अपडेट 
२०७८ पुष २७, मंगलवार ०७:०२

पञ्चायती राजतन्त्रकालमा पौषमहिना राजाहरुको महिना हुने गथ्र्यो । पौष १ गते पञ्चायत व्यवस्था दिवस तथा महेन्द्र जयन्ती, पौष १४ गते राजा विरेन्दको जन्मोत्सव, पौष २७ गते राजा पृथ्वीनारायण शाहको जन्मोत्सव र राष्ट्रिय एकता दिवस । हुनपनि जतिबेला राष्ट्रियताको प्रतिक राजा र राजमुकुट थियो, त्यतिबेला एउटा महिना त के, वर्षभरि नै राजा र उनका भारदार हरुको निम्ती नै थियो । राणाविरुद्धको संघर्ष र प्रजातन्त्रको आन्दोलनमा नेपाली जनताले शहादत दिए, तर ००७ सालमा देशमा प्रजातन्त्र आएपछि राष्ट्रपिता राजा त्रिभूवन भए । राजा त्रिभूवनलाई राणाहरुले खोपीको देउता सरह बनाएर राजकीय अधिकार आफ्ना हातमा लिएर शासन चलाएका थिए । ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा राजा त्रिभूवनको स्वार्थ एकसय चारवर्षदेखी गुमेको राजकीय अभिकार फिर्ता लिनु थियो । देशमा प्रजातान्त्रिकशक्तिहरु जीवन मरणको संघर्ष गरिरहेको बेला उनि भागेर भारत गए ।

नेपालमा प्रजातान्त्रिक अधिकारका विचारहरु र राजनैतिक आन्दोलन र संशस्त्र संघर्ष गर्नेहरु र शहादत दिनेहरु नेपाली काँग्रेस लगायतका राजनीतिक पार्टीहरु थिए । यस अर्थमा नयाँ राजनीतिक परिवर्तनमा राष्ट्रपिताको श्रेय कुनै प्रजातान्त्रिक विचारक वा राजनेताले पाउनु पर्ने थियो । जसरी विश्वका अन्य देशहरुमा स्वतन्त्रता र राजनैतिक अधिकारको निम्ती सफल आन्दोलन र क्रान्तिका नेतृत्वगर्नेहरुलाई जनताले यसप्रकारका सम्मानपूर्ण उपाधि दिने गर्छन् । छिमेकी भारतमा महात्मा गान्धी तथा बाङ्गलादेशमा शेख मुजिबुर्रहमानलाई ती देशहरुका जनताले राष्ट्रपिताको रुपमा स्नेहपूर्वक सम्मान दिएका छन् । उनिहरुले आ–आफ्नो देशमा स्वतन्त्रताको निम्ती आफ्नो सर्वस्व त्याग गरेका थिए, अनेक दुःख कष्ट झेलेका थिए, तथा जनआन्दोलन र संघर्षको नेतृत्व गरेर सफलतासम्म पु¥याएका थिए । हामी कहाँको राणाशाही विरुद्धको संघर्षमा राजा त्रिभूवनले मौका पारेर राजदरबार छाडेर भारत पलायत गर्नु बाहेक अरु केही गरेका थिएनन् । उनले त प्रजातान्त्रिक आन्दोलनमा लागेको भनेर काठमाँडौँमा गंगालाल सहित चारजनालाई गोली ठोकेर र झुन्ड्याएर राणाहरुले मारेको घटनामा चूँसम्म बोल्ने साहस गरेनन् । तरपनि जब राणाशासन ढल्यो र उनि भारतबाट नेपाल आए,देशको राष्ट्रपिता उनिनै भए । यस्तो किन भयो भने त्यतिबेलाको प्रजातन्त्रमा सबैभन्दा उपल्लो सिंहासन राजाको नै थियो । सत्ता सञ्चालनको कमान आफ्नो हातमा आउने आकर्षणको बाध्यात्मकतामा त्यतिबेला नेपाली काँग्रेसले राजा त्रिभूवनको मायालू र स्नेही बिम्बको प्रचार गरेपनि यथार्थमा प्रवृत्तिगत् रुपमा त्रिभुवन भित्रबाट एउटा निरङकुश राजा नै थिए, जस्को निम्ती रैतीहरुको भूमिका दास र राजाको जयकजयकारभन्दा बढी हुँदैन । नेपाली काँग्रेस र केही अन्य लोकतान्त्रिक बुद्धिजीविहरुको नजरमा अहिलेपनि राजा त्रिभूवन प्रजातान्त्रिक र राजा महेन्द्र तानाशाह चरित्रका छन् । तर ऐतिहासिक दृष्टिले यो भ्रमपूर्ण विचार मात्र हो । यथार्थमा चरित्रगत दृष्टिले ज्ञिभुवन र महेन्दमा खासै भिन्नता छैन ।समय र परिस्थितिको फरक मात्र हो । प्रजातान्त्रिक शासनको शरुआत भएको केही अवधि पश्चात नै राजा त्रिभुवनको यो चरित्र उदाङ्गो भयो ।

