जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले प्रत्यक्ष निर्वाचन प्रणाली भ्रष्टाचारको मूल जरो रहेको बताएका छन् ।
धनुषा जिल्लाको लालगढमा आयोजित राष्ट्र निर्माणमा हाम्रो उत्तरदायित्व प्रदेश स्तरीय पैरवी कार्यशाला तथा नयाँ बर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री साहले संघीयता आएपछि जनतालाई सहजता भएको उल्लेख गरे ।उनले संघीयता आएपछि बर्दिवासको काम बर्दिवासमै, ढल्केबरको काम ढल्केबर मै हुने गरेका कारण संघीयताले जनतामा सहजता प्रदान गरेको बताए । उनले आलोचकहरुले संघीयताको विरोध गरे पनि घर–घरमा सिंहदरवार आई सकेको र यसलाई कसैले धरापमा पार्न नसक्ने दाबी समेत गरे । जनता र प्रदेश सरकार बीच केही असमझदारीका कारण जनता निराश हुनुपर्ने अवस्था आएको उनले स्वीकार गरे । उनले भने–‘जनताले योजनामा नरहेको काम गर्नकालागि सरकारलाई दवाव दिने गरेका छन् तर, योजनामा नै नरहेको कामलाई सरकारले कसरी अगाडि बढाउन सक्छ ।’ उनले योजनामा रहेका काम सरकारले गर्न समस्या झेल्नु परि रहेको भए पनि जनतामा अहिले निराशा आउनु स्वभाविक रहेको उल्लेख गरे ।
मन्त्री साहले वर्तमान निर्वाचन प्रणालीको कारण यहाँ बढी भ्रष्टाचार हुने गरेका कारण समानुपातिक निर्वाचन प्रणाली मात्रै हुनुपर्ने विचार व्यक्त गरेका थिए । उनले भने–‘ प्रत्यक्ष निर्वाचन प्रणाली धेरै नै महँगो भएका कारण यसलाई खारेज गरी समानुपातिक निर्वाचन प्रणाली लागु गर्नु पर्छ ।’ संघीय सांसद, प्रदेश सांसद वा स्थानीय तहका प्रमुख होस् एक दुइ प्रतिशत मात्रै इमान्दार रहेको उनले दाबी समेत गरेका थिए । उनले निर्वाचनमा अत्यधिक खर्च हुने गरेकोले भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले संघीय सरकारले तत्काल प्रत्यक्ष निर्वाचन प्रणाली खारेज गरेर समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग समेत अघि सारे ।


