सप्तरी । कोरोना महामारी फेरि फैलिने त्रास मनमा बोकेर यहाँका मूर्ति कलाकारहरु सरस्वती पूजाका लागि मूर्ति बनाउन सुरु गरेका छन् ।
तर, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि यस पटक सोचे जस्तो व्यापार हुने नहुने चिन्ताले उनीहरुलाई पिरोलेको छ । बिद्याकी देवी सरस्वतीको पूजा यसपटक माघ २३ गते आइतबारका दिन परेको छ । नजिकिंदै गएको सरस्वती पूजाका लागि मूर्तिकारले नगरको सडक छेउ, दलान र भाडाको कोठा लिइ करिब एक दर्जन स्थानमा मुर्ति बनाउनु सुरु गरेका हुन् । तर, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेको र नेपालमा पनि संक्रमित हुनेको संख्या बढ्दै गएपछि मूर्तिकार हरुमा चिन्ता थपिएको हो । विगत पाँच वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका राजविराज नगरपालिका– ५ चन्दन कुमार भन्छन्, महँगो दरमा माटो, पराल, बाँस र रंग लगायतका सामग्री किनेर मूर्ति बनाउन थालेका छौं, तर कोरोनाको तेश्रो लहर फैलिने सम्भावनाले चिन्ता बढाएको छ । ’अहिले ९५ वटा मूर्ति बनाउन सुरु गरेको बताएका उनले भने, ऋण लिएर लगाएको पंूजी र अत्यधिक चिसोका वावजूद मिहिनेत दुबै खेर जाने हो की भन्ने चिन्ताले सताएको छ ।
विष्णुपुर गाउँपालिका–५ गोरगामाका २८ वर्षीय मूर्तिकार श्यामकुमार मुखियाले पनि राजविराजको अदालत रोडमा एउटा कोठा १० हजार महिनाको दरले भाडामा लिइ सरस्वतीको मूर्ति बनाउन सुरु गरेका छन् । उनले ५५ वटा मूर्ति बनाउन सुरु गरेका हुन् । तर, उनको पनि चिन्ता मूर्तिकार चन्दन जस्तै छ । उनी भन्छन्, विद्याकी देवी सरस्वतीको पूजा विद्यालयका साथ–साथै टोल टोलमा हुन्छ, यसका लागि विगतमा थुप्रै अर्डर पनि आउंथे, तर यसपटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको हल्लाका कारण सोचे जस्तो कारोवार होला नहोला भन्ने चिन्ता छ ।


