अपडेट 
२०७८ माघ ५, बुधबार ०६:०४

अन्यथा अर्थ नलागोस्, अब औपचारिक रुपमा मधेस प्रदेश भएको छ । लामो समयदेखि विवाद र बहसको विषय रहेको यस प्रदेशको नाम अब मधेस रहन गएको छ । मधेसका बासिन्दा अब स्वाभाविक मधेसी हुन गएका छन् । अर्थात् अब हामी मधेसी हुन गएका छौँ राज्यको आधारमा, प्रदेशको आधारमा । अहिले पनि बाइस जिल्लामा मधेसी छन् र सानो भूखण्डलाई मधेस भनिएको बारे अनेक तर्कनाहरु आइरहेका छन् । यस प्रदेशको नाम मधेस रहनु विषयमा म निरन्तर लेख्दै आएको छु ।

यो प्रदेशको नाम कुनै एक जाति, कुनै भाषा, कुनै अन्य आधारमा रहेको नभई सामूहिक पहिचानको आधारमा रहेको छ । नेपालमा यसरी नामकरण भएको यो पहिलो नै हो । अहिलेसम्म प्रदेश नम्बर १ छ जसको औपचारिक नामकरण हुन बाँकी छ । अब बाँकी छ ओटा प्रदेशको नामकरण भइसक्यो । १ र २ बाँकी रहेकामा २ को नामकरण भइसकेपछि अब औपचारिक नाम प्राप्त गर्ने प्रदेशको संख्या छ पुगेको छ । देशको लम्बाई पूर्व–पश्चिम रहेको छ । यसै आधारमा नै प्रदेश १ देखि ७ सम्म नामकरण गरिएको थियो । अब सबैभन्दा पूर्वको प्रदेशको मात्र नामकरण बाँकी छ । माथि नै भनिसकेको छु, पहिचानको आधारमा प्रदेश २ को नामकरण मधेस प्रदेश रहेको छ । बागमती प्रदेश पहिलेको बागमती अञ्चलको नाम हो । देशका प्रमुख नदीमध्ये बागमती पनि एक हो । उसो त बागमती सभ्यताको कुरा पनि आउँछ तर बागमती सभ्यताको समग्रताको अध्ययन हुने हो भने मधेस प्रदेशको नदी सभ्यताको पनि अध्ययन हुनुपर्छ । बागमती नामकरण पुरानो बागमती अञ्चलको भौगोलिक पहिचानसँग असम्बन्धित छैन । गण्डकी पनि अञ्चलको नाम थियो । हो, गण्डकी अञ्चलको नाम बरु गण्डकी नदीको नामबाट भएको हुन सक्छ । यसै गरी लुम्बिनी पनि अञ्चल नै थियो । लुम्बिनी भौगोलिक पहिचान पनि हो । भगवान गौतम बुद्धसित नाम जोडिएको वर्तमान लुम्बिनी प्रदेशको सीमाभित्र पहिले लुम्बिनी अञ्चल पनि थियो । यसै गरी कर्णाली अञ्चलको भूगोल थियो । कर्णाली नदी पनि छ । कर्णालीको नामकरणमा यही नदी वा त्यही पहिलेको अञ्चलको नामले प्रभाव पारेको छ । देशको सबैभन्दा पश्चिमको प्रदेशको नाम सुदूर पश्चिम राखिएको छ । सुदूर पश्चिम नेपालको भूगोलको त्यही नामको निरन्तरता हो जुन यस देशमा पाँच विकास क्षेत्रको नाम रहेको थियो जसमध्ये सबैभन्दा पश्चिमको विकास क्षेत्र थियो ।

