अपडेट 
२०७८ माघ १६, आईतवार ०८:२०

बाला खुद्दार

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्ममा भएका आन्दोलनहरुलाई सफलता सम्म पु¥याउन हजारौले ज्यानका आहुति दिएको इतिहास साक्षी छ ।ती वीर योद्धाहरुको सम्झनामा माघ १६गते नेपालमा शहीद दिवस मनाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ मा मृत्युदण्ड दिइएको थियो । यिनै चार शहीदको सम्मानमा २०१२ देखि शहीद दिवस मनाउने क्रम शुरु भयो । त्यसपछि राजा र राजतन्त्रविरुद्ध पनि विभिन्न आन्दोलन भयो । यस क्रममा पनि कैयौँले शहादत प्राप्त गरे । तत्कालीन राजा महेन्द्रले प्रत्यक्ष शासन लादेपछि २०१८ मा जनकपुरमा उनलाई दुर्गानन्द झाले बम प्रहार गरे । बम प्रहारको अभियोगामा झालाई २०२० मा फाँसी दिइयो । मृत्युदण्डको ५२ वर्षपछि अर्थात २०७२ सालमा तत्कालीन सरकारले झालाई शहीद घोषणा गरे । वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा अपदस्थ गरे र प्रत्यक्ष शासन थाले । राजाको कदम विरुद्ध कांग्रेसले सशस्त्र संघर्षको थालनी गरे । बिहारको सीमावर्ती सहरमा कांग्रेसको सशस्त्र शिविर स्थापना भयो । राजा महेन्द्रले २०१८ माघ ९ मा जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । विद्यार्थी जीवनमा रहेका दुर्गानन्द झा त्यही मौकामा महेन्द्रविरुद्ध रिस पोख्ने योजनामा थिए । झाले राजामाथि बम प्रहार गरेको ग्रिनेड बम पड्किएन र राजा जोगिए । घटनाको दुइ वर्षपछि झालाई अदालती आदेशअनुसार फाँसीको सजाय भयो । राजा सिध्याएर गणतन्त्र स्थापना गर्ने सपना बोकेका झाले २२ वर्षको उमेरमै संसार छाड्नु प¥यो । १९९७ मा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणाले अदालतको सहारामा मृत्यु दण्ड दिए जस्तै २०२० पुस १० मा गराइएको अदालती आदेश अनुसार २०२० माघ १५ गते झालाई फाँसीको सजाय भयो ।

राज्यले मुलुकी ऐन संशोधन गरेर पहिलो पटक ब्राह्मण समुदायका झालाई मृत्युदण्ड दिएको थियो । ब्राह्मण भएकै कारण त्यसअघि रामहरि शर्मा र टंकप्रसाद आचार्य मृत्युदण्डबाट जोगिएका थिए । १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथले मृत्युदण्डको सजाय पाउँदा झा जन्मेकै थिएनन् । उनी १९९९ वैशाख १४ मा धनुषा जिल्लाको भारतसँग जोडिएको सीमावर्ती जटही गाउँमा जन्मेका थिए । देवनारायण झा र श्रीमती सुकुमारीदेवीका उनी एक्ला सन्तान थिए । जटहीबाट करिब तीन किलोमिटर दक्षिणतर्फ भारतको उमगावँको दीनदयाल माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी राजनीतिमा होमिएका थिए । २०१५ को पहिलो आमनिर्वाचनका बेला पनि उनी प्रचारक भएर खटिएका थिए । झाका गाउँले सांसद स्मृतिनारायण चौधरीको मानसपटलमा २०१८ माघ ९ को त्यो बमकाण्ड अहिले पनि ताजै छ । बम हान्ने तत्कालीन योजनाबारे उनले सुनाए, ‘बम हान्ने योजनाबारे छलफल हुँदा सुरुमा दुर्गानन्दले बम हान्न मै जान्छु भनेका थिए । पछि अरविन्द ठाकुर पनि तयार भए । त्यो बेला कांग्रेसमा विवाद थियो । दुर्गानन्द र अरविन्द बेग्ला–बेग्लै बाटो प्रयोग गरेर गए । दुर्गानन्दले सुरक्षाकर्मीलाई छल्दै जानकी मन्दिर पुगेर बम प्रहार गरे ।’ राजा महेन्द्र जनकपुर विमान स्थलमा अवतरण गरेका थिए । राजा ओर्लिनुअघि नै बमसहित अरविन्दकुमार ठाकुर पक्राउ परेका थिए । कडा सुरक्षासहित महेन्द्र जानकी मन्दिर पुगे । जानकी चोकमा गाडी रोक्ने बित्तिकै दुर्गानन्दले बम प्रहार गरेका थिए । तर, बम पड् िकएन । दुर्गानन्दले कमजोर बम बोकेको सांसद चौधरी सम्झिन्छन् । त्यो ग्रिनेड भारतबाटै ल्याइएको थियो । ‘ग्रिनेड पड्किएको भए राजा बाँच्ने थिएनन्, तर बमले राजाको गाडीको पछाडिको सिसा मात्रै फुट् यो, राजालाई केही भएन,’ उनले बताए । त्यसबेला सशस्त्र आन्दोलनको इन्चार्ज वीरगञ्जका तेजबहादुर अमात्य थिए । अमात्यसहित बसहियाका महाबीर शर्मा र निर्गुण यादव रक्सौलमा बस्थे । स्मृतिनारायणका अनुसार बम दुर्गानन्द झा र अरविन्द ठाकुरले भारतबाट आफैँ बोकेर ल्याएका थिए । तर, एकजना आएको बाटोमा अर्को नआउने उनीहरूको सर्त थियो ।

