२०७८ माघ १२, बुधबार ०७:४७

मलंगवा । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले विपन्न विद्यार्थीहरुलाई चिसो छल्न स्वेटर वितरण गरेको छ ।

समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय, गोडैता नपा–५, रामवन, सर्लाहीमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई चिसोबाट जोगिन स्वेटर वितरण गरेको हो । पूर्व प्राथमिक/बालविकास कक्षा र कक्षा–१ मा अध्ययनरत विद्यार्थीहरू मध्ये गरिब, असहाय र विपन्न गरी १ सय २५ जना छात्र÷छात्राहरुलाई समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले स्वेटर प्रदान गरेका हुन् । प्रजिअ गौतमले कठ्यांग्रिदो ं चिसोबाट बाँच्न सबै विद्यार्थीहरूलाई स्वेटर आवश्यक भए पनि हामीले विपन्न विद्यार्थीहरूलाई मात्र उपलब्ध गराउँंदै जनताको सबभन्दा नजिकको स्थानीय सरकारले यस्ता कार्यहरू पनि गर्नु पर्नेबारे जागरुकता फैलाउने उद्देश्यले स्वेटर वितरण गरिएको बताए । उनले कोभिड–१९ र नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र वृद्धि भइरहेकोले यसबाट जोगिन मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्नु पर्ने, बेला–बेलामा साबुन पानीले हात धुने बानीको विकास अथवा स्यानिटाइजर प्रयोग, भीडभाड नगर्न, हावा आवत–जावत राम्रो हुने स्थानमा बस्न लगायतका सबै जनस्वास्थ्य मापदण्डहरू पालना गर्दै अनिवार्य खोप लगाउन समेत आह्वान गरे ।

प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, विपद् उद्धार , फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भविष्यका कर्णधार युवा पिढीलाई लागू औषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको भविष्यमा यसलाई निरन्तरता दिइने उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिल कुशवाहाले सरकारले भौतिक रूपमा विद्यालयको पठन–पाठन मात्र बन्द गरेकोले उक्त अवधिमा वैकल्पिक शिक्षण सिकाइ प्रकृयाबाट निरन्तर विद्यार्थीहरूको सिकाइ अभिवृद्धिमा जुट्न शिक्षकहरूलाई आग्रह गरे । कार्यक्रमका प्रजिअ गौतमको अध्यक्षता, प्रउ कृष्ण प्रसाईंको विशिष्ट आतिथ्य, सुनिल कुशवाहा, मुकेश कुमार यादव, लेजोसं अनिल कुमार साह, समाजसेवी हिरानन्द महतो, किशोरी महतो, रामजी महतो, शिक्षाप्रेमी जय नारायण महतोको आतिथ्य र अभिभावक, शिक्षक, विधार्थी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News