अपडेट 
२०७८ माघ ९, आईतवार ०७:५७

जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख भन्दा बढी रकम सहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले दिएको जानकारी अनुसार विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २ सय र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागज सहित पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा– ३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाख सहित पक्राउ गरेको थियो । त्यस्तै सोही दिन जलेश्वर नपा–३ मा रहेको जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाा–६का २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ का २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २ सय र करिब तीन लाख बराबरको रु ५ सय तथा एक सयको नक्कली नोट बनाउने कागज सहित प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी माघ ६ गते मटिहानी नपा–३ पेट्रोलपम्प अगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायतका ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाटै प्रहरीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्डका ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।

महोत्तरीमा करिब ३८ किलोमिटर नेपाल भारतको खुला सीमानाका कारण अवैधरूपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सिमानाका तथा कुनै पनि नेपाली गाउँ सहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको अधिकारी विष्टले बताए । नोट सहित पक्राउ पर्नेहरु अधिकांश हुण्डी कारोबारी रहने गरेको बताइएको छ । नक्कली नोट सहित पक्राउ परेकाहरु विरुद्ध खोटा मुद्रा मुद्दामा कारवाही अगाडि बढाइने गरिएको छ भने स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेहरुलाई राजश्वमा पठाइ कारवाही गर्ने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News