अपडेट 
२०७८ पुष २८, बुधबार ०६:२३

अहिले पाँच छ महिना राम्ररी विद्यालय चल्न नपाउँदै फेरि बन्द गरिएको छ । विद्यालय बन्द गरिनुलाई नकारात्मक भनेर धेरै नै टिप्पणी गरिएका छन् । यस प्रकारले नकारात्मक टिप्पणी मुख्य गरी सरकारको हरेक निर्णयलाई कुनै न कुनै तरिकाले नराम्रो भन्नुपर्ने मनोविज्ञान भएकाहरुबाट भएको छ । संस्थागत विद्यालयका सञ्चालकहरुले पनि यस निर्णयको करिब करिब विपक्षमा नै देखिएका छन् । विद्यालय बन्द गर्नलाई सरकारको एउटा अंगले निर्णय गरेपछि जुन क्षेत्रबाट नकारात्मक प्रतिक्रिया आएका थिए वा छ । ती क्षेत्रले अहिले पनि बजारमा मानिस कसरी हिँडिरहेका छन् वा विद्यालय सञ्चालनमा रहँदाको बखतमा कोरोनाको कुनै गाइड लाइन परिपालन गरेका थिए वा थिएनन् भन्ने विषयमा खासै कहिल्यै चासो राखेको देखिएको थिएन । सामुदायिक विद्यालयमा पढ्ने बालबालिका त वास्तवमा गरिबका छोराछोरी हुन्छन् । यो नै त पूर्ण सत्य होइन तर यस कुरालाई पनि यदि आधार मान्ने हो भने सामुदायिक विद्यालयमा धेरै विद्यार्थी हुन्छन् । धेरै विद्यार्थीमध्ये धेरै चाहिँ गरिबका छोराछोरी नै हुन्छन् । गरिब हुनु भनेको तुलनात्मक रुपमा शिक्षित नहुनु पनि हो । स्वास्थ्यप्रति उतिसारो जागरुक हुन नसक्नु पनि हो ।

यदि कोही कोरोना संक्रमित कुनै विद्यालयमा आउँछन् र उनीबाट दुई तीन दिनमै आफ्नो कक्षा हुँदै विद्यालयमा र विद्यालयबाट समुदायमा फैलिन नसक्ला भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसो त कोरोनाको संक्रमण विद्यालयबाटै मात्र हुन्छ भन्ने होइन । तर पनि विद्यालय चाहिँ यसको हब नहोओस् नै भनिएको यसकारण पनि हो कि यदि गरिब परिवारको घरमा कसैलाई कोरोना संक्रमण हुन पुग्यो भने त्यहाँ त अभाव छ चेतना र धन दुवैको । त्यहाँ उपचारको अवस्था कस्तो होला ? यस विषयमा खासै सोच्न सकिएको छैन । हो, अहिलेको संक्रमण धेरै तीव्र छ भन्ने कुरा विस्तारै सबैले बुझ्दै गएका छन् । भारतमा एक हप्तामा नै कोरोना संक्रमणको विस्फोट भएको खबरले शिक्षित समुदाय, सम्पन्न वर्ग र सहरका मानिस केही हदसम्म सतर्क हुन थालेका छन् । तर विपन्न समुदायमा यही कुरा पुग्न परिपालन गर्न समय लाग्छ । तर रोग वा महामारीले त कसैलाई पनि रोक्दैन । हाम्रो देशका प्रधानमन्त्री पनि आइसोलेटेड भए किनभने त्यहाँ चेतनाको उच्चता छ तर यही कन्ट्याक्टमा परेका कोही विपन्न आइसोलेटेड हुने विषयमा सोच्न सक्दछन् ? देशका चर्चित दुई नेतामा कोरोना संक्रमणको खबर आयो । त्यसले सहरमा र केही नेतामा सचेतना पनि ल्यायो कि अब सचेत हुनु जरुरी छ तर त्यस खबरले सामुदायिक विद्यालयका उही विपन्न वर्गका बालबालिकामा खासै कुनै असर गरेको देखिएन । यदि कुनै माध्यमले विद्यालयमा त्यसरी कोरोना प्रवेश गर्दछ भने समुदायमा पुग्न कुनै बेर लाग्दैन । कोरोना केही पनि होइन भन्नेहरु पनि नभएका होइनन् तर गत वर्ष लापरवाही गर्नेहरुमा गम्भीर समस्या देखापर्दा बल्ल थाहा भयो । अहिले पनि कसैको घर परिवारमा यदि कोरोना संक्रमण भइरहेको छ भने त्यस घरपरिवारलाई थाहा हुन्छ कि कति धेरै पीडा र परेसानी हुन्छ । जसको घरमा एउटै वा दुईटा कोठा छन्, संयुक्त परिवार छ, सबै जना एकै ठाउँमा बस्नुपर्ने हुन्छ र आइसोलेटेड हुने ठाउँ छैन । यदि यस किसिमको अवस्था भएको घरपरिवारमा कसैलाई कोरोना संक्रमण भयो भने कत्तिको गाह्रो हुन्छ भन्ने कल्पना त्यसरी नकारात्मक टिप्पणी गर्नेहरुले बुझेका हुँदैनन् सायद वा बुझेर पनि नबुझेको जस्तो गर्न खोज्दछन् ।