सर्त पनि पूरा भयो । हेमचन्द्र चौधरी, उदयचन्द्र चौधरी जनकपुर स्थित मौनीबाबाको कुटीमा बस्थे । चौधरीको स्मरण अनुसार बम हानेर दुर्गानन्द त्यहीँ बसे । घटनाको भोलिपल्ट अर्थात् माघ १० गते बिहान शौच (शौचालय) जाने भनेर पानी भरिएको लोटा लिएर उनी निस्किए । भागेर भारतीय बजार उमगाउँ पुगे । प्रहरीले सुइँको पाएन । चौधरीले अगाडि बेलिविस्तार लगाए, ‘दुर्गानन्द भारत गएपछि पटना, जयनगरसहित ठाउँ–ठाउँमा सक्रिय भए । त्यसबेला उनको क्रेज थियो । राजालाई बम हान्ने मानिस भनेर सबैले उनको चर्चा गर्थे । तर, जयनगर क्याम्पमा केही कांग्रेसका नेताले दुर्गानन्दलाई हेपे । कांग्रेसीहरुको त्यो व्यवहार दुर्गानन्दलाई मन परेन् । दुर्गानन्दले विरक्तिएर निर्णय लिए, यो अपमान सहनुभन्दा आफ्नै देश जान्छु । त्यहाँ जे हुन्छ, हुन्छ ।’ कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठलाई जेलमै दुर्गानन्द झाले भनेका थिए रे! राजालाई बम हानेर भारत पुगेका उनलाई साथीभाइले नै अपमानित गर्न खोजे । श्यामलालले कांग्रेस निकट तरुण पत्रिकामा दुर्गानन्दलाई उल्लेख गर्दै भनेका छन्, ‘नेताहरूबाट मैले फरक व्यवहार पाएँ । मलाई लाग्यो, यसरी आत्मसम्मानमा चोट पुग्ने काम म बाट हुनुहुँदैन, म गर्दिन् पनि । म किन भारतमा बसिरहने ? बरु नेपालमै फर्केर फाँसीमा चढ्छु नि ! आफ्नै देशको माटोमा मर्छु, तर मेरो स्वाभिमानमा आँच आउन दिन्न भनेर म आफ्नै धर्तीमा फर्केर आएँ ।’ श्यामलालले त दुर्गानन्दलाई फर्किन बाध्य पारिएको विषयमा अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यता, उनलाई नेपालमा प्रहरीले खोजिरहेको थियो । जयनगरबाट रेल चढेर जनकपुर आइपुग्दा– नपुग्दै झा प्रहरीको घेरामा परे । पक्राउ परे । तत्कालीन एसपी मानबहादुर राईको टोलीले त्यहाँबाट उनलाई सेनाको प्रकौली ब्यारेक (महोत्तरी) लगे । श्यामलालले झा पक्राउ घटनाबारे थप भने, ‘ प्रकौलीमा हाम्रै गाउँका दुईजना व्यक्ति कमलाकान्त चौधरी र शशिधर चौधरी पनि थिए । दुर्गानन्दलाई देखेर उनीहरूले भने, तपाई कहाँ ? उहाँले भन्नुभयो, तपाईहरू जहाँ हुनुहुन्छ, म पनि त्यहीँ । भोलिपल्ट उहाँलाई हेलिकोप्टरमा हालेर काठमाण्डु लगियो र केन्द्रीय कारागार चलान गरियो ।’

