मलंगवा । मोटरसाईकल चोरी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–५का २९ वर्षीय सुर्यदीप चौधरी, १९ वर्षीय रुपेस माँझी मुसहर र वडा नम्बर १५ का २९ वर्षीय सोमबहादुर रेग्मीलाई मेजरगञ्जबाट फक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्नहरुलाई सोमबार अबेर साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मध्यरात लालबन्दी–५ का ज्ञानबहादुर क्षेत्रीको घरमा राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १ सय २५ सिसीको होण्डा साईन मोटरसाइकल चोरी भएको थियो । ३ जना मध्येका वडा नम्बर १५ सतभैयाका सोमबहादुर रेग्मीले भने अन्य २ ले चोरी गरी ल्याएको मोटरसाईकल खरिद गरेको बुझिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने रेग्मीलाई आफ्नै मोटरसाईकल हो, अहिले पैसाको खाँचो परेकाले बेच्न लागेको भन्दै पक्राउ परेका २ जनाले सस्तोमा मोटरसाईकल बेचेका थिए । केही समयपछि पास गरिदिन्छु भनेपछि सस्तोमै मोटरसाइकल भेटियो भन्दै किनेका रेग्मीलाई पनि प्रहरीले चोरीमै संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर निर्मल थापाका अनुसार सस्तोमा मोटरसाइकल पाईयो भन्दै लोभमा परी चोरीको मोटरसाइकल किन्नेलाई पनि कानूनले चोरीमा संलग्न भएको मान्ने भएकाले पक्राउ गरिएको बताए । यता सोमबहादुर रेग्मी पक्राउ परेपछि लालबन्दी नगरका कर्मचारीहरुले विरोध गर्दै आएको थियो । पक्राउ परेकाहरुलाई इप्रका लालबन्दीमा राखेर थप अनुसन्धान जारी रहेको छ ।


