जनकपुरधाम । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व.नेता गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको स्मरण गर्दै सोमबार मधेश प्रदेशको विभिन्न जिल्लामा स्मृति दिवस मनाइएको छ ।
नेपाल सद्भावना पार्टीले नेपाल बार एशोसिएनको सभाकक्षमा स्व.नेता सिंहको स्मृतिमा २१ औं वार्षिक पूण्यतिथी मनाएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोको सभापतित्वमा सोमबार आयोजित कार्यक्रममा सहभागीहरुले नेता सिंहले मधेशकालागि गरेको योगदानको स्मरण गरेका थिए । त्यस्तै सप्तरीको राजविराजमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफूल बितरण तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरी नेता सिंहको स्मृति दिवस मनाएका छन् । यस अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र सञ्चालित पोषण पुनस्र्थापना केन्द्रका बिरामीहरुलाई फलपूmल बितरण, गजेन्द्र चोक र अन्य स्थानमा रहेका स्व. सिंहको शालिकमा माल्यार्पण तथा गजेन्द्र नारायण अध्ययन केन्द्रमा अन्तरक्रिया लगायतको कार्यक्रम आयोजना गरिएको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता जयप्रकाश ठाकुर, शैलेश चौधरी, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, बिनोद सिंह, मनोज झा, राजविराज नगरपालिकाकी उप–प्रमुख साधना झा, मधेशी निजामति कर्मचारी आधिकारिक टे«ड युनियनका अध्यक्ष अजय झा, अध्ययन केन्द्रका सदस्य चन्द यादव लगायतले मधेश अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको राजनीतिक योगदानको स्मरण गर्दै भावी पुस्ताका लागि यो अनुकरणीय रहेको बताएका थिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहले २०४७ सालमा सद्भावना परिषद् हुँदै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए । मधेशवादका प्रणेताका रुपमा मानिएका उनलाई प्रत्येक वर्ष माघ १० गतेका दिन विभिन्न कार्यक्रमको आयोजना गरी स्व.सिंहलाई स्मरण गरिने गरिएको छ ।