अब नेपालमा पनि कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन सुरु भइसक्यो भन्ने खबर आउँदा र हरेक दिन कोरोना संक्रमणको ग्राफ विस्तारै माथि उक्लँदै गर्दा तथा छिमेकमा कोरोना संक्रमणको अवस्था विस्फोटको चरणमा पुग्दा सचेत हुनुपर्ने आवश्यता रहेकोतर्फ सबैले विचार गर्नुपर्ने हो र सरकारले यस दिशामा विचार गर्नै पर्दछ । महामारीले गम्भीर रुप लिनुभन्दा पहिले सम्भव भएसम्मको सचेतना सरकारले अपनाउनुलाई स्वाभाविक मान्नु पर्दछ । देशका सबै नागरिकको सुरक्षा गर्नु सरकारको दायित्वभित्र पर्ने कुरा हो । जहाँ अत्यधिक जोखिम हुन्छ, त्यहाँ झन् बढी सचेतनाको आवश्यकता हुन्छ । अहिले कोरोना महामारीले विश्वका धेरै देश आक्रान्त छ । सरकारले तत्काल लकडाउन गर्ने मनसाय बनाएको पनि छैन । भारतमा दैनिक डेढ लाखभन्दा बढी कोरोना संक्रमण भइरहँदा सरकारले लकडाउनभन्दा बढी भ्याक्सिनेसनतिर ध्यान दिएको देखिन्छ । कतिपय प्रान्त र सहरमा रात्री कफ्र्यु पनि लगाइएको छ । दिनमा हुने भीडलाई पनि सम्भव भएसम्म नियन्त्रण गर्ने प्रयास गरिएको छ । यद्यपि बजारलाई खुल्ला राखिएको छ । यसको मूल कारण अर्थतन्त्रमा प्रभाव नपरोस् भनेर नै हो । यस अवस्थामा पनि के देख्न सकिन्छ भने विद्यालय र विश्वविद्यालयहरु बन्द गरिएका छन् । वैकल्पिक पढाइलाई धेरै महत्व दिएको छ । अनलाइन पढाइ गर्नुपर्ने कुरा उठाइएको छ । तर हामीकहाँ भने विद्यालय बन्दलाई विरोध गर्नेहरुले अनलाइन पढाइलाई महत्व दिएको पाइएको छैन । आधुनिक प्रविधिमार्फत बालबालिकालाई पढाउनु पर्ने कुरामा खासै ध्यान दिएको पाइएको छैन । यसमा यो मनोविज्ञानले पनि काम गरेको हुनुपर्छ कि बालबालिकालाई जसरी पनि घरबाट विद्यालयमा पठाउनु उचित छ र घरमा बालबालिकालाई सम्हाल्न सकिन्न । सरकारको विद्यालय बन्द गर्ने निर्णयलाई नकारात्मक मान्नेहरुले विद्यालय बन्द भए पनि कसरी हुन्छ अनलाइनमा सबै कक्षा पहिलेको जस्तै संचालन गर्नुपर्छ र सबै विद्यालयको हाजिरी पनि सम्बन्धित निकायले राख्नु पर्छ भनेर आवाज उठाउन सकेका छैनन् । हो, अनलाइन कक्षा संचालन गर्दा पनि कुन शिक्षकले के पढाए र कुन कुन विद्यार्थी कक्षामा उपस्थित थिए भन्ने कुरो देखाउन सकिन्छ वा हेर्न सकिन्छ । को कुन कक्षामा उपस्थित थिएन वा को कुन कक्षामा उपस्थित थिए भन्ने अनुगमन गरेर अनुपस्थितलाई उपस्थित गराउने वातावरण मिलाउनतिर कसैको ध्यान गएको छैन । विगतमा अनलाइन कक्षाको अभ्यास नभएको होइन ।

