२०७८ माघ १३, बिहीबार ०७:०२

जनकपुरधाम ।किसानको नाममा हिंसात्मक आन्दोलनमा उत्रेका जनमत पार्टी राष्ट्रिय सभाको मधेश प्रदेशको मतदानलाई बिथोल्न असफल भएको छ ।

बिहानैदेखि लाठी, भाटा सहित सडकमा उत्रेका जनमत पार्टीका नेता, कार्यकर्ताहरुले चुनाव बिथोल्न गरेको प्रयासलाई प्रहरीले असफल बनाइदिएको छ । जनमत पार्टीका प्रदर्शनकारीहरुलाई प्रहरीले मतदान स्थल जान रोकेका थिए ।तर सडकमा उनीहरुले गरेको प्रदर्शनको क्रममा सभासद, मेयर, चिकित्सक लगायतका सातवटा सरकारी सवारीमा तोडफोड गरी क्षति पु¥याए ।जनमत पार्टीका नेता, कार्यकर्ताहरुले सवारी साधन तोडफोड गर्ने क्रममा सर्लाहीबाट जनता समाजवादी पार्टी(जसपा)का सभासद अशोक कुमार यादव, सर्लाही जिल्लाकै हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल पनि घाइते भएका हुन् । नगरपालिकाको गाडीमा सवार अन्य एकजना नेतृ पनि घाइते भएकी हुन् । प्रदर्शनकारीहरुले जानकी मन्दिर नजिक सभासद यादवको गाडीमा तोडफोड गरेका थिए । रामचोकमा मेयर प्रसाईका गाडी फुटाएका थिए । एमालेमा रहेका मेयर प्रसाई सवार गाडीको सीसा फुटे पनि लाठी प्रहार रोकिएको थिएन् । सभासद यादव, मनिष सुमन र नेत्रविक्रम साह सवार गाडीमा प्रदर्शनकारीले आक्रमण गरी तोडफोड गरेका थिए । सभासद यादवमाथि गरिएको लाठी प्रहारले उनको हात भाच्चिएको छ । ‘व्यक्तिमाथि हिंसात्मक आक्रमण गर्ने कुनैपनि दलका नेता, कार्यकर्ताहरुलाई छूट छैन्’ यादवले भने, जानकी चोकमा आक्रमण गर्नु निन्दनीय रहेको छ । ‘भाग्यले ज्यान जोगियो’ मेयर प्रसाईले भने, अमानवीय तरिकाले प्रहार गरिएको थियो । उपमेयर लगायत २ महिला सहित ३ जना गाडीमा सवार थिए ।

प्रदर्शनकारीहरुले हत्या नै गर्ने गरी आक्रमण गर्न थालेपछि गाडीबाट निस्केर सटरमा लुकेको उपमेयर पौडेलले बताइन् । प्रदर्शनकारीहरुले जलेश्वर अस्पतालका प्रमुख डा. सतिशकुमार साहमाथि समेत संघातिक आक्रमण गरी घाइते बनाए ।उनी काम विशेषले बर्दिबासतर्फ गइरहेको बेला जनमतका नेता, कार्यकर्ताहरुले जीपमा लाठी प्रहार गरी तोडफोड गर्दै उनीमाथि संघातिक आक्रमण गरेका थिए । डा. साहको मुख र अनुहारमा चोट लागेको छ । त्यस अघि नै प्रहरी र प्रदर्शनकारीबीच भैरव चोकदेखि रामचोकको बीचमा भएको झडपको क्रममा ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गरेको जिप्रका धनुषाका प्रवक्ता डीएसपी दिपक राईले बताए । उनले ७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे । पक्राउ पर्नेमा ३० वर्षीय विमलेश मण्डल, २८ वर्षीय पप्पु पजिंयार, ३१ वर्षीय सुशील कुमार मण्डल, २२ वर्षीय जिवछ यादव, १८ वर्षीय अर्जून साह, ३१ वर्षीय रामविदेही पासवान, ३० वर्षीय सुगन मण्डल रहेको डीएसपी राईले बताए । प्रदर्शनकारीहरु तर्फ पनि ७ जना घाइते भएको जनमत पार्टीले जनाएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरी लाठीचार्ज गरेको आरोप प्रदर्शनकारीहरुको छ । जनमत पार्टीले सडकको आन्दोलनलाई सुनवाई नगरेपछि चुनाव बिथोल्न उत्रिएको जनाएको छ ।

मधेश प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान गर्नु पूर्व किसानलाई मल दिन माग गरेका थिए ।तर बुधवारको प्रदर्शनलाई जनमत पार्टीले शान्तिपूर्ण रहेको दावी गरेको छैन् । राष्ट्रिय सभाका मतदाताहरुलाई प्रहरीले कडा सुरक्षाबीच मतदान स्थलमा लग्ने र त्यहाँबाट फेरि फिर्ता पठाउने गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटेका थिए । जनमत पार्टीको हिंसात्मक प्रदर्शनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । लोकतान्त्रिक पद्धतिलाई नै ध्वस्त बनाउन चुनाव बिथोल्न जनमतले गरेको प्रयासलाई विभिन्न राजनीतिक दलका नेताहरुले समेत आलोचना गरेका छन् । केही दिन पूर्व एमाले निकटका युवा संघले जनमत पार्टीको समर्थनमा जुलुस गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनमत पार्टीको विरोध कार्यक्रमप्रति समर्थन जनाउँदै प्रहरीले गोली चलाएको घटनाको विरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News