२०७८ माघ ५, बुधबार ०६:१८

कलैया । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिलिफ सिंह देउवाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि कुनै कसर बांकी नाराख्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार पत्रकारहरु संगको भेंटघाट कार्यक्रममा उनले भने,‘ नागरिकको जिउधनको सुरक्षाको लागि प्रहरी संयन्त्र कटिबद्ध छ ।’ जिल्लामा हुने गरेको बलात्कार, हत्या, हिंसा, चोरी, डैकती, तस्करी लगायतको आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि प्रहरीले यथाशक्य प्रयासरत रहेको बताउंदै कुनै पनि अपराधिक गतिविधि गर्नेहरुमाथि कडा कारवाही गर्न प्रहरी तयार रहेको बताए । आफू कसैको दवाव र प्रभावमा नपरी कानून बमोजिम कामकाज गर्ने बताउंदै विधिको शासन कायम गर्ने गराउने दायित्व पूरा गर्न सधंै अग्रसर भइ अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । अवैध मदिरा उत्पादनको नियन्त्रण,अवैध उत्खनन नियन्त्रण, बेचबिखन , लागु औषध ओसार– पोसार जस्ता काममा प्रहरी चनाखो हुनुपर्ने बताउंदै एसपी देउवाले गलत बाटोमा लागेकाहरुलाई सही बाटोमा डो¥याउनका लागि प्रहरीको भूमिका संगसंगै समाजको पनि ठूलो भुमिका रहेकोले प्रहरीलाई सूसुचित गरेर सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे ।

समाजमा हुने अपराधिक क्रियाकलापलाई प्रहरीले एक्लै नियन्त्रण तथा न्यूनीकरण गर्न नसक्ने भन्दै उनले सबै सरोकारवालाहरु एक अर्कासंग हातेमालो गरेर अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको एसपी देउवाले औंल्याए । २०५३ सालमा राष्ट्रिय अनुसंन्धानको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी उपरीक्षक देउवा डोटी, कैकाली हुँदै बारा जिल्ला आएका हुन् ।

Comment


Related News