२०७८ माघ १२, बुधबार ०७:३१

कलैया । जीतपुरसिमरा उप– महानगरपालिकाको जनप्रतिनिधिहरु आफ्नो कार्य अवधि समाप्त हुन केही महिना मात्र बाँकी रहेको समयमा सम्पत्ति कर हजार गुणाले बृद्धि गरेका छन् ।

जीतपुर उपमहानगरपालिकाले सम्पत्ति करमा १ हजार प्रतिशतले वृद्धि गरेपछि नगर उद्योग बाणिज्य संघ आन्दोलित बनेको छ । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको नेतृत्वमा गएको टोलीले नगर प्रमुख (मेयर) डा.कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै बढेको सम्पत्ति कर घटाउनु पर्ने माग गरेको छ । कोरोना र निषेधाज्ञाले प्रभावित व्यापार ,व्यवसायलाई सम्पत्ति करमा भएको वृद्धिले ढाड सेक्ने काम गरिरहेको आरोप समेत उनीहरुले लगाएका छन् । आक्रोशित व्यवसायीहरुले उप–महानगरपालिकाको कार्यालयको राजश्व शाखामा तालाबन्दी गरेका थिए । नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले उद्योगी ,व्यापारीहरुलाई मात्र नभएर सर्वसाधारण समेत धितो प्रमाणित लगायतका अन्य कार्य गर्दा मर्कामा पर्ने बताए । उनले आर्थिक ऐनमा सम्पत्ति कर वृद्धिमा गरिएको एक हजार प्रतिशत वृद्धिको विरुद्धमा सम्पूर्ण राजनीतिक दल लगायतका सरोकारवाला लाग्नुपर्नेमा जोड दिए । नगर स्तरीय राजश्व परामर्श समितिका सदस्य समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबाबु गुप्ताले राजश्व परामर्श समिति र कार्यपालिका बैठकमा पनि यस सम्बन्धमा छलफल तथा निर्णय भएको कुरा आफूलाई जानकारी नभएको बताए ।

उनले मेयर र उपमेयरले आफू खुशी सम्पत्ति कर वृद्धि गरेको आरोप समेत लगाए । यता उप– महानगरपालिकाको राजश्व शाखा प्रमुख अधिकृत पूर्ण तिबारीले राजश्व परामर्श समितिको बैठकले नै सम्पत्ति कर वृद्धि गरेको बताए । राजश्व परामर्श समितिमा रहेका नगर उद्योग बाणिज्य संघका प्रतिनिधि र जनप्रतिनिधिलाई उपस्थितिकालागि पटक–पटक आग्रह गरेपनि उनीहरु नआएपछि कार्यपालिका बैठकमा पेश गरिएको जानकारी दिए । कार्यपालिका बैठकबाट पारित भएपछि ,नगर सभामा पेश गरियो अनि नगर सभाले उक्त ऐन पास गरेर कार्यान्वयनमा आएको अधिकृत तिबारीले बताए ।

Comment


Related News

Latest News

Trending News