जनकपुरधाम । सीतारामको विवाहसँग सम्बन्धित मैथिली पुस्तक ‘‘पुनि पुनि होत विवाह’को लोकार्पण गरिएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले पत्रकार सुजीतकुमार झाको ‘पुनि पुनि होत विवाह’ पुस्तक विमोचन गरेका छन् । ‘पुनि पुनि होत विवाह’ पुस्तकमा मिथिलामा रामजानकी विवाह उत्सव र सीताको रामायणसँगको प्रसंगलाई उजागर गरिएको छ । त्रेता युगमा भएको भगवान् राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष मिथिलाको राजधानी एवं वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तक मार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो । पुस्तकमा लेखक झाले रामजानकी विवाह महोत्सवको पौराणिक संस्कृति, महत्व र आजको आवश्यकता सहितका विषयवस्तुलाई प्रस्तुत गरेका हुन् । लेखक झाले यस पुस्तकमा रामजानकी विवाह महोत्सवमा किन हजारौं तीर्थयात्री वैवाहिक जनकपुरधाम आउँछन्, धार्मिक उत्सव कस्तो हुन्छ, यसको महत्व र पौराणिक परम्परासहितको जिज्ञासाको समाधान पुस्तकमा पाउन सकिने बताए । लेखक झाको पुस्तक ‘पुनि पुनि होत विवाह’लाई विद्यापति पुरस्कार कोषले ०७७ सालमा मैथिली अनुसन्धान पुरस्कार समेत दिएको छ । झाको दशौं कृतिको रुपमा यस पुस्तकको प्रकाशन भएको छ । मधेश प्रदेशका पर्यटन मन्त्रालयले उक्त पुस्तक प्रकाशित गरेको हो ।