देशलाई विकास क्षेत्रको आधारमा पाँच विकास क्षेत्रमा बाँडिएको थियो । पूर्वाञ्चल विकास क्षेत्रका अधिकांश जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रका केही जिल्ला मिलेर अहिलेको मधेस प्रदेशको निर्माण भएको हो । यदि विकास क्षेत्रबाहेकको अवस्थालाई विचार गर्ने हो देशलाई भौगोलिक विविधताको आधारमा तीन प्रदेशमा बाँडिएको थियो जसलाई हिमाल, पहाड र तराई भनिन्थ्यो । यस भौगोलिक विभाजनमा कुन कुन जिल्ला पर्दछन् भन्ने त देखाइन्थ्यो तर यसको राजनैतिक दृष्टिकोणले कुनै महत्व थिएन । विकास क्षेत्रलाई कहिल्यै पनि प्रदेशको रुपमा लिइएको पाइएन तर भौगोलिक विभाजनलाई भने हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेशको रुपमा भने कहिलेकाहीँ चर्चा हुने गर्दथ्यो । यसरी प्रदेश भनिए पनि यस प्रदेशमा प्रदेशको संरचनामा केही कुनै प्रशासन वा राजनीतिको कुरो रहेको देखिएको थिएन । अहिले धेरैले त्यही तराई प्रदेशका बाइस जिल्लालाई मधेस भनिरहेका छन् । हुन त हिमालको हिमाली, पहाडको पहाडी भनिएझैँ तराईको तराइली पनि कहिलेकाहीँ कतै कतै लेखिएको वा भनिएको पाइन्छ तर तराई क्षेत्रका बासिन्दाले आफूलाई मधेसी भनेर मान्दथे । हिमाल र पहाडका बासिन्दालाई पहाडी तथा तराईका बासिन्दालाई मधेसी मान्ने मनोविज्ञान करिब करिब सामान्य नै थियो हाम्रो परिवेशमा । साँच्चिकै विचार गर्ने हो मधेस नामको औपचारिक भूगोल कतै थिएन । भूगोलविहीन अवस्थामा यस क्षेत्रका बासिन्दा आफूलाई मधेसी भन्दै आएका थिए । हो, पहिचानको लडाइँ पूर्वदेखि पश्चिमसम्म भएको हो । मधेसको लागि भनेर लडिएको मुख्य क्षेत्र पनि सम्भवतः यही नै हो । झापादेखि सुनसर ीसम्मको भूगोलमा पनि मधेस आन्दोलन भएको हो तर जसरी वीरगंजले मुख्यमन्त्री पाएपछि एक हिसाबले राजधानी वीरगंजको माग मत्थर भएर अन्ततः समाप्त हुन गएको थियो, ठिक त्यसरी नै विराटनगरमा राजधानी भएपछि एक हिसाबले प्रदेश १ को दक्षिणी भूगोलमा आन्दोलन फस्टाउने आधार करिब समाप्त भएको थियो ।

