गौर । शीतलहर र अत्याधिक चिसो बढेपछि रौतहटको माधवनारायण नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ ।
अत्याधिक चिसो र हुस्सु (कुहिरो) लाग्न थालेपछि चिसोबाट बच्नका लागि नगरपालिकाले दाउरा वितरण गरिएको हो । विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो । वडाध्यक्षहरुको समन्वयमा माधवनारायण नगरपालिकाको सम्पूर्ण वडाको मुख्य मुख्य चोकहरुमा दाउरा वितरण गरी आगो बालेर ताप्ने व्यवस्था मिलाइएको नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ । विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको नगर प्रमुख यादवले बताए । मानवको जीवन रक्षा गर्नु आफू र नगरपालिकाको पहिलो कर्तव्य रहेकोले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मको चोक– चोकमा आगो ताप्नकालागि दाउरा वितरण गरिएको नगरपालिकाका नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले बताए ।

