२०७८ माघ ७, शुक्रबार ०६:४८

जनकपुरधाम । मधेश प्रदेश घोषणामा सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)सित तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले राष्ट्रिय सभाको चुनावका लागि भने एमालेसित तालमेल गरेको छ ।

मधेश प्रदेशमा लोसपाकी महिला उम्मेदवार रुपा यादवलाई एमालेले सघाउने र पुरुष तर्फ उसमान अन्सारीलाई सघाउने एमाले र लोसपाबीच विहीबार सहमति भएको छ । लोसपाले संघीय सरकारमा शेरबहादुर देउवालाई समर्थन गरेको छ । मधेश प्रदेशमा जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच राष्ट्रिय सभाका लागि तालमेल भइसकेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट महिला तर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र पुरुष तर्फ जसपाका खालिद सिद्दिकी उम्मेदवार छन् ।एमालेले महिला तर्फ उम्मेदवार बनाएको बिनादेवी साहलाई फिर्ता गरेको छ । सिरहा सुखीपुर नगरपालिकाका मेयर समेत रहेका नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादव र पूर्व प्रदेश मन्त्री समेत रहेका लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पछि सञ्चारकर्मीहरुसित सोनलले मधेशको विषयमा अन्य राष्ट्रिय पार्टी भन्दा नेकपा एमाले राम्रो रहेको बताए । मधेश आन्दोलनकारी माथि लागेको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता, संविधान संशोधन लगायतका विषयमा एमालेले सकारात्मक रहेकोले विगतमा लोसपाले तत्कालीन प्रधानमन्त्री ओलीलाई समर्थन गरेको उनको कथन थियो । माघ १२ गते राष्ट्रिय सभाका लागि मतदान हुने भएको छ ।त्यसका लागि स्वास्थ्य सम्बन्धी ११ बुंदे गाइडलाइन जारी गरेको छ ।

Comment


Related News