००७ सालमा राणाशाही ढलेपछि अबदेखी विधानसभा (अर्थात सम्विधानसभा)ले तय गरेको व्यवस्था अनुसार देश गणतन्त्रात्मक हुने घोषणा त्रिभुवनले गरेका थिए । तर परिस्थिति अनुकूल देखेर २०१०सालमा उनले नै राजकीय अधिकार आफूले पुनः ग्रहण गरेको घोषणा गरे । यसैमा टेकेर, ०१५ सालमा त्रिभुवनको मृत्युपछि राजा बनेको महेन्द्रले ‘ विधानसभा’को निर्वाचन गराउने घोषणालाई लत्याएर एकैचोटी संसदको चुनाव गराउन सफल भए । यसलाई सत्तालोलुपता नै भन्नु पर्छ कि नेकाले यस्को विरोध गर्ने साहस गरेनन् । र, यसैको परिणाम ०१७ सालमा राजा महेन्द्रले सैन्य बलमा जननिर्वाचित संसद र दुई तिहाई मतले निर्वाचित नेकाको सरकारलाई बर्खास्त गरेर पञ्चायती प्रजातन्त्रको नाममा निरङ्गकश राजतन्त्र नेपाली जनतामा थोपर्न सफल भए । देशको समग्र परिचय राजामा सीमित भएको पञ्चायतकाल मै हो । यस अर्थमा राजा महेन्द्र शाहवंशीय राजाहरुमा सबैभन्दा कुशाग्र थिए भन्नु अनुचित हुँदैन । वस्तुतः पञ्चायती व्यवस्थाभन्दा पहिले पृथ्वीनारायण शाहपनि एउटा सामान्य राजा नै थिए । राजा महेन्द्रले शासनको सम्पूर्ण शक्ति आफूमा सीमित गरेपछि, उनले राजपरम्परालाई देवत्वकरण गरेर जनताको मनोमस्तिष्कमा बसालेर राजशाहीलाई सुदृढ बनाउने तानाबाना बुने । पृथ्वीनारायण शाहलाई ‘बडामहाराजाधिराज’को सम्बोधन तथा उनको राज्य विस्तारीकरणलाई नेपाली एकीकरणको दर्जा र नेपालको अस्तित्व जोगाएको जस्तो ऐतिहासिक भ्रम राजा महेन्द्र आश्रित इतिहासकारहरुले गढे । यसै भ्रमित ऐतिहासिक तथ्यको आधारमा पृथ्वीनारायण शाहको जन्मदिवसलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने चलन उनले चलाए । यथार्थ के हो भने पृथ्वीनारायण शाह आफ्ना समयका चतुर राजा थिए, जस्ले त्यतिबेलाको साना राज्यहरुलाई जीतेर केन्द्रिकृत राज्यको निर्माण गरे । जहाँसम्म राष्ट्रिय एकताको विषय छ, समाज शास्त्रीयरुपमा समान भाषा, समान भूगोल, समान आर्थिक जीवन र समान मनोविज्ञान भएको समुदायलाई राष्ट्र भनिन्छ । भावनात्मक दृष्टिले राष्ट्र भनेको सबैले समानरुपमा हार्दिकता, अपनत्व र स्वामित्व अनुभूत गर्ने भावना हो ।यी दुबै दृष्टिलेपनि पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतिक ठहर्दैनन् । पृथ्वीनारायण शाहले खडाले गरेको शाहवंशीय राज्यमा उनको वंश, भारदारहरु र उनको पुख्र्यौली राज्य गोर्खामा बोल्ने भाषा, धर्म (पहाडिया हिन्दु), र सँस्कृतिको वर्चस्व थियो । यस राज्यमा उनले कब्जा गरेका राज्यहरुको भाषा, सँस्कृति तथा हिन्दु बाहेकका बौद्ध, किराती, मुस्लिम, तराई मधेशका विविध सँस्कृतिहरु, भाषाहरु तथा जनसमुदायहरु दोयम र अपहेलित नै थिए ।