दुर्गानन्द झा र अरविन्द ठाकुरले भारतबाट बम बोकेर ल्याएका थिए । तर, एकजना आएको बाटोमा अर्को नआउने उनीहरूको सर्त थियो । सर्त पूरा भयो । झाले सुरक्षाकर्मीलाई छल्दै जानकी मन्दिर पुगेर राजा महेन्द्रमाथि बम प्रहार गर्न सफल भएका थिए । फाँसी दिइनुभन्दा दुई–चार दिनअघि जटही गाउँमा प्रहरीको एउटा टोली पुग्यो । आमा र श्रीमतीलाई भेटेर प्रहरीले भने, एकपटक दुर्गानन्दजीलाई भेट्न जानुस् । पञ्चायत थियो । मानिसहरू द्विविधामा थिए । कसैले जान भन्थे, कोही नजान भन्थे । तर, आमा र श्रीमती जाने नै निष्कर्षमा पुगे । जटही, भिट्टामोड हुँदै उनीहरू काठमाडौं पुगे । स्थानीय महिकान्त चौधरीले झाकी आमा र श्रीमतीलाई लिएर काठमाण्डु गए । झा परिवार त्रिपुरेश्वरमा बस्यो । २०२० माघ १४ गते राती चार– पाँचजना महिला प्रहरी आएर घेराबन्दी गरे । एउटा कागजमा बलजफ्ती औँठाछाप लगाइदिए । कुरा के हो उनीहरूलाई थाहा थिएन । अन्जानमै छाप लगाए । प्रहरीले त्यसपछि भने, दुर्गानन्दलाई भेट्छांै ? परिवार त भेट्नै गएका थिए । जेलमा दुर्गानन्दलाई भेट्नासाथ आमा र श्रीमती रुन थाले । दुर्गानन्दले भने, ‘नरोऊ, गणतन्त्र अब आउँछ–आउँछ । तिमीहरू गाउँ जाऊ ।’ एक÷दुई दिन बसेर आमा र श्रीमती फर्किए । २०२० साल माघ १५ गते दुर्गानन्दलाई फाँसी दिइयो । दुर्गानन्द झाबारे जानकार पत्रकार राजेश्वर नेपालीका अनुसार बमकाण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेको आयोग गठन गरियो । आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव थियो । तर, त्यो बेलाको कानूनमा ब्राह्मणलाई मृत्युदण्ड दिन पाइँदैनथ्यो । आयोगविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन दिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा अपिलकर्तालाई झिकाउने आदेश गरे । फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । राजा महेन्द्रले २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था गरे । यसको अर्थ थियो, अब ब्राह्मणलाई पनि फाँसीको सजाय हुनेछ ।

अन्ततः झामाथि फाँसीको सजाय भयो । त्यतिबेला उनकी श्रीमती काशीदेवी झाको गर्भबाट मृत बच्चा जन्मियो । दुर्गानन्द झालाई फाँसीको सजाय हुँदा विवाह भएको १० महिना पनि बितेको थिएन । काशीदेवी झा हाल मधेशवादी दलमा आवद्ध छिन् । दुर्गानन्दकी आमाको २०६० मा मृत्यु भइसक्यो । छोरोको मृत्युमा वर्षौंसम्म विक्षिप्त उनले छोरालाई शहीद घोषणा गरेको देख्न पाइनन् । दुर्गानन्दको स्मृतिमा धनुषा कांग्रेसका तत्कालीन सभापति स्मृतिनारायण चौधरीले जटही गाउँमा उनको शालिकसहितको प्रवेशद्वार निर्माण गराए । ३ असार २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले द्वारको उद्घाटन गरेका थिए । तत्कालीन एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले झापा आन्दोलनमा मारिएका नेतासँगै दुर्गानन्दलाई पनि शहीद घोषणा ग¥यो । त्यसअघि कांग्रेस नेतृत्वको सरकारले उनलाई सम्झेको थिएन । कांग्रेसले हरेक वर्ष धनुषामा दुर्गानन्द स्मृति कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि जटहीमा श्रद्धाञ्जली कार्यक्रम भयो । दुर्गानन्द स्मृति प्रवेशद्वारमा दीप प्रज्जवलन गरेर कांग्रेसजनले दुर्गानन्द झालाई सम्झे । कांग्रेसका जनकपुर नगर सभापति मनोजकुमार साहका अनुसार दुर्गानन्दकी श्रीमती काशीदेवी झालाई कांग्रेसले समानुपातिक सूचीमा राखेर सांसद बनाउन खोजेको थियो । तर, कांग्रेस छाडेर उनी मधेशवादी दलमा प्रवेश गरेकी थिईन । मनोज भन्छन्, ‘देशको प्रथम राष्ट्रपति यहाँकै हुनुभयो, कारण यहिंका दुर्गानन्द झाको योगदान हो । दुर्गानन्दजीकै समयमा गणतन्त्रका लागि खटिएका डा.लक्ष्मीनारायण झालाई ५० वर्षदेखि सरकारले अझै बेपत्ता बनाएको छ । उहाँको पनि खोजी हुनु जरुरी छ ।’

Comment


Related News

Latest News

Trending News