जनकपुरधाम । पछिल्लो ४ दिनदेखि मुलुकको विभिन्न स्थान सहित मधेश प्रदेशको विभिन्न जिल्लामा अत्यधिक चिसो बढेको छ । दुइ दिनदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । भने तराइ मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्नुका साथै दिनभरि चिसो हावा चल्न थालेपछि अत्याधिक चिसो बढेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान र दिउँसो चल्ने चिसो हावा र शितलहरी तथा राती लाग्ने बाक्लो हुस्सुले मधेश प्रदेशको जनजीवन नराम्ररी प्रभावित बनेको हो । चिसोको कारण मधेश प्रदेशमा अहिले सम्म तीन जनाको मृत्यु भएको छ । त्यसैगरि, चिसो छल्न आगो ताप्ने क्रममा पनि एक जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । विगत तीन दिनदेखि घाम समेत नउदाएपछि यस क्षेत्रको तापक्रम लगातार घट्दै गएकोले चिसो बढेर गएको हो । यसैबीच, चिसोको कारण विरामी हुनेको संख्यामा वृद्धि भएर गएको छ । प्रादेशिक अस्पताल जनकपुरधाम र यहाँका निजी अस्पताल तथा निजी क्लिनिकहरुमा उपचार गराउन आउने विरामीहरुको संख्या बढेको प्रादेशिक अस्पतालका चिकित्सक केडी दासले बताए । चिसोको कारण दम फुल्ने, हाड जोर्नी दुख्ने, रुघाखोकीका विरामीहरुको चाप अस्पतालहरुमा बढेको उनले जनाए । यता निजी क्लिनिकहरुमा चिसोले बिरामी भइ आउने बालबालिकाको संख्या बढी रहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले बढी तौल बढ्ने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या समेत बढी हुने गरेको चिकित्सकहरु बताउंछन् । यसैबीच, अत्यधिक चिसो बढेपछि जनप्रतिनिधिहरुले ठाँउ–ठाउँमा दाउरा वितरण गरेका छन् । अत्यधिक चिसो बढेर सडक मानव तथा विपन्न वर्गको जनजीवन कष्टकर बनेपछि दाउरा वितरण गर्न लागिएको जनकपुरधाम उपहमनगरपालिका–१ वडाध्यक्ष सत्रुधन साहले बताएका छन् । त्यसगरी चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरुलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले बताए । साथै प्रदेश सरकारले चिसो र कोरोना भाईरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशन समेत दिएका थिए ।
तथापि जनकपुरधामको चोकहरुमा आवश्यकता अनुसारको दाउरा वितरण नगरिएको स्थानीयवासीहरुले गुनासो पोखेका छन् । स्थानीय जनक चोकका एक पसले राजु साहले भने,‘ अहिले यति धेरै चिसो छ ,यथाशीघ्र दाउरा वितरण गर्नु पर्छ ,सडकमानवहरु ठूलै समस्यामा परेका छन् गरिब गोरुवाहरु मारमा परेपनि स्थानीय निकायले निर्वाह गर्नु पर्ने जिम्मेवारी निर्वाह गरेको देखिएन्’ । सर्लाही जिल्लामा केही दिनदेखि अत्यधिक चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । जिल्लामा आइतबारदेखि घाम लागेको छैन । जिल्लावासिले सोमबार वर्षकै सबभन्दा बढी चिसो महसुस गरेका छन् ।कठ् यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका अतिविपन्न परिवारलाई चिसो छल्न ठूलै समस्या परेको छ । चिसोबाट बच्न धेरैले घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन् । चिसोले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समेत समस्या भएको छ । जसले गर्दा जिल्लाको हरिवन ,लालबन्दी ,नयाँरोड लगायतको बजारमा चहल पहल कम भएको छ । चिसोका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता समस्याका विरामी बढेका छन् । चिकित्सकहरूले चिसोबाट जोगिन शरीर न्यानो हुने गरी तातो कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे पूरा बाहुला भएको कपडा लगाउन, झोलीय पदार्थ र तातो खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् । त्यस्तै, अत्यधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन पनि समस्या उत्पन्न भएको छ । यसअघि जाडो मौसममा जिल्लाका स्थानीय तहले आगो ताप्न दाउराको ब्यवस्था गरिदिने गरेको थियो भने यस वर्ष स्थानीय तहको सक्रियतामा कमी देखिएको छ । अत्यधिक चिसो बढ्दा पनि स्थानीय तहले दाउराको ब्यवस्था नगरेको प्रति जिल्लावासिले पोखेका छन् ।
यसैबीच केही दिन यता बढेको चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि हरिवन नगरपालिकाले नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । नगर विपद व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद मैनालीको अध्यक्षता तथा नगरप्रमुख मेयर गणेशप्रसाद प्रसाईंको प्रमुख अतिथ्यतामा बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रको पुरानो बजार चोक, महादेव जनता मावि चोक, सगुन सहकारी अगाडि, पूर्व बसपार्कको प्रहरी बिट नजिक, स्वाभिमान अस्पताल अगाडि, मेघा बैंक अगाडि, कार्की पुस्तक पसल अगाडि आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।समितिको वैठकले नगरका अन्य स्थानमा पनि आवश्यकता अनुसार थप आगो ताप्ने व्यवस्था मिलाउँदै लगिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ । हरिवन नगरपालिकाले निर्णय गरेपनि जिल्लाको अन्य पालिकाकाबाट कुनै निर्णय भने भएको छैन । घाम पर्याप्त नपाउंदा ‘ भिटामिन डि’को कमी भइ मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गरेको छ । विगत तीन दिनदेखि मधेश प्रदेशमा घाम नउदाएपछि विरामीहरुको संख्या बढेको हो ।
https://www.youtube.com/watch?v=qffJ0oYAsx0