अर्को एउटा विडम्बना पनि छ, जब मधेसी भनेर आन्दोलन पहिचानको भएको थियो, त्यसको केही समयपछि थारुहरुले हामी मधेसी होइनौँ भनेर आन्दोलन गरे, मुस्लिमहरुले पनि हामी मधेसी होइनौँ भनेर आन्दोलन गरे । मधेसी पहिचानमा आफ्नो अस्तित्व नदेख्ने अन्य पनि निस्कन्थे होला । विस्तारै आन्दोलनहरु शान्त हुँदै गए । जब सात प्रदेशको नक्सा सार्वजनिक भयो तब यसलाई अस्वीकार गर्ने सम्भवतः कुनै पनि पक्ष देखिएन । यसले गर्दा अन्ततः यही मूल क्षेत्र मधेसीको हो भन्ने मनोविज्ञान विस्तार हुन थाल्यो । बाइस जिल्ला मधेस होइन भन्ने मेरो भनाइ होइन । बाइस जिल्लाको समग्र पहिचान तराई पहिलेदेखि नै रहिआएको छ । समग्र मधेस एक प्रदेश भनेर आन्दोलन भएको पनि हो तर त्यस आन्दोलनको मूल प्रवाहमा रहेकाहरुले मधेस प्रदेशको पक्षमा खुलेर वकालत गरेका छन् । सहभागिता जनाएका छन् । मध्यमधेस भन्नेको पनि आशय यो मधेस हो भन्ने नै थियो । अझ भूगाग समेटिनुपर्छ भन्ने थियो कि शायद । त्यसको लागि त संविधान संशोधन गर्नुपर्छ । यदि जुन प्रदेशको संरचना बनेको छ, त्यसको सबालमा नामकरणको सन्दर्भ आउँदा मधेस प्रदेशमा सहमत हुनुलाई अति नै स्वाभाविक मान्नु पर्दछ । गोप्य मतदानद्वारा प्रदेश दुईको नाम मधेस प्रदेश रहेको हो । यसमा तीन दलको मुख्य भूमिका रहेको कुरालाई इतिहासले याद गर्नेछ । प्रदेश सरकारमा रहेको जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्यानलले प्रदेश सभामा प्रस्तुत गरेको विचारले अझ अन्य दलका माननीय सांसदज्युहरुको मनलाई जितेको हो । यसले गर्दा प्रदेशको नाम मधेस अत्यधिक बहुमतले हुन गएको हो । यहाँ प्रदेशको नामकरण सामूहिक पहिचानको आधारमा अति नै सरल किसिमले रहेको हो । ढिलो भयो भन्ने कुरो पनि सत्य हो तर नामकरणको दिन प्रदेश सभामा जुन शान्तिपूर्ण मयार्दापूर्ण र सभ्यतापूर्ण वातावरण रह्यो, ऐतिहासिक नै रह्यो । यसकारण यस प्रदेशको नामकरणमा प्रत्यक्ष, अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई बधाई छ ।

प्रदेशको नाम मधेस हुनुपर्छ भनेर मतदान गर्ने, मतदान गर्न नपाए पनि सदाशयता राख्ने तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसमेतलाई बधाई । सबैको संयोगले जुन प्रदेशको नामकरण रहन गएको छ, त्यो नाम मधेसलाई पनि बधाई । मधेस पहिचानलाई बधाई । र, अबको दिनमा मधेस प्रदेशको बासिन्दा जति सबैलाई यसकारण पनि बधाई कि अब दुई नम्बरको दुई नम्बरी भन्ने पहिचान हटेको छ । दुई नम्बरीको ठाउँमा हामी अब मधेसी बन्न पुगेका छौँ । अब यस प्रदेशका सबै नागरिक जो जहाँ र जसरी छन्, त्यहाँ उसै गरी मधेसी कहलिन पाउनेछन् । सबैको साझा पहिचान मधेसी अब विश्व मानसपटलमा रहन गएको छ । मधेसी भनेपछि अब संसारमा नेपालको मधेस प्रदेशको बासिन्दा हो कि वा कमसेकम यस प्रदेशको स्मरण गराउन सक्दछ । यसकारण विश्वभरमा आफूलाई मधेसी भनिरहेका जुनसुकै देशका आधिकारिक नागरिक भए पनि बधाई । पहाडको तलतिरको समथल जमिनलाई भारतको केही ठाउँमा तराई भन्ने गरिएको सही हो । दार्जिलिङ जिल्लाको तल्लो समथर जमिनलाई तराई भन्ने गरिएको छ । यस अर्थमा तराई र मधेस एउटै हो भन्ने नेपालका मानिसको मनोविज्ञान हो । यसलाई अन्यथा लिइएको पनि पाइँदैन । तराई भनेको त्राही हो कि भन्ने उच्चारणले बुझिन सक्ने देखिन्छ तर यसै सन्दर्भमा फेरि पनि तराईका बासिन्दाले आफूलाई मधेसी भन्ने गरेको सर्वस्वीकार्य हो । गैरमधेसीले पनि यस भेगका बासिन्दालाई मधेसी भन्ने गरेको र यस भेगका बासिन्दाले पनि आफूलाई मधेसी भन्ने गरेकोमा मधेसी सामूहिक पहिचान हो । मधेसी भनेर कसैले भन्दछ भने यसमा अपमानित हुनुपर्ने कुनै कारण छैन । र, अब नेपालमा सामूहिक पहिचानका आधारमा प्रदेशको नाम मधेस रहेको सन्दर्भमा परम्परादेखि भनिँदै आएको मधेस र परम्परादेखि भनिँदै आएको मधेसी दुवैको सम्मान भएको छ ।

