अपडेट 
२०७८ पुष २८, बुधबार ०६:३४

राजविराज । गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमित भएका छन् । चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसंगै स्थानीयमा पनि कोरोनाको त्रास फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुइ पुगेको छ । दुई दिनअघि पनि भारतीय सीमासंग जोडिएको तिलाठी कोइलाडीकी एक ६० वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित दुबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । जिल्लामा लामो समयपछि दुइ जनामा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास फैलिएको हो । यता जिल्लाभरिमा ५० प्रतिशत व्यक्तिले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथिका करिब ४ लाखले कोभिड–१९ विरुद्धको खोप लगाएको जनाए । त्यसमा पनि पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् । उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारी रहे पनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको जनाउंदै चिन्ता व्यक्त गरे । ‘सुरु–सुरुमा खोप केन्द्रमा भीड व्यवस्थापन गर्न हम्मे पर्दथ्यो, तर अहिले खोजीखोजी लगाउनु पर्ने अवस्था छ ’,उनले भने । ‘ खोपसहितको टोली वडा–वडामा खटिएका छन् तर खोप लिन आउनेको संख्यामा निकै कमी देखिएको छ ’,उनले प्रष्ट गरे । उनले मंगलबारसम्ममा सप्तरीका १८ वटै स्थानीय तहका स्वास्थ्य चौकीहरुमा २५ हजार खोप स्टकमा रहेको जानकारी दिंदै खोप लिन बाँकी रहेकाहरुलाई खोप लिनका लागि प्रोत्साहन गरिरहेको बताए ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जीत झाले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिएको जानकारी दिएका छन् । अस्पताल परिसरमै अक्सिजन प्लान्टको स्थापना गरी उत्पादन सुरु गरिसकेको बताउंदै प्लान्टबाट २४ घण्टामा ९० देखि १ सय २५ सिलिण्डरसम्म उत्पादन हुने डा.झाले बताए । यस प्लान्टमा हुने उत्पादनले कोरोनाका बिरामीका लागि अक्सिजनको कमी नहुने उनले दाबी समेत गरे । यसका अलावा लिक्विड अक्सिजन ट्याङ्क, भेन्टिलेटर, आइसियु लगायतका पूर्वाधार पनि तयारी अवस्थामा राखिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेकोले सीमा नाकामा कडाई गर्न र हेल्थ डेस्क मार्फत स्वास्थ्य परीक्षण लगायतका गतिविधि प्रभावकारी ढंगले अघि बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

सर्लाही

यसैबीच सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गरिएको थियो । सोमबार साँझ दुबै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेशनमा रहेर उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जनाए ।

Comment


Related News

Latest News

Trending News