२०७८ माघ ५, बुधबार ०६:०१

जनकपुरधाम राजधानी र मधेस प्रदेश नामाकरण भएको अवसर पारेर क्लोथ बैंक नेपालले खुशियाली आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले जिल्ला समन्वय समिति धनुषा जनकपुरधाममा मंगलबार कार्यक्रम आयोजना गरी खुशियाली साटासाट गरेका छन् । कार्यक्रममा सहभागी भएकाहरुले एक अर्कालाई मिठाइ बांडेर खुवाएका थिए । भने सोही कार्यक्रमबीच क्लोथ बैंकलाई सहयोग गर्दै आएका प्रभु दयाल जलान,डा रबि रंजन प्रधान,डा अजय झा ,यतायात व्यवसायी मनोज चौधरी,राजु साहलाई लेटर अफ थैगंस प्रदान गरिएको संस्थाका अध्यक्ष राजीब झाले बताए । कोभिड प्रोटोकललाइ ध्यानमा राख्दै आयोजना गरिएको कार्यक्रममा सचिव मनिष श्रीओम,कोषाध्यक्ष रुबि झा, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ,मां जानकी यातायात प्रालीका अध्यक्ष मनोज चौधरी जिरोमाइल युवा कमिटीको अध्यक्ष शंकर मिश्रा,मधेस प्रदेश सभामुखको राजनीतिक सल्लाहकार अनिल महासेठ,संस्थाको कार्यक्रम संयोजक रंजीत झा, कृष्ण कुमार साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

सर्लाही

प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा सर्लाहीको सदरमुकाम मलंगवामा खुशियाली जुलुस निकालिएको छ। सोमबार प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस ’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो। सोही खुसीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संयुक्तरूपमा मंगलबार मलंगवामा जुलुस निकालेर खुसियाली मनाएका छन् । उक्त विजय जुलुस मलंगवा नगरपालिका–१० स्थित सहिद चोकबाट सुरु गरी नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर त्यहाँ रहेको मधेश आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरी खुशियाली साटासाट गरिएको हो ।

रौतहट

प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएकोमा रौतहटमा पनि खुसीयाली मनाइएको छ । प्रदेश सरकार गठन भएको झण्डै पाँच वर्षपछि प्रदेशको नामाकरण र राजधानी तय भएको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले मंगलबार रौतहटमा दीप प्रज्जवलन गरी खुसीयाली मनाएका हुन् । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई दुई तिहाई भन्दा बढी बहुमतले पारित गरेको थियो । विगतका दिनमा भएको मधेश जनविद्रोह लगायतको आन्दोलनको बलमा मधेशी जनताले मधेश प्रदेश पाएको भन्दै जनता समाजवादी पार्टी माधवनारायण नगरपालिका–६ का वडा कमिटी अध्यक्ष विरझन राय यादवको नेतृत्वमा माधोपुर बजारमा दीप प्रज्ज्वलन गरी खुसीयाली मनाइएको छ । मधेश प्रदेश नामाकरणले बल्ल मधेशीले आफना पहिचान पाएको भन्दै उनीहरु खुसीयाली साटासाट गरेका हुन् । देशमा परिवर्तनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको आन्दोलन र आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहिद मधेशीको बलीदानीको बलमा नै मधेश प्रदेश नामाकरण भएको भन्दै जसपाका नेता कार्यकर्ताहरु ठाउँ– ठाउँमा खसियाली मनाएका छन् ।

Comment


Related News