बजार तथा काँठ क्षेत्रका केही संस्थागत वा सामुदायिक विद्यालयले अनलाइन कक्षाको अभ्यास गरेका हुन् तर यसको अनुगमन कतैबाट भएन । विद्यार्थीको उपस्थिति र अनुपस्थितिलाई महत्व दिइएन । यसले गर्दा यो पूर्णतया निष्प्रभावी भएको निष्कर्ष अनलाइन कक्षा चलाउनेहरुले नै निकालेका छन् । अनलाइन कक्षा चलाउँदा विद्यार्थी र शिक्षक प्रत्यक्ष कुराकानी गरेजस्तै पनि हुन्छ । अनलाइनको नियन्त्रण गर्ने कक्षमा हाजिरी पनि बनाउन सकिन्छ र उपस्थित नहुने विद्यार्थीलाई उपस्थित गराउने उपाय अपनाउन सकिन्छ । विज्ञान र प्रविधिले फड्को मारिरहेको समयमा किन भौतिक उपस्थितिको जोखिमपूर्ण कक्षा संचालनलाई बढी महत्व दिइएको होला । फेरि सामान्य अवस्था भएपछि सामान्य रुपमा भौतिक उपस्थितिमा कक्षा संचालनको वातावरण हुन सक्छ । धेरैको तर्क हुन सक्छ कि सबै ठाउँमा नेटवर्क छैन र सबै बालबालिकाको घरमा मोबाइल छैन । यसको विकल्प पनि खोज्नु पर्ने हुन्छ । नेटवर्क नभएको ठाउँमा नेटवर्क पु¥याउन दबाब दिनुपर्छ, पहल गर्नुपर्छ, पहल गर्न लगाउनु उचित हुन्छ । मोबाइलको सन्दर्भ भने केही पृथक हो । सबैको घरमा मोबाइल नहुनु स्वाभाविक हो तर अहिले सरकारले पच्चीस जनासम्म एक ठाउँमा बस्न सक्ने अवस्थालाई स्वीकार गरेको छ । यदि गाउँमा वा टोलमा मोबाइल छ भने दुई वा चार पाँच जनासम्म एक ठाउँमा बसेर एउटै मोबाइलबाट पढ्न सकिन्छ । साथीको सहयोग लिन सकिन्छ । यदि यस किसिमको सहयोग हुन्छ भने विद्यार्थीको पढाइ रोकिँदैन र जहाँसम्म संस्थागत विद्यालयको सबाल छ, माथिको मान्यताअनुसार संस्थागत विद्यालयका अधिकांश विद्यार्थी हुनेखाने वर्गबाट आउँछन् । यसरी हुनेखाने वर्गको घरमा इन्टरनेटको पहुँच हुन्छ र मोबाइल तथा कम्प्युटर पनि हुन्छ । मोबाइल र कम्प्युटरमार्फत घरैमा बसी अनलाइन कक्षामा पढ्न पाउँछन् । अनलाइन कक्षा संचालनको बिल पहिले अर्थात् कोरोनाको पहिलो र दोस्रो लहरमा पनि कतिपयले संस्थागत विद्यालयले लिएकै छन् ।