यस परम्परालाई सम्मान भएको छ । यस सम्मानलाई बधाई र परम्परालाई हार्दिक बधाई । मानिस बौद्धिक प्राणी हो । हरेकको आफ्नो बुद्धि छ । हरेकको आफ्नो तर्क छ । आफ्नो बुद्धि र तर्कले गर्दा नै मानिस एक अर्काभन्दा पृथक पहिचान बनाउन सक्षम हुन्छ । एउटै कुरालाई अनेक तरिकाले बोध गर्दछ । अनेक तरिकाले अभिव्यक्त गर्दछ । यस प्रदेशको नामको सन्दर्भमा पनि अनेक तर्क आएका छन्, आइरहेका छन् । आउनु पनि पर्छ । लोकतन्त्रको सुन्दर गहना पनि यही हो कि हरेकले आफ्नो अभिव्यक्ति सभ्य भाषामा राख्न पाउँछ । आफ्नो विचार प्रस्तुत गर्न पाउँछ । यस प्रदेशको नामकरण पनि लोकतान्त्रिक प्रक्रियाबाट नै भएको हो । लोकतन्त्रमा नागरिकले आफ्ना प्रतिनिधिमार्फत शासन गर्दछन् भन्ने मान्यता छ । मधेस प्रदेशको प्रदेशसभाका माननीय साँसदज्यूहरुको दुई तिहाईभन्दा बढी मतले मधेस नामलाई स्वीकृत गरिएको हो । यसबाट यही सिद्ध हुन आउँछ कि लोकतान्त्रिक प्रक्रियाबाट यस प्रदेशको नाम मधेस राख्दा गणितको एउटा भनाइ कि राउन्ड फिगरमा माथिल्लोलाई शून्यान्त गर्नुपर्दा यसलाई शतप्रतिशत मान्नु पर्ने देखिन्छ । हाम्रो देशको संविधानले कुनै पनि प्रदेशको नामकरण गर्न दुई तिहाईको बहुमतको स्वीकृति खोजेको छ । विगतमा धेरै नामहरुमा छलफल भएको थियो । अहिले पनि सबैको भावनालाई समेटर तिन नाममा चर्चा चलेको थियो तर दुई तिहाइभन्दा धेरै बढी मतले मधेस प्रदेश नाम पारित भयो । प्रदेश सभाको दुई तिहाईभन्दा बढी मतले पारित भएपछि अब यही नामलाई सर्वस्वीकृत नामको रुपमा व्यवहारमा ल्याउनु पर्दछ ।

अबको समयमा मधेस प्रदेशको नाममा नै सरकारका कुनै पनि गतिविधि हुने निश्चित छ र अब हामी नाम बिनाका छैनौँ भन्ने पनि भएको छ । हो, अब हाम्रो प्रदेशको नाम मधेस हो । मधेसको आफ्नो पहिचान कायम गर्नु हामी सबैको दायित्व हो । हुन त नाम पहिलो पहिचान हो । नामले मात्र पहिचान बन्दैन । नामको पहिचानलाई सार्थक बनाउन सक्नु पर्दछ । यस प्रदेशको मधेस नामको सार्थकतालाई अब सार्थक बनाउन हामीले हाम्रा परम्परागत, सांस्कृतिक धरोहरलाई, पहिचानलाई कायम राख्नु पर्दछ । हामीले हाम्रो पहिचानको क्षेत्रमा काम गर्नु पर्दछ । यस प्रदेशको नाम मधेस रहेपछि अब मधेसको मान राख्न र शान बढाउन मधेस सरकार तथा मधेसी नागरिक सबैले हृदयदेखि लाग्नु पर्दछ । यो मधेस पहिचान कुनै सानो दुःखको आर्जन होइन ।

Comment


Related News

Latest News

Trending News