जनकपुरधाम । विगत तीन महिनादेखि तालाबन्दीको कारण ठप्प रहेको धनुषाको कमला नगरपालिका कार्यालयको कामकाज सुचारु हुने भएको छ ।
उपभोक्ता समितिहरुले काम गरेको वापत रकम नदिएको भन्दै तालाबन्दी गरिएकोमा उपमेयर शीलादेवी मान तथा वडाध्यक्षहरुको रोहबरमा तालाबन्दी आइतबारदेखि खुले पछि कामकाज सुचारु भएको हो । स्थानीय नागरिकहरुले चरम आलोचना गरे पछि उपभोक्ता समितिका पदाधिकारीहरुले नै तालाबन्दी खोलेको उपमेयर मानले बताइन् । उनले काम विशेषले बाहिर रहेको बेला तालाबन्दी गरेका व्यक्तिहरुले नै फोन गरेर ताल्चा फुटाउन लागेको जानकारी दिएपछि आफू लगायत वडाअध्यक्षहरुको रोहबरमा तालाबन्दी खुलाइएको उनले प्रष्ट पारिन् । लामो समयदेखि तालाबन्दीको कारण शिक्षा ,स्वास्थ्य लगायतको सम्पूर्ण कामकाज ठप्प भएको थियो । नगरपालिकाको कार्यालयमा तालाबन्दी भए पनि वार्ड कार्यालयहरु सुचारु नै रहेकोले नपाबाट उपलब्ध गराइने कागजपत्र समेत सकिए पछि स्थानीयवासीहरुले जन्मदर्ता,मृत्युदर्ता लगायतका सिफारिसको कामकाज प्रभावित बनेपछि वडाअध्यक्ष तथा उपमेयर मानको अग्रसरतामा तालाबन्दी खुलाइएको वाड नम्बर २ का वडाअध्यक्ष धनेश्वर यादवले बताए ।
विगत तीन महिना पहिला जेष्ठ नागरिकहरुले भत्ता दिन नपाले ढिलाइ गरेको भन्दै तालाबन्दी गरेका थिए । उनीहरुको समस्या समाधान भएपछि उपभोक्ता समितिहरुले काम गरेको लामो समय भइसक्दा पनि भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए । सो पछि नपाको सम्पूर्ण कामकाज ठप्प बनेको थियो ।

