२०७८ माघ ११, मंगलवार १५:५४

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो ।

विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको छ ।

आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाखमसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ। यसर्थ, वर्तमान संवैधानिक एवम् कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

यस्तै ‘स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीहरुद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो पटक मिति २०७८ कार्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्वन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था वारेमा जानकारी गराइएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

Comment


Related News

Latest News

Trending News