विज्ञप्ति प्रकाशित गरी आमनागरिकलाई कोभिड प्रोटोकल पालन गर्न अनि मुलुक भरिका अस्पताल र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । आशा गरौं सरकारी निर्देशन पालना हुन्छ । ओइशोलेशन, बेड,अक्सिजन,भेन्टिलेटरको आभाव नहोस् । हामीले संघीयता अभ्यास गर्न थालेको चार वर्ष हुन लागेको छ । तर मुख्यमन्त्रीहरुको हैसियत जिल्ला हांक्ने प्रमुख जिल्ला अधिकारी भन्दा पनि कम छ । प्रदेश प्रहरी नाम दिइए पनि प्रदेश सरकारलाई प्रहरी जवानसम्मलाई परिचालन गर्ने अधिकार छैन । शान्ति सुरक्षाको मांग सिडीयोसंग गर्नु पर्ने अवस्था छ । प्रदेशलाई अझै पनि मुलुकको प्रशासनिक इकाईको रुपमा देख्ने परम्परा कायमै छ । स्थानीय सरकारको परिकल्पनापछिको राजनीतिक दर्शन थियो – गाउँ गाउँमा सिंहदरवार । घरदैलोमा शिक्षा,स्वास्थ्य,भौतिक संरचनाको अनुभूति । तर आमनागरिक मेयर,उपमेयर र वडाध्यक्षको रुपमा सिंह त देखे । दरवारको मज्जा चाहिं लिन पाएनन् । एकीकृत शासन व्यवस्थाले मिथिला, भोजपुरा, अवध, नेवा, राई,लिम्बु लगायतका रैथाने सभ्यतालाई वेवास्ता गर्यो । यी सभ्यताहरुको पहिचानलाई महत्व दिएन भन्ने दह्रो आरोप थियो तर पछिल्ला चारवर्षमा कुन सभ्यताको पहिचान स्थापित भएको देख्नु भएको छ ?

समग्रमा भनौं भने आम नेपाली अझै पनि सरकार खोज्दै छ । मल,विउ,जाडो,गर्मी,वर्षाको वेला सरकार खोज्छ । कोरोनाको प्रकोप बढ्न थालेपछि सरकार खोज्छ । प्रदेश सरकारहरु अधिकार सम्पन्न कहिले बन्ने हो भनेर सरकार खोज्दै छ । मलाई पनि भन्न मन लाग्यो – खोई ! कहाँ छ सरकार ……?

Comment


Related News

Latest News

Trending News