प्रहरीको गोली लागेर गम्भीर घाइते भएका मधेश आन्दोलनका जिउँदो सहिदको अवस्था निकै दयनीय बनेको छ । मुलुकमा संघीयता आउनु भन्दा पहिला भएको आन्दोलनमा प्रहरीको गोलीबाट घाइते भएका रौतहट जिल्लाका राजदेवी नगरपालिका–५ पताहीका ३० बर्षीय रणवीर सिंह विगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकी घरमा मर्ने बाँच्ने दोसाँधमा पीडा भोग्दै आएका छन् ।
नेपाल सरकारले सदरमुकाम देखि मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र सार्ने गरेको निर्णयको विरुद्धमा तत्कालीन ८ दलीय गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आन्दोलनको क्रममा २०७१ साल असार महिनामा गौर नगरपालिका– ९ बरहवा पुल नजिक प्रदर्शनकारी र प्रहरी बीच झडप हुदा सिंहको पेट र हातमा ३ वटा गोली लागेको थियो । सोही आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका राजदेवी नगरपालिका–७ मुडवालबाका ४० वर्षीय विद्यानन्द यादवको उपचारको क्रममा २०७१ असोजमा मृत्यु भएको थियो । विद्यानन्द यादवलाई सरकारले शहिद घोषणा समेत गरिसकेको छ । तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल , राजेन्द्र महतो नेतृत्वको नेपाल सदभावना पार्टी , महन्थ ठाकुर नेतृत्वको , अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी लगायतका दलको गठबन्धनमा बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सेवा केन्द्र सार्ने निर्णयको विरुद्धमा २०७० साल चैत्र २० गतेदेखि अनिश्चितकालीन मधेश बन्दको घोषणा गरी विरोध प्रदर्शनका कार्यक्रमहरु गरेको थियो ।
प्रहरीको गोली २ वटा पेट भित्र छिरेको र एउटा गोली हातमा लागेको सिंहले बताए । झडपको क्रममा गोली लाग्दा अचेत भएपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको र सो उपचार जसो तसो ऋण लिएर गराएको तर अहिले सम्म कुनै नेता या दलले कुनै सहयोग नगरेको दुखेसो पोखे । उपचारको क्रममा पर्सा जिल्ला तत्कालीन फोरमको नेता प्रदिप यादवले १२ हजार रुपैया सहयोग गरेको बताउंदै अहिले पनि उपचारको थप आवश्यकता रहेको र सोको लागि आर्थिक समस्या भएको चर्चा उनले गरे । आर्थिक अभावकै कारण उपचार समेत हुन नसकेको दुखेसो उनले पोखे । मधेश प्रदेश सरकारका सभामुख सरोज यादवको पहलमा १ लाख रुपैयाँ अहिलेसम्म सहयोग मात्र पाएको उल्लेख गर्दै घरपरिवार चलाउन समस्या भइरहेको अवस्थामा उपचार कसरी गराउने भन्ने मर्नु न बाँच्नु भएको उनले गुनासो गरे । श्रीमती र २ सन्तान भएको सिंहले उपचारको अभावमा घरमा छटपटिएर मर्नु भन्दा प्रदेश सरकार को प्रदेश सभाको मुख्यद्वारमा गएर आत्मदाह गर्ने चेतावनी समेत उनले दिए । घाइते सिंहले सभामुख यादवलाई मेसेज गरेर आत्महत्या गर्ने जानकारी समेत दिएको बताए । संघीयता आए पछि निर्वाचित भएका स्थानीय सरकार , प्रदेश सांसद तथा संघीय सांसदहरुले एकपटक पनि खोजखबर नलिएको गुनासो समेत उनले गरे । आन्दोलनमा सहभागी हुनका लागि घरबाट बोलाएर लागेका नेताहरुले आज भोकै बस्नु पर्ने अवस्था आउँदा खवर लिन पनि आउन नसकेको दुखेसो पोख्दै सिंहले उपचारको लागि सहयोग गरी दिन आग्रह गरेका छन् ।
घरको मूल व्यक्ति आफू नै भएकोले अवस्था निकै दयनीय भएको पीडा सुनाउंदै आर्थिक अभावका कारण छोराहरुलाई अध्ययन गराउन नसकेको समेत बताए । मुख्यमन्त्री लालबाबु राउत नजिक ऋण लिएर धाउंदा धाउँदै थाकि सकेको पीडितका पत्नी रोमा देवी सिंहले बताए । जाँदा भेट्न पनि नचाहेको गुनासो उनले पोखिन् । कर्मचारी पनि राम्रो सित व्यवहार गर्दैन भने आन्दोलनको बलमा सत्तामा पुगेका नेताहरुले आज शहिदहरुको परिवार सन्तानलाई उपेक्षित गरिरहेको आक्रोश पोख्दै सिंहले सत्ता स्वार्थमा लागेर भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरिन् । खानलाई अन्न लगाउनलाई लुगा , बस्न लाई घर नरहेको अवस्थामा कुनै नेता पार्टीले आफ्नो परिवार लाई सहयोग नगरेको पीडित परिवारको आरोप छ । प्रदेश सरकारको जनता आवासको योजना समेत जिउँदो सहिदलाई दिन सकिएको छैन । उपचारको अभावमा घरमा कष्टपूर्ण जीवन बिताउन बाध्य भएका सिंहको परिवारलाई मधेश प्रदेश सरकारले छिट्टै सहयोग उपलव्ध गराएर उपचारको व्यवस्था गर्नुको साथै उनका नावालक छोराको शिक्षाको व्यवस्था गर्नु पर्ने आवश्यकता देखिएको छ ।
https://www.youtube.com/watch?v=O9G8Yeo_V04

