अपडेट 
२०७८ पुष २५, आईतवार ०७:५५

ध्रुबकुमार झा

जनकपुरधाम । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले पैंसठ्ठी हजार पशुलाई खोप लगाएको छ । पशुलाई पूर्ण खोप लगाउने अभियान अन्तर्गत जिल्लाका १८ वटै पालिकाको ६५ हजार गाई भैंसीहरुमा खोरेत विरुद्धको पहिलो चरणको खोप लगाइसकिएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९मा जिल्लाभरिमा १ लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख ईन्द्रदेव साहले जानकारी दिए । बाँकी पशुहरुमा पनि आगामी दुइ महिना भित्रै खोप लगाइ सक्ने केन्द्रले जनाएको छ । गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानको क्रममा जिल्लाका १८ वटै पालिकामा रहेको पशु सेवा शाखा मार्फत खोप लगाउने कार्य जारी रहेको छ । खोप अभियानलाई तीव्रता दिनकै लागि ३६ जना खोपकर्तालाई परिचालन गरिएको र उनीहरुले घर–घरमै पुगेर पनि सेवा दिने गरेका छन् । खोप पूर्णतः निःशुल्क रहेको र खोपकर्तालाई मात्रै पारिश्रमिक स्वरुप एउटा पशुमा खोप लगाए वापत सेवा शुल्क १० रुपियाँ मात्र निर्धारण गरिएको छ । पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालु आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ । खोप लगाएपछि खोरेतको संक्रमण एकदमै न्यून हुने भएकोले खोप अभियानलाई तीव्रता दिइएको छ । जिल्लाभरिकै सबै गाइभैंसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै उनले भने,‘मौसम अनुकुलता र निर्धारित समय अनुसार चौपायामा खोप लगाउने भएकोले सोही पक्रिया अनुसार चिसो सकिएपछि मात्रै दोश्रो चरणको खोप लगाइनेछ।’ गत मंसिरमै खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोग नियन्त्रण प्रयोगशाला काठमाण्डुको तथ्यांकले देखाएको छ । १५ वटा गाइभैंसी तथा ५० वटा बाछाबाछी खोरेत रोगकै प्रकोपले मरेकोले यो रोग अझै फैलिन नदिन तथा सोको पूर्ण नियन्त्रणको लागि खोप अभियानलाई तीव्रता दिएएको हो ।

भाइरसबाट सर्ने भएको हुँदा यो रोग एक पशुबाट अर्को पशुमा हावाको माध्यमले समेत सर्न सक्ने हुँदा केन्द्रले खोरेत विरुद्धको खोप अभियानलाई सरकारले गंभीरताको साथ लिएको छ् । विभिन्न सात प्रकारको भाइरसबाट सर्ने खोरेत रोगको धनुषामा ‘ ओ’ टाइप भाइरसको संक्रमण फेला परेको बताइएको छ । एक पटक लगाएपछि तीन वर्ष सम्म खोप लगाउनु नपर्ने भएकोले खोप अभियानलाई सघाउन किसानहरु आफै पनि संवेनशील भइ कुनै पशु नछुट्ने गरी सहयोग गर्नु पर्ने धारणा पशुविज्ञहरुको छ । खुर फाटेका चौपायामा लाग्ने खोरेत रोग लागेपछि मुखमा घाउ भइ खान छोड् नु,थुनमा घाउ हुने लगायतको समस्या पशुहरुमा देखिने र केही दिन पछि मर्ने गरेको तथा यो रोग सरुवा रोग भएकोले एउटा पशुमा भएपछि समूहमा राखिने अर्को पशुमा पनि रोगको प्रकोप फैलिने सम्भावना अत्यधिक भएकोले खोरेत विरुद्धको खोप नै यसको नियन्त्रणको उत्तम विकल्प रहेको छ । खोरेत रोग लागेको आशंका हुने बित्तिक्कै पशुको आवत–जावत तथा चरि चरणको लागि बाहिर निस्कन पूर्णतः रोक लगाउनु पर्ने सुझाव पशुविज्ञहरुले दिएका छन् । रोग लाग्ने बित्तिक्कै किसानहरुले पायक पर्ने पशु सेवा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ । त्यसैगरी भेंडा बाख्रामा लाग्ने पीपीआर रोग विरुद्धको खोप माघ १ गतेदेखि लगाउन सूरु गरिने जनाइएको छ । केन्द्रले चालु आर्थिक वर्षमा १ लाख ३६ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

Comment


Related News

Latest News

Trending News