जनकपुरधाम । जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाएकोमा प्रदेशसभा सदस्यहरुलाई मेयर लाल किशोर साहले अभार व्यक्त गरेका छन् ।
विगत ४ बर्षदेखि अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधामलाई सोमबार स्थायी राजधानी बनाइएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका दुइ तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ । मेयर साहले भने–‘प्रदेश सभाबाट प्रदेशको नामकरण तथा प्रादेशिक स्थायी राजधानी सम्वन्धी प्रस्तावले पूर्णता पाई प्रदेश नं. २ को नाम मधेश प्रदेश तथा स्थायी राजधानी जनकपुरधाम हुने घोषणा भएकोले मधेश प्रदेशका सम्पूर्ण प्रदेश सभा सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद एवम् अभार प्रकट गर्दछु ।’ उनले प्रदेश सरकार र प्रदेशका सदस्यहरुले जनकपुरधाम प्रति देखाएको उदारताले जनकपुरधामवासी सधंै तिनीहरुको ऋणी रह्ने बताए । जनकपुरधामका जनताकालागि प्रदेश सभासदहरुले दिएको उपहारलाई जनकपुरधामवासी सदैव स्मरणीय बनाई राख्ने विश्वास समेत व्यक्त गरे । उनले जानकीको पावन भूमि उर्जावान रहेको र सो उर्जाले सभासदहरुलाई कल्याण गर्ने विश्वास समेत व्यक्त गरे ।

