मलंगवा । केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसोकै कारण मानिसहरु घर बाहिर निस्कन समेत समस्या हुने गरेको छ जसको कारण जिल्लाका अधिकांश हाट बजार सुनसान बनेको छ । अत्यधिक चिसोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर, सानातिना घुमन्ते व्यापारी लगायतकाहरुलाई ठूलै समस्यामा परेको छ। विगतमा चिसो र शीतलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको थियो तर यस वर्ष पालिकाहरुले कुनै पहल नगरिदिँदा सडक मानव लगायतकालाई चिसो छल्न ठूलै समस्या भएको हो । चोक– चोकमा आगो ताप्ने व्यवस्था नहुँदा सर्वसाधारणहरुले राहत समेत पाउन सकेका छैनन् । यस वर्षको शीतलहरमा मानिसको बढी चहलपल हुने स्थानमा आगो ताप्ने व्यवस्था गर्न यहाँ स्थानीय जनप्रतिनिधिहरुले कुनै चासो नलिँदा सर्वसाधारण बिच्चलीमा परेका हुन् । स्थानीय सुनिल कुमार साह भन्छन्,‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ । घर बाहिर निस्किएकाहरुले पनि चोक चौराहामा बालेकेको आगोमा हात सेकाउन समेत नपाउनु दुर्भाग्यपूर्ण हो ।’ जाडोबाट बचाउनु नगरपालिका प्रमुख ,गाउंपालिका प्रमुख ,वडाप्रमुख लगायतका स्थानीय सरकारको दायित्व भए पनि उनीहरुले दयनीय अवस्था देख्दादेख्दै मौन बसेको जनगुनासो छ ।
बारा
केही दिनयतादेखि लगतार रुपमा बढ्दै गएको चिसोले गर्दा बारा जिल्लावासीको जनजीवन अस्त व्यस्त बनेको छ । माघ १८ गतेदेखि एक्कासी चिसो हावा चल्न थालेपछि अत्यधिक चिसो बढेपछि बालबालिका, वृद्ध, वृद्धा असहाय, गरिब विपन्न र श्रमिकहरुको जनजीवन अस्त व्यस्त बनेको हो । जाडोका कारण अति आवश्यक काम बाहेक सर्वसाधारणहरु घरबाट बाहिर ननिस्कंदा जिल्लाको अधिकांश हाट बजार, सरकारी कार्यालयहरुको चलहपहलमा कमी आएको छ । अत्याधिक जाडो बढेपछि सर्वसाधारणले ठाँउ–ठाँउमा आगो बालेर चिसो छल्ने देखिने गरेका छन् । चिसोबाट जोगिन जिल्लाको १६ वटै स्थानीय तहहरुमा रहेको विपत व्यवस्थापन समितिले चिसो छल्नकालागि न्यानो कपडा कम्बल वितरण गर्दै ठाँउ–ठाँउमा आगो ताप्ने प्रबन्ध मिलाएको सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवले जानकारी दिए । अहिले सम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवतmा राजेश थापाले बताए ।
सप्तरी
विगत पाँच दिनदेखि लगातारको शीतलहरले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो हावा निरन्तर चलिरहँदा चिसो अत्यधिक बढेर जनजीवन कष्टकर बनेको हो । शीतलहर बढेपछि जिल्लाको सहरी तथा ग्रामीण क्षेत्रका वासिन्दा बजार र टोलमा दाउरा बालेर आगो ताप्ने गरेको दृश्य जता ततै देखिने थालेको छ । चिसो बढेसँगै तापक्रम घट्ने क्रम निरन्तर जारी रहेको छ । विहीबार साँझ ४ बजे राजविराजको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको राजविराज विमानस्थल स्थित बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिए । उनले चिसो ह्वातै बढ् दा यात्रुको चाप समेत घटेको बताए । एकातिर कोरोनाको कहर र अर्कोतिर शीतलहर दुबैले सताएपछि स्थानीयवासी चिन्तामा डुबेका छन् ।