अहिले पनि सरकारले धेरैतिर विचार गरेर कोरोनाको कनेक्सनलाई कम गर्न र सरकारले एक वर्षमा विद्यालयलाई दिने विदाबाट कट्टा हुने गरी सोही विदाको दिनलाई गणना गरेर विदा दिएको हो । अहिले सरकारले विदा भनेकोले विद्यालय बन्द भन्न पनि त्यत्ति राम्रो मान्न सकिन्न । हो, यसपछि यदि यसलाई लम्ब्याइन्छ भने कुन नाम दिइन्छ, त्यसलाई पर्खिनु उचित हुन्छ । अहिले नै टिप्पणी गर्नु हतार हुन्छ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने बानी धेरैको हुन्छ । हामीले यस्तो बन्नु हुँदैन । हामीभन्दा धेरै विकसित देशहरुले प्रविधिमा आधारित शिक्षण क्रियाकलापलाई अगाडि बढाएका छन् । अहिलेको समयमा प्रविधिलाई बढी महत्व दिनु उचित हुन्छ । हामीभन्दा विज्ञान र प्रविधिका साथै भौतिक विकासमा अगाडि रहेका देशहरुले पनि यस्तो अवस्थामा केही दिनको लागि विद्यालय बन्द गर्ने गरेका छन् र वर्तमान पनि गरेका छन् । अलिकति टोलछिमेकमा हेरौँ त । कोही यदि दुई चारजना एकैसाथ बिरामी हुन्छन् भने कस्तो सोचाइ हुन्छ हाम्रो । यदि कुनै परिवारमा एकैसाथ चार पाँच जना बिरामी हुन्छन् भने त झन् हामी बढी सतर्क हुन पुग्दछौँ । हो, अहिले देशमा हरेक दिन कोरोना संक्रमण बढिरहँदा देशले सतर्कता अपनाउनु उचित हो । देशलाई हरेकले सहयोग गर्नु उचित हुन्छ । बरु सबै मिलेर देशमा कोरोनाको संक्रमण कसरी कम गर्न सकिन्छ, कसरी गर्दा यसको विस्तार हुन पाउँदैन र कसरी गर्दा यसबाट देशलाई आर्थिक लगायत कुनै पनि क्षेत्रमा क्षति हुन पाउँदैन भन्ने पक्षतिर पनि विचार गर्नु आवश्यक छ र फेरि पनि विद्यालय बन्द हुनुपर्ने वातावरण नहुनलाई हामी सबैले वा समाजले के गर्न सक्दछौँ, यस विषयमा पनि विचार पु¥याउनु आवश्यक छ ।

यदि अहिले विचार पु¥याउन सकिएन भने ढिलो हुन सक्छ । यसभन्दा अझ बढी कोरोना फैलिन सक्छ । कोरोनाको विस्तार बढी हुन गयो भने विगतका दुई वर्षको अनुभूति हामीले भोगेका छौँ । गत दुई वर्षमा शैक्षिक क्षति पनि धेरै भएको छ । आर्थिक क्षति पनि धेरै भएको छ । यसरी जनधनको क्षति नहोओस् भनेर सचेत हुनु ज्यादै जरुरी छ । अहिलेको समय फेरि सचेतनाको समय हो । यद्यपि डराउनु भने हुँदैन । मनमा डर नपाली सचेत हुनु आवश्यक भइसकेको छ । शिक्षित समुदाय तथा आफूलाई समाजको अगुवा ठान्नेहरुले अहिलेको अवस्थामा बढी सचेत रहेर अरुलाई पनि सचेत रहने सन्देश दिनु अत्यावश्यक छ । सचेतना त समयको माग भइसकेको यथार्थलाई स्वीकार गनुपर्छ ।

Comment


Related News

Latest News

Trending News