जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशलाई समृद्ध बनाउन राजनीतिक लडाई लड्न अझै पनि बाँकी रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीको धनुषा जिल्ला समन्वय समितिले जनकपुरधाममा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विगतमा भएका मधेश विद्रोहको कारण मधेशीहरुले धेर थोर पहिचानको अधिकार प्राप्त गरेपनि पूर्ण समावेशी लगायतका मुद्दा अझै पनि स्थापित हुन नसकेकोले राजनीतिक संघर्ष बाँकी नै रहेको उनले प्रष्ट गरे । समानुपातिक समावेशिकरणको आवश्यकता औंल्याउंदै उनले भने,‘देशभरिका ७७ जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीमा ६७ वटा एउटै जातीको छन के यो समावेशी हो ? ब्युरोक्रेसीमा, सुरक्षामा या अन्य शक्तिकेन्द्रमा आज पनि मधेशी, आदिबासी, जनजाती, मुस्लिम लगायतका शोषित पीडित जनताको भागिदारी छैन ।’ शोषित पीडित जनताहरुको भागिदारी दिलाउने काम कांग्रेस कम्युनिष्टले नगर्ने उल्लेख गर्दै उनले जनता समाजवादी पार्टीले मात्रै गर्न सक्ने दाबी गरे । उनले भने–‘कांग्रेस र कम्युनिष्ट नेताहरुको चाल हेरेर सकुनी पनि लजाउँदो होला ।’ मधेसी जनताको हक अधिकारकालागि उनीहरु सकुनी भन्दा बढी चालबाज रहेको र उनीहरुको चालबाजी हर्कतलाई नियन्त्रणमा ल्याउनकालागि जसपा एक मात्र विकल्प रहेको उनले बताए । दुइ सय पचास वर्षदेखि नै नेपाली शासक वर्गको नजरिया शोषण र शासनमा मात्रै केन्द्रित भइ मधेशको दोहन मात्रै गरेको आरोप उनले लगाए । विकासमा समेत विभेद गरेकै कारणले देशको अन्य कुनै पनि भुभागको तुलनामा मधेशको स्वास्थ्य ,शिक्षा ,उद्योग कलकारखाना जे मा पनि पछि पर्नुको मुख्य कारण नै शासक वर्गको दृष्टिमै दोष रहेको उनले स्पष्ट पारे ।
शिक्षित नभए सम्म कुनै पनि समाज सभ्य र समृद्ध हुन नसक्ने बताउंदै उनले भने,‘शिक्षाकै अभावमा समाजमा जातीय विभेद,सामाजिक विभेद,लैंगिक विभेद चरम रुपमा व्याप्त छ,यस अवस्थाको परिर्वनको लागि युवाहरु अगाडि बढ्ुन पर्ने आवश्यकता छ।’ राणातन्त्र,राजतन्त्र हुंदै गणतन्त्र सम्म पुग्दा पनि मधेश पछाडिको पछाडि नै रहेकोले क्रान्तिकारी परिवर्तनको लागि मधेशी जनताको संघर्ष अझै बाँकी रहेको प्रष्ट पारे । आज पनि मेधशका सरकारी अस्पताल,सरकार विद्यालय,कलेजहरुको अवस्थाले शासक वर्गले मधेशसंग गरेको विभेद छाताछुल्ल भएको स्पष्ट पार्दै अध्यक्ष यादवले मधेशको विकासको प्राणवायू मानिएको हुलाकी सडकको अवस्थाले शासक वर्गको नियत प्रष्ट भएको टिप्पणी गरे । सबै क्षेत्रमा पछि परेका मधेशी जनताले जनसंख्याको आधारमा बजेटको बाँडफाँड तथा राज्यको हरेक निकायमा समानुपातिक प्रनिधित्वको लागि जारी संघर्षलाई जसपाले हाँक्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायात मन्त्री एवम् जसपा नेतृ रेणु यादवले