जनकपुरधाम । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि विशेष समितिको प्रतिवेदन प्रदेश सभामा आइतवार पेश हुने भएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नाम र राजधानीमा सहमति जुटाउन सकेन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्राथमिकतामा नपरहेको नाम र राजधानीको प्रस्तावलाई प्रदेश सभाबाट पारित गराउन सत्तारुढ दलहरुबीच मतभेद छ । ‘मधेश प्रदेश’नामकरण गर्न सत्तासीन जनता समाजवादी पार्टी(जसपा) र नेकपा माओवादी केन्द्र सहमत छन् ।प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पनि समर्थन जनाएको छ ।तर सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस)ले मधेश प्रदेशको विरोधगर्दै नामको छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
जसपा, लोसपा र माओवादी केन्द्रले ल्याएको प्रस्तावलाई पारित गर्न ७ जना सभासदको समर्थन अपुग छ ।मुख्यमन्त्री राउतले इमान्दारीपूर्ण पहल गरे त्यो पुग्ने संभावना रहेको सभासदहरु बताउँछन् । नेपाली कांग्रेसले आधिकारिक रुपमा राखेको ‘मिथिला–भोजपुरा प्रदेश’मा सो पार्टीका सभासदहरु विभाजित छन् ।राजेश्वर साह लगायत पर्साका सभासदहरुले प्रदेशको नाम ‘मध्य मधेश प्रदेश’ हुनुपर्नेमा जोड दिएका छन् ।साहले सो प्रस्ताव प्रदेश सभामा दर्ता पनि गराएका छन् । ‘मधेश प्रदेश’को प्रस्तावलाई रोक्न नेकपा एसले राखेको ‘जानकी प्रदेश ’लाई नेकपा एमालेले पनि समर्थन गरेको छ ।तर नेकपा एसका सभासदहरु नाममा विवाद गर्ने मनस्थितिमा छैनन् ।मुख्यमन्त्रीबाट सकारात्मक प्रयास भए नाममा सहमति जुट्न सक्ने नेकपा एस संसदीय दलका नेता समेत रहेका पर्यटन, उद्योग तथा वन मन्त्री सत्रुधन महतो बताउँछन् । ‘केन्द्र र प्रदेशको गठबन्धनमा रहेका दलहरुबीच मुख्यमन्त्री राउतले इमान्दारीपूर्वक प्रयास गर्नुपर्छ’ उनले भने, मुख्यमन्त्रीले चाहे प्रदेशको नामकरणका लागि सहमति जुट्न सक्छ ।
प्रदेशको नामकरण र राजधानीको विषयमा मुख्यमन्त्रीले सत्तारुढ दलहरुको अलगै बैठक पनि नराखेको आरोप गठबन्धन दलका सभासदहरुको छ ।तर मुख्यमन्त्री राउत भने नामकरण र राजधानी दुवै प्रस्ताव पारित हुनेमा विश्वस्त देखिएका छन् ।‘मधेश प्रदेश’ र जनकपुरधाम राजधानीको प्रस्ताव प्रदेश सभा बैठकबाट पारित हुन्छ’ उनले भने, प्रस्ताव पारित गर्न सभासदहरु सकारात्मक छन् । प्रदेश सभामा विशेष समितिको प्रतिवेदन पेश भएपछि त्यसमाथि आइतवार नै छलफल हुने प्रदेश सभा सचिव रञ्जित कुमार यादवले जनाए ।‘नामकरण र राजधानीको प्रस्ताव उपर एकसाथ छलफल हुनेछ’ उनले भने, छलफलको क्रममा पनि सहमति जुट्न सक्ने संभावना विद्यमान रहेको छ ।

