२०७८ पुष २८, बुधबार ०६:२५

गौर । भुमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख र कर्मचारीहरुले अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

जग्गा रजिस्ट्रेसन , मोही नामसारी , मोही लगत कट्टा सहितको कामको गराउन जाने सेवाग्राहीहरु संग सरकारी दस्तुर भन्दा अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुको गुनासो छ । पुस मसान्त सम्ममा मोही जग्गा बाँटफाँट गर्नु पर्ने नेपाल सरकारको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथा विभागको निर्देशन रहेको भन्दै कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले आर्थिक रुपमा लाभ उठाउने नियतले धमाधम जग्गाको मोहियानी हक बाँडफाँट गर्ने गरेको बुझिएको छ । लेखनदास तथा बिचौलिया मार्फत कार्यालय प्रमुख उप्रेतीले प्रति कठ्ठाको दरले रकम लिने गरेको सेवाग्राहीहरुको आरोप छ । पुस २५ गते राम जानकी मन्दिरको नाउँमा रहेको जग्गाको आधि– आधि हुने गरी भएको मिलापत्रमा पनि मोही संग ५० हजार रुपैयाँ लिएको बुझिएको छ । मोहीले लेखनदासले हाकिमलाई दिनु पर्छ नदिए काम नहुने भने पछि ५० हजार रुपैयाँ दिएको बताएका छन् । लेखनदासले ८० हजार रुपियाँ मागेकोमा ५० हजार भन्दा बढी दिन नसकिने भनेको उनले जनाए । मालपोत कार्यालयको वरिपरि कार्य गर्ने केही लेखनदासले हाकिम आफ्नै पक्षको रहेको भन्दै सेवाग्राहीहरुसंग रकम लिने र पछि कार्यालय प्रमुख सुब्बा , खरिदारलाई भागवण्डा गर्ने गरेको स्रोतको दाबी छ । घरवासको जग्गामा मोही लाग्न नसकिने कानूनी प्रावधान रहे पनि कार्यालय प्रमुख उप्रेतीले स्थानीय दुर्गा भगवती गाउँपालिका–४ साबिक पँचरुखी छतौनाको एक जनाको घरवासको जग्गामा मोही कायम गरी बाँड फाँड गरिदिएका छन् । मालपोत कार्यालयमा राजश्व भन्दा बढी रकम नदिए कर्मचारीहरुले काममा आलटाल गर्ने ,हैरानी गर्ने गरेको स्थानीय किशोरी यादवले बताएका छन् ।

कार्यालय प्रमुखमा उप्रेती आएदेखि रकमी चलखेल बढेर गएको छ । कार्यालयमा तीन÷चार जना दिनभरि बस्ने र सेवाग्राहीसंग रकमको बार्गेनिग गर्ने गरेको बुझिएको छ । बाहिर पनि र फाँटमा कार्यालय बाहिरको व्यक्ति बस्ने गरेको भए पनि कार्यालय प्रमुख उप्रेतीले त्यस तर्फ कुनै चासो देखाउन नसकेको कारण कार्यालयमा यस्ता किसिमको विकृति बढेको हो । कार्यालय प्रमुख उप्रेतीले कर्मचारीको अभाव रहेको अवस्थामा कामको बढी चाप भएको बताउँदै मेरो नाउं बदनाम गर्ने उदेश्यले भ्रम फैलाउने कार्य भइरहेको दाबी गरे । ३० गते सम्म मोही बाँडफाँट गर्नु पर्ने मन्त्रालयको निर्देशन रहेकोले मोहीको हक स्थापित गर्ने कार्य गर्ने गरेको बताए । मोहीयानी मुद्दामा राजनीतिक दवाव पनि आउने गरेको बताउंदै प्रमुख उप्रेतीले सरकारी दस्तुर भन्दा बढी रकम कसैले मागे म समक्ष उजुरी गर्न सेवाग्राहीहरुलाई आग्रह गरे । उनले कार्यालयका कर्मचारी , लेखापढी गर्ने व्यक्तिले काम गराउन बढी रकम मागेमा नदिन सुझाव समेत दिएका छन् । मालपोत कार्यालयमा जग्गा खरिद र विक्री गर्न आउनेलाई कर्मचारीहरुले हैरान गर्ने तथा लेखनदासको मार्फत छिटो गर्ने परिपाटी पहिला देखि नै रहेको छ ।

Comment


Related News