मलंगवा । विद्यार्थी र विद्यालयमा अनिवार्य रुपमा मनाइने सरस्वती पूजा नजिकिंदै गएको छ । वसन्त पञ्चमीको दिन मनाइने सरस्वती पूजालाई मध्येनजर गर्दै यति बेला कालिगढहरु सरस्वतीमाताको प्रतिमा बनाउन व्यस्त देखिन्छन् ।
विगत ४ दशकदेखि प्रतिमा बनाउने काम गर्दै आएका मलंगवा नगरपालिकाका ६२ वर्षीय मूर्तिकार रामलाल दासले कोरोना संक्रमण र लकडाउनको कारण विगत तीन वर्षयतादेखि मूर्तिको व्यवसायमा कमी आएको बताए । केही महिना अघिदेखि कोरोनाको त्रासमा कमी आएसंगै यस वर्ष मूर्तिको बिक्री हुने भए पनि सरकारले लागु गरेको विभिन्न प्रावधानको काण पूजाको आयोजन गर्नेहरु नै घटेकोले मूर्तिको बिक्री हुने नहुने प्रति चिन्ता समेत उनले व्यक्त गरे । सिजन अनुसार ठाँउ– ठाँउमा घुमेर मूर्ति बनाउँदै आएका मूर्तिकार दासले आफू किशोर उमेर देखि नै बुवासँगै सिकेर उनीसँगै मिलेर मूर्ति बनाउने काम गर्दै आएको र अहिले आफ्नो छोरा पनि यसै पेशामा रमाइरहेकोले कोरोनाको कारण बन्दाबन्दीले पेशा नै संकटमा पर्ने अवस्था सृजना भएको दुखेसो पोख्छन् । केही वर्ष अघिसम्म दर्जनौं मूर्तिकारहरु मूर्ति बनाउने काम गर्दै आएको भए पनि अहिले कोरोनाले गर्दा हुँदै आएको लकडाउनका कारण सरकारले मेला, महोत्सव र पूजाहरुमा रोक लगाए पछि मूर्ति बनाउने आदेश आउन छाडेकाले मूर्तिकारहरुको पेशा नै संकटमा पर्ने अवस्था सृजना भएको देखिएको छ । लकडाउनकै कारण थु बेरोजगार भइ पलायन समेत हुन थालेको दास बताउंछन् ।
आफूले चाँहि जेनतेन यसैलाई पेशा बनाइ परिवारको भरणपोषण गर्दै आएको बताए । विशेष गरी सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्णाष्टमीको बेला मूर्तिहरुको माग बढी हुने गरेको छ । ‘कोरोना काल सुरु हुनु पहिला ती पर्व तथा महोत्सवहरुको लागि सयौं मूर्तिहरुको माग आउँथ्यो । लागत खर्च कटाएर कमाई पनि राम्रै हुँदै आएको थियो तर अहिले भने बिक्रीको लागि तयार पारेर राखेको मूर्ति समेत बिक्न धौधौ पर्ने गरेको छ । ’ –अर्का मूर्तिकार रवी दासले बताए । कोरोना भाइरसको महामारीका कारण लगाईएको बन्दाबन्दीले हरेक क्षेत्र प्रभावित भएको अवस्थामा आफ्नो मूर्ति व्यावसाय पनि अछुतो नरहेको उनीहरू बताउँछन् । माटो, काठ तथा परालको प्रयोगबाट बनाइने मूर्ति राम्रोसँग घाम लागेको अवस्थामा पूर्ण रुपमा सुक्न र निर्माण सम्पन्न हुनका लागि ७ देखि १० दिनसम्म लाग्ने गर्दछ । मूर्तिको आकार प्रकार अनुसार एउटा मूर्ति न्यूनतम २५ सय देखि अधिकतम् ४ हजार रुपैया भारु सम्ममा बिक्री हुने गरेको मूर्तिकारहरु बताउँछन् । समय परिस्थिति र मूर्ति बनाउने काम प्रति नयाँ पुस्ताको घट्दै गएको रुचिका कारण पुख्र्यौली पेशा लोप हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले उनीहरुको सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।

