२०७८ माघ २०, बिहीबार ०७:४२

सर्लाही जिल्लामा लागुऔषधको कारोवार तथा सेवनकर्ताको संख्या बढ्दै गएको छ ।

प्रहरीले २०७८ साल साउन मसान्तदेखि हालसम्म ३६ जना लागुऔषध कारोवारीलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ गरिएका २८ जनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका ३६ जना लागुऔषध कारोवारीहरुबाट नोर्फिन एम्पुल– १२,फेनारगन एम्पुल–१३,नाइट्राभेट ट्याबलेट– ८ सय ७ सय ९१,स्पास्मो प्रोक्साभिन ट्याबलेट– १९,गाँजा–४८ केजी ४सय ग्राम,पेइभोन स्पास प्लस– ५६ ट्याबलेट,डाइजाल्याब २ एमएलको १२ एम्पुल,वाइनसिरेक्स १०० एमएल को १ सय ४४ बोतल,कफलिंटस १०० एमएल को २२ बोतल ,कोडिवेल १०० एमएल को १ सय ९३ बोतल ,डाइलेक्स डिसी १०० एमएल को ११ बोतल ,सुपलकफ १०० एमएल को २० बोतल बरामद गरिएको जिप्रका सर्लाहीले जनाएको छ । कुलतमा फँसेकाहरुको बढ्दो संख्या तथा नेपाल–भारत खुला सीमाका कारण पछिल्लो समय सर्लाही जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोवारीहरुको संख्या बढेर गएको हो । सबैभन्दा बढी युवाहरु कुलतमा फँसेको पाइएको छ । लागुऔषधको कारोवारमा संलग्न युवाहरु दैनिक जसो पक्राउ पर्दै आएका छन् । खुला सीमानाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्रिने गरेको जानकारहरुको भनाइ छ ।

लागुऔषधको बढ्दो कारोवार र प्रयोगले पक्राउ पर्ने संख्या पनि बढ्दो छ । प्रहरीले करिब सात महिनाको अवधिमा यहाँ ३६ जना कारोवारी र प्रयोगकर्तालाई पक्राउ गरी २८ जनामाथि मुद्दा चलाएको छ । धेरैजसो प्रयोगकर्ताहरुले नै लागुऔषधको बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सीमानाका कारण यसको न्यूनीकरण ठूलो चुनौती बनेको छ । खुला सीमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गाँजा र चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आयात हुने गरेको छ । भारतीय कारोवारीले लागुऔषध सीमावर्ती क्षेत्र नजिक ल्याइदिने र त्यहाँबाट यहाँका प्रयोगकर्ता र कारोवारीले ल्याउने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको हो । मलंगवा नजिकै पर्ने भारतको सीमावर्ती सोनवर्षा, कन्हौली लगायतका बजारमा संचालित औषधि पसलमा नेपालबाट गएका लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरुको भीड नै लाग्ने गरेको प्रत्यक्षदर्शीहरुले बताए । लागुऔषधको कारोवार तथा सेवनकर्ताहरुका कारण पछिल्लो समय जिल्लामा चोरी लगायतको अपराधिक क्रियाकलापमा वृद्धि भएको प्रहरी अधिकारीहरुले बताए । दैनिकजसो मोटरसाइकलहरु चोरी हुने गरेको छ । मोटरसाइकल चोरीको घटनामा पक्राउ पर्नेहरु अधिकांश लागुऔषध दुव्र्यसनी नै रहने गरेको प्रहरीले बताएको छ ।

Comment


Related News

Latest News

Trending News