वीरगञ्ज । जनता समाजवादी पार्टी भित्रको आन्तरिक विवाद छताछुल्ल हँुदै गएको छ ।पार्टी विभाजन भएको छ महिना नबित्दै केन्द्रमा सुरु भएको विवाद पर्सा जिल्लासम्म पुगेको छ ।
आइतबार पर्साको जिल्ला समन्वय समितिमा बसेको एक समूहले जिल्ला अध्यक्ष रामनरेश यादवलाई खारेज गर्दै अब्दुल रहिम उर्फ मन्जुर अंसारीको अध्यक्ष्तामा तदर्थ समिति गठन गरेको थियो । बैठकले यसअघिका जिल्ला अध्यक्ष रामनरेश यादवको पद खारेज गरेर जिल्ला तदर्थ समितिको अध्यक्षमा अन्सारीलाई चयन गर्ने निर्णय गरिएको उपाध्यक्ष बासुदेव यादवले जनाए । जसपाका जिल्ला सचिव तबरेज अहमदले निलम्बित केन्द्रीय सदस्य प्रदिप यादवले पुनः फोहरी खेल सुरु गरेको आरोप लगाए । उनले भने,‘केन्द्रीय अध्यक्ष उपेन्द्र यदवजीलाई बदनाम गराउने यो बिवाद सुरु गरिएको हो ।’ कथित बैठक बोलाइ संयोजक चयन गर्ने अधिकार जिल्ला कार्यसमितिको पदाधिकारीको अधिकार विधानमा नभएको उनको दाबी थियो । यता, रामनरेश यादवले पार्टीमा भाँडभैलो मचाउंदै आएका केही व्यक्तिहरुको उक्साहटमा विवाद सृजना गर्ने असफल प्रयास गरिएको दाबी समेत गरे । उनले जिल्ला कार्य समितिसँग आफ्नो पद खारेज गर्ने अधिकार नै नभएको स्पष्ट पारे । ‘समायोजन मार्फत् मैले अध्यक्ष पदको जिम्मवारी पाएको हुँ । प्रदेश र केन्द्रीय कमिटीले मलाई आधिकारिक अध्यक्ष मानेको छ । त्यसैले भ्रममा पर्न जरुरी छैन,’ उनले भने । केन्द्र एवम् प्रदेशको समन्वय र निर्देशनको विपरीत पार्टीमा भाँडभैलो गर्ने सबैलाई अबिलम्ब अनुशासनको कारवाही समेत गरिने उनले चेतावनी दिए ।
आइतबारको बैठकमा जसपाका नेता समेत रहेका जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, जसपाका जिल्ला उपाध्यक्ष वासुदेव यादव, नगर अध्यक्ष ईश्वर चन्द्र यादव, नेता जरी लामा, सखुवा प्रसौनी गाउंपालिकाका अध्यक्ष प्रदीप जयसवाल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

