२०७८ माघ ५, बुधबार ०५:५८

रोटरी क्लब अफ जनकपुरधाम तथा रोटरी क्लब धूलीखेलको संयुक्त तत्वाधानमा जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालय हस्तान्तरण गरिएको छ ।

१२ लाखको लागतमा निर्माण गरिएको एउटा अत्याधुनिक कम्बोड जडित महिला मैत्री शौचालय र पिशाब घर मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तानान्तरण गरिएको हो । रोटरी क्लब अफ जनकपुरधामका संस्थापक अध्यक्ष विजय झुन्झुनबालाको सभापतित्व तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रजिअ पौडेलले वर्तमानमा पानी फालाफाल देखिएको भान भएपनि विस्तारै खानेपानीको समस्या बढ्दै जाने भएकोले आवश्यकता अनुसार मात्रै यसको प्रयोग गर्नु पर्नेमा जोड दिए । २००७ सालमै महिलाहरुको लागि विशेष रुपमा विद्यालयको स्थापना भएको प्रति खुशी व्यक्त गर्दै पौडेलले भने,‘महिलाहरुको लागि स्थापना भएको यस विद्यालयको स्थापनाको मितिबारे थाहा पाएर आश्चर्यचकित भएको छुँ,रोटरीले शौचालय तथा पिशाब घर निर्माण गरेर सराहनीय कार्य गरेको छ।’ कार्यक्रममा अध्यक्ष झुन्झुनबालाले विगत २० वर्ष पूर्व अमेरिकाको रोटरी क्लब डियर पार्कको सहयोगमा क्लबले कन्या माविमा निर्माण गरेको एउटा शौचालय अझै पनि सञ्चालनमा रहेको बताए । क्लबले अहिले १० वटा पिशाब घर तथा खानेपानीको ट्यांकी तथा अत्याधुनिक एउटा शौचालय निर्माण गरेर हस्तानान्तरण गरेको छ भने भविष्यमा अझै शौचालयहरु निर्माण गर्नेबारे क्लबको बैठकमा छलफल भइरहेको बताए ।

शौचालय तथा खानेपानीको व्यवस्थापनको जिम्मा लिंदै विद्यालयका प्रधानाध्यापक मोदनारायण राउतले रोटरी क्लबले गरेको सहयोग अत्यन्त सराहनीय रहेको बताए । अति आवश्यक रहेको पिशाप घर तथा शौचालय निर्माण शौचालयकै अभावमा विद्यालय छाड्ने प्रवृतिमा कमी आउने विश्वास पनि उनले व्यक्त गरे । साढे सात सय भन्दा बढी छात्राहरु अध्ययनरत सो विद्यालयमा शौचालयको चरम अभाव रहेको थियो । एउटै शौचालयमा विद्यार्थीहरु लाइन बसेर जानु पर्ने बाध्यताको अन्त्य भएको प्रअ राउतले शिक्षक तथा आगन्तुकहरुको लागि पुरुष मैत्री शौचालयको अभाव भने अझै जारी रहेको छ । महिला विद्यालय भएकोले छात्राहरुले प्रयोग गर्ने शौचालय बाहेकको एउटा भएपनि पुरुष मैत्री शौचालय अति आवश्यक रहेको प्रअ राउतले बताए ।

Comment


Related News