कलैया । ईलाका प्रहरी कार्यालय सिमरा ,बाराले लाखौँ मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–.१ स्थित नेपाल टेलिकम अगाडि गहना सहित एक जनालाई पक्राउ गरेको हो । गहना सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ढाका बस्ने बर्ष २३ का सुनिल गुप्ता रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । वीरगञ्ज पथलैयातर्फ जाँदैँ गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाईकलको तेल ट्याङ्कीको भित्र फल्स बट्न बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपैया बराबरको १० किलो तयारी गहना प्रहरीले बरामद गरेको हो । बरामद गहनामा चाँदीको गहना पाउँजु ,बाला ,चाबि रिङ्ग ,बुट्टी तथा कल्ली समेत बरामद भएको छ । बरामद गहना ,मोटरसाईकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ,पथलैया बारामा पठाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