देशलाई हिन्दु राष्ट्र (पृथ्वीनारायणले ‘असिल हिन्दोस्थान’ भनेका थिए) भनिएपनि गोर्खाली खस समुदाय नजिकका पहाडिया बाहेकका सबै भेदभावका सिकार नै थिए । तराई मधेशमा त अन्य धर्मावलम्बी त के हिन्दुहरुसमेत बहुआयामिकरुपमा उपेक्षित र विभेदमा थिए । शाहवंशी राजाहरु साँस्कृतिकरुपमा खस सँस्कृतिका हिस्सा थिए, तर शाहवंशीय राज्य परम्परा बाहेका अन्य खसहरु पनि यस राज्यमा उपेक्षित नै थिए । पश्चिम नेपालमा हुम्ला जुम्ला, दैलेख, जाजरकोट लगायत खसान क्षेत्रका पराजित राजामात्र होइन, त्यताको खस भाषा समेत उपेक्षित नै थियो । शाहवंशीय शासनकालमा गोर्खाली राजा निकटका पण्डित, पुरोहित, इतिहासकार, तथा विद्वानहरुको संसर्गमा विकसित ‘नेपाली’को हैसियत तथा पश्चिम नेपालमा बोलिने खस भाषाको अविकसितपनालाई तुलना गरेमा यो भाषागत् उपेक्षाभाव सहजै बुझ्न सकिन्छ । स्वाभाविकरुपमा, यस परिप्रेक्ष्यमा पृथ्वीनारायणलाई प्रतिक बनाएर खडा गरिएको राष्ट्रियताको घेरामा शाहवंशीय राष्ट्रियता बाहेक अरु कोही पर्दैनन् । तपाँईले पञ्चायतकालीन राष्ट्रियताको प्रतिकहरु सम्झिनु भयो भने, त्यसमा पहाडिया हिन्दुत्व र राजा बाहेक अरु केही थिएन भन्ने सहजै बुझ्न सक्नु हुन्छ । राष्ट्रियताको प्रतिक पहाडको एउटा राज्य गोर्खाका राजा पृथ्वीनारायण शाह थिए, राष्ट्रगान राजाको स्तुति र स्वस्तिकामना थियो (श्रीमान गम्भीर …राखुन चिरायु ईशले, पुकारौँ जय प्रेमले, हामी नेपाली साराले), राष्ट्रिय फुल लालीगुराँस पहाडमा फुल्थ्यो, राष्ट्रिय पन्छी डाँफेपनि उच्च पहाडमा नै पाइन्थ्यो,आदि–आदि । यसो भनिरहँदा लेखकको उद्देश्य वर्तमानमा क्षेत्रीय कटुता जन्माउनु होइन कि, शाहवंशीय शासकहरु, विशेषगरी पञ्चायती शासकहरुले नेपाली जनताबीच शासकीय सँस्कृतिको दम्भ सिर्जना गरेर साँस्कृतिक विभेद र फूट सिर्जना गरेर निरङकुश राज्य कसरी चलाएका थिए भन्ने देखाउन खोजिएको मात्र हो । पञ्चायती शासकहरुले स्थापित गरेको राष्ट्रिय सँस्कृति भनेको भूगोलमा पहाड, पहाडमा पनि गोर्खाली ; हिन्दु, हिन्दुमा पनि पहाडिया हिन्दु उच्च जातिय खस, खसमापनि गोर्खाली ; ब्राह्मण, ब्राह्मणमा पनि पहाडिया बाहुन अझ गोर्खाली शाहवंशीय राज्यनिकटका बाहुन ; भाषा संस्कृतमिश्रितपरिमार्जितखस (नेपाली) थियो । गणतन्त्रको स्थापनापछि त इतिहासका फरक भाष्यहरुपनि बहसमा आउन थालेका छन्, तर राजा महेन्द्रले सिर्जना गरेको अतीतमुखी तथा शाहवंशीय राजाहरुको पुर्खा तथा भारदार सेनापतिहरुको बहादुरीले भरिएको राजकीय संस्कृतिमाथी गर्व गर्ने छन् । अब त यो चुनावी राजनीतिमा भोट बैंक निर्माण गर्ने उत्तेजनात्मक र भावनात्मक हतियारको रुपमा प्रयोग भइरहेको घातक र आत्मघाती स्थिति छ ।