मधेश प्रदेशको विपक्षमा मतदान गर्ने सांसदहरुलाई आगामी निर्वाचनमा मधेशी जनताले तह लगाउने बताएकी छिन् । विगतमा भएको मधेश जनविद्रोहको मुख्य उद्देश्य मध्ये पहिचानको मुद्दा रहेको र मधेश प्रदेश नामकरणमै विपक्षमा मतदान गर्ने सांसद कदापि मधेशको शुभचिन्तक हुन नसक्ने बताउंदै उनले भनिन,‘अब आउने निर्वाचनमा ती सांसदहरु जनताको अदालतमा उभिनेछन् र जनताले उनीहरुलाई धुल चटाएर छोड्ने मेरो विश्वास छ।’ एक अर्को प्रसंगमा बोल्दै उनले रेल सञ्चालनको लागि कर्मचारीहरुको तालिम भइरहँदा विभिन्न शक्तिले रेल सञ्चालन हुन नदिन षडयन्त्र गरिरहेको आरोप लगाइन् । कर्मचारी भर्नामा रकमको चलखेल भएको भन्दै आन्दोलन गरेर रेल्वेलाई बद्नाम गर्ने काम गरेर रेल्वे सञ्चालनमा अवरोध सृजना गर्नु दुर्भाग्यपूर्ण रहेको जिकिर गरिन् । सफाइ लगायतका पदको लागि तालिम लिइरहेकाहरुले कुनै पनि हालतमा रकम दिएर जागिर गर्ने हैसियत नहुनेले पैसा दिएको भनी झुठो प्रचार गर्नु रेल्वे सञ्चालनमा अवरोध सृजना गर्नु नै रहेको प्रष्ट भएको उनले प्रष्ट गरिन् ।
कार्यक्रममा जसपाका नेता एवम् जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले विश्वमा भएको कुनै पनि परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । नवप्रवेशी युवा नेता धर्मेन्द्र साहले मधेश आन्दोलनको क्रममा खेलेको क्रान्तिकारी भूमिकाको स्मरण गराउंदै उनले भने,‘जसपामा केही दिन यतादेखि पार्टी प्रवेश गर्ने युवाहरुको जुन लहर छ यहि युवा शक्तिले मधेशको संघर्षलाई उत्कर्षमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ।’ शासक वर्गको दृष्टिकोण अझै पनि मधेश र मधेशी प्रति कुत्सित मानसिकतापूर्ण रहेकोले मधेशी जनता सचेत हुनु पर्नेमा जोड दिए । आगामी निर्वाचनमा मधेशी,दलित ,जनजाती र शोषित उत्पीडित वर्गको हक अधिकारको लागि निर्माण भएको जसपालाई वैकल्पिक शक्तिको रुपमा अगाडि बढाउन युवाहरुको सक्रिय भूमिका रहने मेयर साहको विश्वास छ । कार्यक्रममा पूर्व मन्त्री हरिनारायण यादवले जनता समाजवादी पार्टीमा प्रवेश गर्ने लहरले अधिकार प्राप्तिको आन्दोलनलाई बल मिलेको बताए । जसपाकै नेतृत्वमा मधेश समृद्ध हुने दाबी गर्दै उनले सयौंको संख्यामा युवाहरुको प्रवेशले जसपाले आगामी निर्वाचनमा तीनै तहमा वर्चस्व कायम गर्ने विश्वास व्यक्त गरे । जसपा धनुषाका अध्यक्ष पशुपति यादवको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा महाबीर युवा कमिटी तथा मधेश अधिकार संघर्ष समितिका संयोजक समेत रहेका धर्मेन्द्र साहको नेतृत्वमा भारी संख्यामा युवाहरु जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष यादव ,मेयर साह,मन्त्री यादव लगायतले गमछा ओढाइ पार्टीमा स्वागत गरेका थिए ।
https://www.youtube.com/watch?v=qffJ0oYAsx0