अहिलेपनि विद्यालय र विश्वविद्यालयमा पढाइने इतिहासका पुस्तकहरु शाहवंशीय राजाहरुको बहादुरी र प्रशंसाले भरिएका छन् । पञ्चायतकालमा विकसित इतिहासमात्र होइन, समाजशास्त्र, राजनीति, नागरिकशास्त्र तथा नैतिकशिक्षाले स्थापित गरेको राष्ट्रिय सँस्कृति माथी उल्लेखित घेरा भित्रै थियो । यो एउटा राजकीय सँस्कृति थियो, जस्लाई एउटा कालक्रममा तथा शासनको श्रेष्ठताको दृष्टिले तराईमापनि बक्सीसमा जमिन्दारी पाएका स्थानिय शासकहरुले गुणगान गर्नु तथा यसको हिस्सा बनेर गर्व गर्नु स्वाभाविक नै थियो । अब लेखलाई बिट मार्ने तिर जाउँ ! उपर्युक्त समग्र सन्दर्भ वर्तमानको गणतान्त्रिक सन्दर्भसंग कतिपनि मेल खाँदैन । किनभने यो गणतन्त्र पञ्चायतीकालमा विकसित राजकीय सँस्कृति र शासनको विरुद्ध नेपाली जनताले अथक संघर्ष र शहादतपछि पाएका हुन् । यस संघर्षमा नेपालका सबै धर्म, जाति, सँस्कृति र समुदायहरुले साझा योगदान गरेका हुन् । त्यसैले यो भौगोलिकरुपमा थोर बहुत भिन्नताका साथ पृथ्वीनारायण शाहले खडा गरेको केन्द्रिकृत नेपालसंग समानता राखेपनि राजनैतिक र राष्ट्रियताको रुपमा फरक राज्य हो । यस राष्ट्रमा तराई मधेश, हिमाल र पहाड सबैक्षेत्रका सँस्कृति, धर्म र समुदायले साझा स्वामित्व अनुभूत गरिरहेका छन् । त्यसैले वर्तमान राज्यबाट भेदभावमा परेको समुदायले अधिकारको निम्ती राज्यको विरुद्ध आवाज उठाउँछ र संघर्ष गर्छ । समग्रमा यस नयाँ राष्ट्रको साझा प्रतिकयस देशमा बस्ने जनता तथा सबै सँस्कृति हुन् ।पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर खडा गरिएको राष्ट्रियतामा कुनै एकल धर्म, सँस्कृति, भाषा र भौगोलिक भावना बाहेकका अरुको पहिचान र अस्तित्व निषेधित थियो । यस्तोमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा प्रस्तुत गर्नु कपटपूर्ण भ्रम र प्रतिगामी राजतन्त्रलाई निम्त्यिाउनु हो । तर केही भ्रमित तथा केही पुनरोत्थानबादीशक्तिहरु इतिहासमा बदनाम राजतन्त्रलाई धार्मिक संकीर्णतासंग जोडेर यस्तै प्रयास गरिरहेका छन् । यी प्रतिगामीशक्तिले संकीर्ण धार्मिकतालाई हतियार बनाएर भावनात्मक उत्तेजना फैलाएर अस्थिरता फैलाउन चाहन्छन् । यसबाट बच्न जरुरी छ । निश्चय नै वर्तमानमा यस गणतन्त्रका सञ्चालकहरु सत्ता लोलुपतामा परेर जनताका अपेक्षाहरु बिर्सेका छन् र भ्रष्टचारमा चुर्लुम्म डुबेका छन् ।

राज्यको जनवादी चरित्र बचाउन तथा एउटा श्रमजीविवर्गीय राज्यव्यवस्थार निर्माण गर्न उत्पीडित वर्ग र समुदायको अग्रगामी संघर्षको आवश्यकता छ । तर जनताको साझा संघर्षबाट स्थापित गणतन्त्रमा पृथ्वीनारायण शाहलाई एकताको प्रतिक मानेर उनको दिवस मनाउनु हास्यास्पद र विडम्बनापूर्ण छ । यो गणतन्त्र र जनताको राज्य निर्माणको निम्ती संघर्ष गर्ने नेपाली जनता तथा शहिदहरुको अपमानपनि हो । सचेत होउँ, सोँचौँ ।

Comment


Related News

Latest News

Trending News